• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कतार विश्वकप: आज चार खेल हुदै



काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । कतारमा जारी विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेल समूह ‘ई’मा रहेका जापान र कोस्टारिकाबिच हुनेछ । खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने कोस्टारिका स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एफ’ मा रहेका बेल्जियम र मोरक्को बीचको प्रतिस्पर्धा साँझ ६:४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा बेल्जियमले क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोएसियासँग बराबरी खेलेको थियो ।

विश्वकप अन्तर्गत आईतबार हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडा भिड्ने छन् । समूह ‘एफ’ मा रहेका क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा रहेका छन् ।

अन्तिम चौंथो खेलमा समूह ‘ई’का जर्मनी र स्पेनबीचको प्रतिस्पर्धा । नेपाली समय अनुसार राति १२:४५ बजेबाट खेल सुरु हुनेछ । पहिलो खेलमा नै हार व्यहोरेको जर्मनी जित निकाल्ने योजनामा रहेको छ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।