२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षका लागि ठाउँ खाली राख्दै एमालेका केन्द्रीय विभागहरूमा मनोनयन



अ+ अ-

काठमाडौं । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौं वटा विभागहरु गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौैं वटा विभागहरु गठन गरेको हो । पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैले राखेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । 

संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवाष नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदिप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई मनोनित गरिएको छ । प्रवक्ता ज्ञवालीले पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताउनु भयो । विभागलाई पूर्णता दिन सदस्यहरुको मनोनित गर्ने काम भने बाँकि रहेको एमालेले जनाएको छ ।

एमालेले आगामी साउन २४ गते केन्द्रिय समिति बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनु भयो । त्यसको २ दिन अघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने पनि निर्णय पनि एमालेले गरेको छ ।

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय पनि यस अघिनै गरिसकेको छ ।