४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

किराँत समुदायहरूले महान पर्व चासोक तङ्नाम

किराँत समुदायहरूले महान पर्व चासोक तङ्नाम
अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—५ मामाङ्खेका सुने लिम्बू निकै व्यस्तता बढेको छ ।

उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुनुहुन्छ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई देवतालाई चडाउनमा लिम्बूको व्यस्तता बढेको हो । किराँत समुदायले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूल देवतालाई चडाउने परम्पार रहिआएको छ ।

किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णीमा अगाडि नै घर भित्र्याइसकेको हुन्छ । फक्ताल्ङग गाउँपालिका—६ का नेत्रप्रसाद लिम्बूले गत साता खेतबारीमा लगाएको अन्नबाली घर भित्र्ययाई सक्नुभयो । खेतबारीमा पाकेको अन्न बाली घर भित्र्याउन एक महिना लाग्यो ।

कूल देवतालाई न्वागी चडाउनको लागि भने मङ्सिरको पहिलो सातामा सब्रेका (ठूला—ठूला कोदो बाला) टिपेर चोखो परी जाँड बनाउनुभयो । उहाँले आज बिजुवा(पुजारी) घर बोलाएर कूल देवतालाई चडाउने तयारीमा हुनुहुन्छ । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चडाउनलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । नेत्रप्रसाद लिम्बू एक प्रतिनिधि मात्र हो । किराँत समुदायका प्रत्येक घरमा एक वर्ष पहिलो पाकेको अन्नलाई कुल देवतालाई चडाएर मात्र आफ्लाई अन्नको उपभोग गर्दै आएको मेरिङदेन गाउँपालिका—४ का विमना लिम्बूले बताउनुभयो । मङ्सिर पूर्णीमाको दिनदेखि पहिलो पाकेको बालीको विभिन्न परिकार बनाएर कूल देवतालाई चडाउने परम्परालाई चासेका तङ्नामको रूपमा लिएको फक्ताङलुङ गाउँपालिका—६ का सन्तकुमार लिम्बूले बताउनुभयो ।

पर्वहरू सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तनअनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन रहिआएको छ । लिम्बू समुदाय बसोबास गर्ने पूर्वी क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोबास गर्ने लिम्बू जातिले सामूहिक रूपमा चाडपर्व मान्दै आएका छन् । लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले रहेका एक जाति हो । विभिन्न पेसा र जीवनशैली अपनाए तापनि कृषिमा आधारित जीवनशैली अपनाउने लिम्बू जाति प्राकृतिक पूज्दै गएका छन् ।

लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको किराँत धर्मगुरु ज्ञानु फुरुम्बो (चरपे) बताउनुहुन्छ ।

के हो त चासोक तङ्नाम ?

लिम्बू समुदायले महान चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उद्यौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व(चाड) हो । मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ ।

किराँत याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तक अनुसार कृषियुग सुरु हुनुअघि लिम्बूहरूका आदिम पूर्खा (सावा येत्हाङ)ले कन्दमूल काँचै खाएर जीवनयापन गर्नुहुन्थ्यो । उहाँहरू कुपोषण र अनेक रोगब्याधीको सिकार बन्न पुग्नुभयो । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङ (कुल देवता)सँग प्राथना गर्नुयो ।

यही प्राथनाले गर्दा नै उहाँहरूले पेना/माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैँया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराई दिनुभयो । यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर (घोरीया) बीउबिजन रोपी छरी अन्न फलाउन सुरु गर्नुभयो । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू९देवीदेवता०लाई चडाउने प्रचलन बसाले ।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथनअनुसार माङ ९देवता०हरूलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको मामाङ्खेका लिम्बू समुदायका पुजारी सुने लिम्बूको भनाइ छ । आफूले लगाएको बालीनाली पाकेपछि कूल देवतालाई चढाएपछि खाने र रमाउने चाडको रूपमा चासोक तङ्नाम पर्वलाई लिने गरेका लिम्बूले बताउनुभयो ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने ९बहिरा बनाउने० जस्ता भयवह रोगव्याधीले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको पुजारी लिम्बूले बताउनुभयो । पहाडी क्षेत्रको बारीभरि पैंयू फुलेको छ । पैँयू फुलेको समयलाई किराँत लिम्बूहरूले उद्यौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रूपमा मान्छन् ।

