४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

हेटौंडामा गुन्जियो नेपथ्य

हेटौंडामा गुन्जियो नेपथ्य
अ+ अ-

हेटौंडा । बिराटनगर र वीरगन्जमा भब्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकहरुबाट उत्तिकै न्यानो स्वागत पाएको छ ।

यो तेश्रो कन्सर्टमा भने ब्याण्डले उसको ‘मेन्यू’मा केहि तलमाथि गरेको थियो । अघिल्ला दुवै आयोजनामा ‘भेँडाको ऊनजस्तो’बाट सुरुगरेको कन्सर्टभन्दा बेग्लै यसपाला अलिक सुस्त गतिको गीतबाट आफुलाई प्रस्तुत ग¥यो । हेटौंडामा गाइएको प्रारम्भिक गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो ।

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपी राखनू’

स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।

ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाइरहँदा पूर्णिमाको जूनले हेटौंडाको मनकामना डाँडाबाट आफूलाई बिस्तारै मास्तिर उकाल्दै लगेको मनोरम दृश्य देखिन्थ्यो ।

ब्याण्डका गायक तथा अगुवा अमृत गुरुङको नजर पनि आकाशतिरै परेछ ।

‘यो जुनेली रातलाई अझ रमाइलो बनाउनका निम्ति म तपाइँहरुलाई लमजुङ तर्फ लैजान चाहन्छु,’ उनले थपे, ‘म रोदीघर तिर तपाइँहरुलाई डुलाउन चाहन्छु ।’

त्यसपछि उनले सुरुगरेः
‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो । ‘म धेरैपटक हेटौंडा आएको छु,’ अमृतले दर्शकहरुलाई सोधे, ‘के तपाइहरु पोखरा जानुभएको छ ? त्यसभन्दा अलिक पर जोमसोम जानुभएको छ रु धौलागिरि जानुभएको छ ?’

दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरुलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरु कुनै छैन,’ सरकारी विद्यालयहरुकै निम्ति यसअघि चारपटक हेटौंडामा आफूलाई प्रस्तुत गरिसकेका उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्न आजैबाट सुरु गर्नुस् ।’

गुरुङ र उनको टोलीले अघिल्लो दिन बुधबार मात्रै ‘मानव सेवा आश्रम’को हेटौंडास्थित मुख्यालय भ्रमण गरेका थिए । त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए ।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा हेटौंडाको भुटनदेवी स्कुल मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘भर्खरै चुनाव सकिएको छ । घर–घर विभाजित भएको छ । तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ । हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ । हामीले गाउँ गाउँमा अस्पताल पु¥याउनका निम्ति जोडिनै पर्छ ।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

‘हेटौंडामा नेपथ्यलाई सबैभन्दा बढी मनपराउने मानिस बस्छौं,’ भिडकै बीच नृत्य गरिरहेका तन्नेरी आकाश अधिकारी भनिरहेका थिए, ‘ब्याण्डको एकल कार्यक्रम पहिलोपटक खुला आकाशमुनी यसरी भएकोमा पहिलेभन्दा झनै रमाइलो लागिरहेको छ ।’

दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कन्सर्ट हेर्न आएका साना नानीहरुलाई भने हेटौंडामा मञ्चको ठीक अगाडि सुरक्षित तवरले रमाउन सक्नेगरि बन्दोबस्त मिलाइएको थियो ।

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले हेटौंडामा लगातार तेश्रो सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘यो सहरबाटै बलेको मानवताको उज्यालो मुलुकभर फैलिँदै गएको छ,’ उनले भने, ‘त्यसैलाई थप अघि बढाउनका निम्ति आयोजित यो कन्सर्टमा सघाउने सबै सहयोगीलाई धन्यवाद दिन चाहन्छु ।’

मानव सेवा आश्रमसँग युवा पुस्तालाई जोड्न भरमग्दुर प्रयास चलिरहेको बेला यो कन्सर्टले त्यो उद्देश्यमा सघाउ पु¥याउने विश्वास पनि उनले प्रकट गरे ।

हेटौंडाको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् नारायणघाटतर्फ प्रस्थान गर्दैछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘क्याम्पा चौर’मा नेपथ्य मंसिर २५ गते आइतबार प्रस्तुत हुँदैछ ।