१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा (तस्बिरसहित)



अ+ अ-

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आएको हो । 

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालीमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । कम्पनीभित्र प्रज्वलनशील पदार्थ बढी रहेकाले आगलागी नियन्त्रणमा समस्या भएको महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी वरिष्ठ उपरीक्षक निर्मल बुढाथोकीले राससलाई जानकारी दिनुभयो । 

“बिस्कुट उत्पादन गर्ने कम्पनीमा घ्यु, मैदा, चिनी, प्लाष्टिकजस्ता सामग्री हुँदा आगोले झन् ठूलो रुप लिन पुग्यो, त्यसैले आगो नियन्त्रणमा समस्या परेको हो”, डिएसपी बुढाथोकीले भन्नुभयो ।     

आगलागी शुरु भएपछि बालाजु वृत्तको प्रहरी टोली बिहान २ः२० बजेदेखि नियन्त्रणमा खटिएको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका नौ दमकल प्रयोग गरिएका छन् । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । 

काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालीले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो । 

नेबिको प्रालीले वार्षिक रु एक अर्ब १५ करोडभन्दा बढी रकम बराबरको सामग्री बजारमा बिक्रीका लागि पठाउँदै आएको थियो । सन्ताउन्न वर्ष पहिले स्थापना भएको उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिजलगायतका सामग्री उत्पादन गर्दै आएको थियो । चार युनिटमार्फत काम गर्दै आएको उक्त कम्पनीले भैरहवामा समेत शाखा विस्तार गरेर काम गर्दै आएको ब्राण्ड मेनेजर पौडेल बताउनुहुन्छ ।