उद्यौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खासगरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । यही समयमा हिमाली भागमा हिँउपर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिन्छ । यसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिन्छ, जसलाई उभौली भन्ने परम्परा रहिआएको लिम्बू समुदायका विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका प्रा अमर तुम्याङहाङको भनाइ छ । देवीदेवताको आर्शीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरेको तुम्याङहाङले बताउनुभयो ।

सामूहिक रूपमा मनाइन्छ चासोक तङनाम

पहिला घरघरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिक रूपमा यसलाई महान उत्सवको रूपमा मान्न थालेको छ । यो पर्वमा खुसियाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएको आफन्तजन तथा साथीभाइसँगको भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ रहेको छ । चासोक तङनामको अवसरमा ताप्लेजङका किराँत याक्थुङ चुम्लुङको आयोजनामा शुभकामना आदानप्रदान तथा मौलिक गीतसङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच गरी मनाउँदै गरेको लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङचुल जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष इन्दियार मेन्याङबोले बताउनुभयो ।

उद्यौली पूजालाई किराँत समुदायको मुख्य पर्वको रूपमा मान्दै आइरहेका छन् । लिम्बू, राई, याक्खा र सुनवार गरी किराँती चार वंश रहेको मान्याङवोको भनाइ रहेको छ । मेन्याङबोका अनुसार किराँतहरूको महान चाड तथा राष्ट्रिय पर्व लिम्बूहरूले उद्यौलीलाई चासोक तङ्नामको रूपमा मान्छन् भने अन्य किराँत वंशका शाखामध्ये राईले उद्यौली साकेला, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदरको रूपमा मान्दै आएका छन् । नेपाल सरकारले यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा २०५८ सालदेखि दिँदै आएको छ ।

चासोक पूजा तथा पुजिन्ने देवीदेवताहरू

मुख्यतः युमा, थेबा तथा थङदाङबाको पूजा गरिने भए तापनि पूजा प्रार्थनामा विध्नबाधा नहोस, प्राथना गरेअनुरुप सफलता प्राप्त होस् भनी चासोक थिसोक पूजा गरिने लिम्बू समुदायका पुजारी सुने लिम्बूको भनाइ रहेको छ । पुजारी लिम्बूका अनुसार मिसेक (सम्पन्न गरिन लागेको पूजाकार्य विध्नबाधारहित सम्पन्न होस् भनी सर्वप्रथम मिसेक्पा पूजा० कुइकुदाप वा ताक्फेङमा वा ताम्भूङना (गृहस्थी जीवनमा विध्नबाधा आइनपरोस् भनी मनाइने सिकारी पूजा) । निम्न सिकारी वनदेवता, वनदेवी मान्ने गरिन्छ ।

तक्सङबा (विध्नवाधा नाशक सिकारी देवता) सिरिङमा वा मुदेनहाङमा साया मुदेन, तेन्छामा -दक्षिणबाट लिम्बू भूमिमा प्रवेश गरेकी वनदेवी,(घ) खञ्जमा वा खजुमा (कहिले उत्तर कहिले दक्षिण घुमी हिँड्ने वनदेवी,(ङ) वजमा (बिजुवा, येवा, येमा आदि तान्त्रिकहरूले पनि गुरु मानी उहाँहरूमा शक्ति गर्ने वनदेवीको पूजा गरिन्छ ।काप्पोबा हिम्साम्याङ घरको रक्षा गर्ने बुढा देवता) काशीहाङमा (युमा साम्याङसँग साथ लागि आएकी उनको सहयोगी देवी) । युमा साम्याङ ९तागेरानिङवाफुमाङ मातृशक्तिको रूपमा प्रकट भएकी लिम्बूहरूको सर्वोपरी इष्टदेवी । थबा साम्याङ (तागेरानिङवाफुमाङ) पितृशक्तिको रूपमा प्रकट भएका लिम्बूहरूका आदि पुरुष देवता अथात् अग्रज देवता (बाजे) ।

थुङदाङबा (अन्नबाली उत्पादनमा घामपानी मिलाई उब्जाउ गराइदिने, राखनधरन, खानपिन, कलाकौशलसमेत सिकाउने चासोक पूजामा अनिवार्य रूपमा पुजिने इष्टदेवता । सँगसँगै सिवेरा, चखोबालाई पनि पूजा गर्ने गरिन्छ ।

