४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण
अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।

नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिनुभएको थियो । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिर्नुभएको छैन । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

यसबारे ऋणी लामाकी श्रीमती राईलाई सम्पर्क गर्दा श्रीमानसँग नै यस विषयमा कुरा गर्नुपर्ने बताउनुभयो । राईले दिनुभएको नम्बरमा पटक–पटक लामासँग प्रतिक्रियका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

मञ्जुश्री सहकारीको ऋण नतिर्ने लामा एक्ला जनप्रतिनिधि भने हुनुुहुन्न । नगरपालिकाको वडा नं ५ का वडा सदस्य श्रीबहादुर योगीले पनि उक्त सहकारीको ऋण तिर्नुभएको छैन । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएका योगीले २०७६ असार ३१ गते रु एक लाख ८१ हजार चार सय १६ ऋण लिनुभएको थियो ।

योगीले सहकारीलाई ऋण चुक्ता गर्नुपर्ने मिति २०७६ पुस २८ गते नै समाप्त भइसकेको छ । लामा र योगीलाई पटक–पटक पत्र काट्दा पनि ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख विजय तामाङले गुनासो गर्नुभयो ।

“जनप्रतिनिधिले नै सहकारीको ऋण नतिरेपछि अरुले दिन मानिरहेका छ्र्रैनन्, सहकारीका बचतकर्ता भने कार्यालयमै आएर धर्ना दिन थालेका छन्, बचतकर्ताको पैसा खाएर भाग्ने हाम्रो नियत छैन”, उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष राजु रायमाझीले पनि सहकारीसँग लिएको ऋण नतिरेको अभिलेख देखिन्छ । रायमाझीले विसं २०७२ भदौ १६ गते रु तीन लाख २० हजार चार सय ९० ऋण लिनुभएको थियो । रायमाझी पनि २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।

ऋण तिर्न रायमाझी, योगी र लामालाई पटक(पटक पत्राचार गरेको सहकारीको अभिलेखमा उल्लेख छ । तीनै जना जनप्रतिनिधिसँग प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा पनि उहाँहरु सम्पर्कमा आउन चाहनुभएन ।

बचत फिर्ता नहुँदा रोकियो मुटुरोगीको शल्यक्रिया

काभ्रेपलाञ्चोकको पाँचखाल स्थायी घर भएकी पार्वती दाहाल विगत दुई दशकदेखि माकालबारीमा पसल चलाउनुहुन्छ । पसलबाट भएको आम्दानी बचत गरे अप्ठ्यारो परेका बेला काम चलाउन सकिन्छ भनी उहाँले सहकारीमा पैसा राख्नुभयो ।

पटक–पटक गरेर दाहालले सहकारीमा रु छ लाख बचत गर्नुभएको छ । दशैँअघि नै मुटुको शल्यक्रिया गर्नका लागि सहकारीमा पैसा फिर्ता माग्न जाँदा उहाँले पैसा पाउनु भएन । उहाँले भन्नुभयो, “मेरो आफ्नै उपचारका लागि सहकारीमा श्रीमानले बचत गरिदिनुभएको हो, तर मैले अप्ठ्यारो परेका बेला पैसा पाउन सकिन ।”

स्थानीयस्तरमा सहकारीलाई नियमन गर्ने नगरपालिकामा कार्यरत पुष्पबहादुर जिसी र अर्जुन श्रेष्ठले पनि मञ्जुश्री सहकारीबाट ऋण लिनुभएको छ । तर उहाँहरूले पनि अहिलेसम्म ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख तामाङले सुनाउनुभयो ।

यसैगरी सहकारीका पूर्वकर्मचारीहरूले लिएको ऋण पनि अझै फिर्ता गरेका छैनन् । सहकारीका पूर्वव्यवस्थापक लेखनाथ लामाले विसं २०७६ असार ३१ गते रु ३२ लाख ५३ हजार चार सय पाँच ऋण लिनुभएको थियो । उहाँले ऋण तिर्नुपर्ने म्याद २०७६ पुस २८ गते नै समाप्त भए पनि अझै ऋण चुक्ता नगरेको पनि सहकारीले जनाएको छ । चन्दु लामा र रामेश्वर चौलागाईँ पनि सहकारीका पूर्वकर्मचारी हुनुहुन्छ । दुवैले लिएको ऋण नतिरेको अभिलेख सहकारीको कार्यालयमा रहेको छ ।

सहकारीका अध्यक्ष इन्द्र लामा ऋणीसँग पैसा उठाएर बचतकर्तालाई फिर्ता गरिने प्रतिबद्धता जनाउनुभयो । सहकारीका नाममा घर पनि छ । बचतकर्तालाई पैसा फिर्ता गर्न त्यो घर पनि बेच्ने योजना बनाएको उहाँले सुनाउनुभयो । लामाले भन्नुभयो, “बचतकर्ताले दुःख गरी जम्मा गरेको पैसा हामी खाँदैनौँ, जसरी पनि पैसा फिर्ता गर्न लागेका छौँ, पैसा फिर्ता पाइन्छ भन्नेमा मञ्जुश्रीका बचतकर्ता ढुक्क बन्नुभए हुन्छ ।”

नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले लिएको ऋण फिर्ता गराउन पहल गर्ने प्रतिबद्धता बताउनुभयो ।

“नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको ऋणले मात्र सहकारी डुबेको होइन, बचत पैसाले घर किनेर धेरै मूल्याङ्कन गरेको सुनेको छु, पैसा घरमा लगाएपछि बचत फिर्ता हुन नसकेको हो, बचत फिर्ताका लागि हामी पनि पहल गर्छौँ”, उहाँले भन्नुभयो ।रासस