४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी

विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी
अ+ अ-

नेपालगञ्ज । दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन् । सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले स्थानीय परम्परागत मान्यता र विश्वासका आधारमा जीविकोपार्जन गरिरहेका छन् । कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका उनीहरूको आम्दानीको कुनै दरिलो स्रोत छैन ।

खरले निर्माण भएका फुसका घर र बालबालिका धुलाम्मे भएर खेलिरहेको दृश्यले यो स्थानमा सरकार भएको वा नभएको कुनै अनूभुति हुँदैन । स्थानीय सरकार विगतको तुलनामा अहिले विकासले गति लिएको जिकिर गरिरहेको छ ।

नरैनापुर–५ मटहैयाका विनय दीक्षितले अहिले नरैनापुर आउन भारतीय सडकको प्रयोग गर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै साक्षरताको अभावले यहाँको विकासले गति लिन नसकेको जानकारी दिनुभयो ।

स्थानीय सरकार निर्माण भए पनि प्रभावकारीरूपमा काम गर्न नसेकेको गुनासो गर्दै उहाँले अनुत्पादक ठाउँमा स्थानीय सरकारले बजेट खर्च गरेको आरोप लगाउनुभयो । दीक्षितले भन्नुभयो, “धार्मिकस्थलमा बढी बजेट खर्च भएको छ, त्यसले परिणाम दिएको छैन ।” नगदे बालीका रूपमा उखुखेती र फलफूल खेती गरेर पनि स्थानीयवासीले आम्दानीको स्रोत बढाउन सक्ने बताइएको छ ।

उहाँले औद्योगिक ग्राम निर्माण गर्ने ठाउँमा रङ्गशाला निर्माण भएको जानकारी दिँदै लगानीअनुसारको प्रतिफल पाउन नसकेको र कृषिमा भएको लगानी खेर गएको बताउनुभयो । सिँचाइको अभाव हटाउन स्थानीय नहरलाई प्रयोगमा ल्याउन सकिने र त्यसबाट उत्पादनमा वृद्धि गर्न सकिने बताइन्छ । विद्युतीकरण भएपछि मोटर चलाएर गहुँलगायतका खेतीमा सिँचाइ गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पाँच वर्षअघिको गाउँपालिका र अहिलेको गाउँपालिकामा भिन्नता आएको उल्लेख गर्दै सडक पूर्वाधारको विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युतीकरण भएको थिएन, त्यसको व्यवस्थापन गरिएको छ र शिक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।”

अध्यक्ष साहले बालबालिकाको सङ्ख्या बढ्दै गएकाले विद्यालय वा मदरसामा बसेर पढ्ने स्थानको अभाव भएको उल्लेख गर्दै सरकारसँग शिक्षाको विषेश प्याकेज माग गरेको बताउनुभयो । सो गाउँपालिकामा मदरसासहित ४४ विद्यालय छन् ।

अहिले पनि यहाँको आधारभूत आवश्यकताका लागि भारतीय बजारमा निर्भरता रहेको र कृषिमा समेत परनिर्भरता नघटेको बताइएको छ । स्थानीयको आम्दानी स्रोत बढाउन पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष साहले उद्योग स्थापनाका लागि पनि छलफल भइरहेको बताउनुभयो ।

उहाँले नरैनापुरलाई अगैया बजारसँग जोडेपछि गाउँपालिकाको विकास तीव्र हुने जनाउँदै शिक्षा, स्वास्थ्य र सडक निर्माणपछि नरैनापुरका स्थानीय विकासको लयमा फर्कने विश्वास रहेको उल्लेख गर्नुभयो । नरैनापुर–६ कुदरवेटवाका त्रिभुवनप्रसाद यादवले नरैनापुरको विकास सुस्तगतिमा भइरहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यमा पहुँच बढेको बताउनुभयो ।

तराईमा भएका स्थानीयवासीको अर्थावस्था कमजोर भएकाले खरले छाएका फुसका घर रहेको औँल्याउँदै उहाँले सरकारले पनि फुसका घर हटाउने नीतिअनुसार ती घरलाई विस्थापन गरेर टिनले छाएको घर निर्माणमा जोड दिएको बताउनुभयो । यादव भन्नुहुन्छ, “अब सहरी विकासको योजना अघि सारेर मात्रै सहरीकरणलाई बढवा दिन सकिन्छ ।”

यस गाउँपालिकामा मुस्लिम समुदायको बाहुल्यता छ । नेपालगञ्ज बजारबाट करिब ४६ किलोमिटर पूर्व दक्षिणमा पर्ने गाउँपालिका साविकका छ गाविस मिलेर गाउँपालिका भएको थियो । नरैनापुरको उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ बाँकेको डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना पर्छ । रासस