१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची बाढीपीडितलाई रु पाँच लाख



अ+ अ-

काठमाडौँ । श्रीश्री जानकी माता धार्मिक सङ्घ र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाताले मेलम्ची बाढी पीडितको आवास पुनःनिर्माणका लागि रु पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

दुवै संस्थाले आज आयोजना गरेको कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याललाई सहयोग हस्तान्तरण गरिएको हो । नेपाली काङ्ग्रेस केन्द्रीय समितिले गठन गरेको बाढी पहिरो विपत्ति कोषको संयोजकसमेत रहनुभएका पूर्व मन्त्री बस्नेतले पीडितलाई तीन चरणमा सहयोग जुटाउने अभियानमा लागिएको जानकारी दिनुभयो ।

उद्धार, राहत र पुनःस्थापनाका चरणलाई एउटै गतिमा अघि बढाउनुपरेको उहाँले सुनाउनुभयो । असार १ र साउन १६ गते दुईपटक ठूला बाढी आएको र त्यसपछिका विभिन्न चरणमा साना साना बाढी आएकाले निरन्तर रुपमा तीनै चरणका काममा खट्नुपरेको नेता बस्नेतको भनाइ थियो । पुनःस्थापनाका लागि वर्षामा अस्थायी वास निर्माण गरिएको छ । हिउँद लागेपछि स्थायी आवास निर्माणको काम हुने जनाइएको छ ।

विसं २०७१ साउनको जुरे पहिरोदेखि सिन्धुपाल्चोक केन्द्रबिन्दुमा रहेर निरन्तर प्राकृतिक प्रकोपका घटना भएकाले निरन्तर उद्धार, राहत र पनःस्थापनाका काममा खटिनुपरेको उहाँको भनाइ थियो । बाढीले धेरै पक्की पुलसमेत बगाएकाले केही महत्वपूर्ण पुल छिटो राख्न व्यवस्था मिलाउन पार्टीले सरकारसँग समन्वय गरिरहेको जानकारी संयोजक बस्नेतले दिनुभयो । 

मेलम्ची नगरपालिकाका नगर प्रमुख अर्यालले असार १ गतेको बाढीले १३७ र साउन १६ गतेको बाढीले ५६ घरमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीबाट हेलम्बु जाने सडक अवरुद्ध भएको छ । बाढीले ठाउँ ठाउँमा पहिरो गएको छ । एक वर्षमा बाढी पीडितको स्थायी आवास पुनःनिर्माण सम्पन्न गर्ने गरी काम गर्न लागिएको नगर प्रमुख अर्यालको भनाइ छ । मेलम्ची खोलाको मुहानदेखि अहिले पनि बाढी निरन्तर आइरहेको छ ।

मेलम्चीको माथिल्लो भेगमा भौगोलिक अध्ययन गर्न गएका भूगर्भविद्का अनुसार हिउँदमा पनि बाढी जान सक्ने अवस्थाको विश्लेषणले नदी तटीय क्षेत्रका वासिन्दा चिन्तित छन् । बाढीबाट जोखिन नगरपालिकाले मेलम्ची नदी किनारको दायाँबायाँका मापदण्ड निर्माणमा काम गर्ने तयारी शुरु गरेको नगर प्रमुख अर्यालले सुनाउनुभयो ।

कार्यक्रममा जानकी माता नेपाली धार्मिक सङ्घका अध्यक्ष गुञ्जदास श्रेष्ठ, नेपाली केन्द्रीय सेवा सङ्घका अध्यक्ष दीपशङ्कर पौडेल, सदस्य गणेश प्रधानलगायतले विपत्तिका बेला जहाँसुकै रहे पनि एउटा नेपालीले अर्कोलाई सहयोग गर्नुपर्ने भावना अनुरुप सहयोग जुटाएर नेपालमा आएको जानकारी दिनुभयो । दुवै संस्थाका गरी करिब एक दर्जन नेपाली सहयोग जुटाएर प्रवासबाट नेपाल आएका हुन् ।