२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा बहुमतको सरकार गठन गर्न ४१ सांसदद्वारा प्रदेश प्रमुखसमक्ष हस्ताक्षर पेश



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि सोमबार निवेदन पेश गरेका छन् ।

उक्त निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाले हस्ताक्षर गरेका छन् । 

गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

यता मुख्यमन्त्री पोखरेलले भने अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै प्रदेशसभाको अधिवेशन अन्त्य गरी आफूले पनि राजीनामा दिएर एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए । त्यसपछि तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यस्तै विपक्षी दलहरुले सरकारले प्रदेशसभाबाट बजेट पारित गराउनुपर्नेमा अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउनुले पनि सरकार अल्पमतमा रहेको पुष्टि भएको दावी समेत गरेका छन् । 

लुम्बिनी प्रदेश सभामा हाल कायम रहेका ८० जना सांसदमा सत्तारुढ नेकपा एमालेसँग ३८ जनामात्र रहेका छन् ।