चासोक पूजाको सामग्री र पूजाविधि

नयाँ अन्न मकै, कोदो, धान आदि पाकेपछि घरको मूली आइमाईले चोखो गरी धान र कोदोको बाला टिपी ल्याउँछन् । धानको बालाबाट धान झारेपछि त्यसलाई हाँडीमा भुटी ओखलीमा कुटेर च्यूरा बनाइन्छ भने नङले छोडाएको नयाँ धानको अक्षता चामल बनाइन्छ । कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ । कोदोको गेडा, मर्चा र पानी मिसाएर पूजाको लागि जाँड साप्तोक बनाइन्छ ।

नरकट वा मालिङ्गो वा निगालो आदिको तल्लोपट्टि भूइँमा गाड्न सजिलो हुनेगरी चुच्चो पार्ने र माथिपट्टि मुठारेको ढुङ्गो ५/६ इन्च लामो बनाइ त्यसभित्र साप्तोक हाली थिः तङ्बा बनाइन्छ । तङ्बा बनाउने वस्तुबाटै सिन्का बनाइ पिचिङ (पाइप) तङ्बामा हाल्ने र तङ्बालाई केराको पातले छोपी पिछिङले छेडेपछि पूजाको लागि तङ्बा तयार हुन्छ । वासो फुङ्वेत् (चिण्डो) वा लोहोटा/डबकामा वादुम्पक्वा (चोखो पानी) हाली वासाङ्ना वा लाइक्इक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने वस्तु) तयार गर्नुपर्छ ।

विभिन्न प्रकारका फलफूल, सुकेको तीतेपाती र धूपीको धूलो धूप, सालधूप, अन्य सुगन्धित धूपहरू, भेटी, च्युरा, अक्षता तयार गर्नुपर्छ । तीन देखि छ इन्च गहिरो जमिन खनेर निक्लेको माटोले जमिन सम्याउनुपर्छ । सम्याइएको जमिनमा पूजा गरिने विभिन्न देवीदेवताको लागि सुल्टैसुल्टो पारी केराको पात दुईसरो पात ओछ्याई लासो (पूजाथान) बनाइन्छ । लासो थाप्ने तरिका कहीँकहीँ फरकफरक पनि हुन्छ । युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लिखित सामग्रीका अतिरिक्त थालमाथि फुङसारी (कलश) र दियो जलाई पूजा गर्नुपर्छ ।

चासोक तङनामले धार्मिक महत्व तथा सामाजिक महत्व बोकेको पाइन्छ । वर्ष दिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्न सराप्ने आदि भए गरेका गाली नलागोस् भनी बगाई पठाउने अनुष्ठान गर्ने प्रचलन लिम्बू जातिमा रहिआएको छ । लिम्बू भाषामा यस अनुष्ठानलाई माङहुप वादेम्मा भनिन्छ । यसो गर्नाले श्राप बग्छ भन्ने विश्वास गरिन्छ । यो अनुष्ठान अरु समयमा गर्ने भए तापनि सामूहिक भेला भएको अवसर पारेर चासोक तङ्नाममा गरिँंदै आएको पनि पाइन्छ ।

यस्तै चासोक कै अवसर पारेर एकराते तङसिङ पनि गर्ने चलन बढन थालेको लिम्बू समुदायका पुजारी सुने लिम्बूले बताउनुभयो । तङसिङ खासगरेर लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताको बारेमा मुन्धुमअनुसार साम्बा, विजुवाबाट मुन्धुम गाएर सम्पन्न गर्ने पुजारीको भनाइ रहेको छ । यसलाई धार्मिक महत्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङ्नाममा रिस, ईष्याहरू बिर्सेर आत्मियताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन् ।

पाहुनाहरू आउने–जाने, मीठो मसिनो विभिन्न खानपिन बनाइ खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरको रूपमा यस पर्व मान्दै आएका छन् । सामूहिक रूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन् ।

यस्तै परम्परागत खेल पक्लुङ लेप्मा(छेलो हान्ने) खेल खेल्ने गर्दछन् । यस चाडले लिम्बू जातिको पहिचान र सांस्कृतिक गौरव राख्ने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिबीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा भूमिका निर्वाह गरेको छ । रासस