५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो

न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो
फाईल फोटो
अ+ अ-

फुङ्लिङ । नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक्क सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैँची किसानलाई भने पाकेको अलैँची घर भित्र्याउने चटाराले छोपेको छ ।

बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो । बजारदेखि पाँच किलोमिटर पर बिहीबारे क्षेत्रमा अलैँची बगानमा ७० वर्षीय खाङ्डु शेर्पा अलैँची भट्टी लगाउनमा व्यस्त हुनुहुन्थो । कोही महिला, पुरुष र केटाकेटी अलैँची टिपेर जम्मा गरिएको अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छडाउनमा व्यस्त थिए ।

खाङडु शेर्पाको दसैँ पनि अलैँची बगानमै बितेको थियो । अलैँची छराउँदै र सुकाउँदै तिहार पनि अलैँची बगानमै मनाउने शेर्पाले सुनाउनुभयो । शेर्पाले ६० रोपनी जग्गामा अलैँची खेती गर्नुभएको छ । फक्ताङलुङ गाउँपालिका–२ खेजेनेममा पनि ४० रोपनी जग्गामा अलैँची बगान छ । अलैँची बगानमै आफ्नो अझै एक महिना समय बित्ने उहाँको भनाइ छ ।

सोही क्षेत्र नजिकै रहेको अलैँची भट्टीमा केदार पताङ्वा पनि निधारमा तपतप पसिना चुहाउँदै अलैँची भट्टीमा सुकेको अलैँची उठाउन व्यस्त हुनुहुन्थो । भट्टीको आँगनमा जम्मा गरिएको अलैँचीको थुङ्गाको हसमा बसेर आठ/नौ जना अलैँची छडाउनमा व्यस्त हुनुहुन्थो । पताङ्वालाई एकैछिन बस्न फुर्सद छैन । दसैँदेखि नै पताङ्वाले भट्टीमा सुकेको अलैँची उठाएर घरमा जम्मा गर्ने र छडाएको अलैँची सुकाउनका लागि भट्टी लगाउनमै व्यस्त भएको हो । खेतीयोग्य ४० रोपनी जमिनमा अलैँची बगान विस्तार गर्नुभएको पताङ्वाले बताउनुभयो ।

उहाँले परम्परागत प्रविधिका भट्टीबाट अलैँची सुकाउँदै आउनुभएको छ । केही किसानलाई ‘अलैँची जोन’ कार्यालय ताप्लेजुङले आधुनिक प्रविधिको भट्टी उपलब्ध गराएको छ । किसानहरुको रोजाइमा परेको देखिंदैन । प्रायःजसो सबै किसानले परम्परागत प्रविधिका भट्टीबाट नै अलैँची सुकाउँदै आएको पताङ्वाले बताउनुभयो ।

भट्टीको आगनमा जम्मा गरिएको अलैँचीको थुङ्गाको ह्रासमा बसेका आइतहाङ राई यसपालिको तिहारमा देउसी, भैलो खेल्न जानुभएन । राईसँग कुनै अलैँची बगान भएर देउसी भैलो खेल्न नगरएको भने होइन । छरछिमेक दसैँ तिहारमा भ्याइनभ्याइ हुँदा आफू भने देउसी खेल्न जान मन नमानेर केदार पताङ्वाको अलैँची बगानमा छिमेकीलाई सघाउन आउनु भएको हो । उहाँको मोबाइलमा भने देउसी, भैलोको गीत घन्किरहेको थियो । समस्यामा पर्दा छिमेकीलाई सहयोग पनि हुने र आफूलाई रोजगारी पनि हुने भएकाले दसैँ तिहारमा अलैँची बगानमा बसेको अनिता फुरुम्बुले बताउनुभयो ।

फक्ताङ्लुङ गाउँपालिका–६ का विर्ख लिम्बूले अलैँची बगानमा बस्नु थाल्नुभएको एक महिना भयो । बेंसीदेखि लेकसम्ममा उहाँसँग विभिन्न ठाउँमा पाँच वटा अलैँची बगान रहेको छ । बेंसीमा साउन महिनाको पहिलो सातादेखि टिपाइ सुरु हुन्छ । बेंसी रहेको बगानदेखि टिप्दै लेकतिरको बगानमा पुग्दा मङ्सिर महिना लाग्छ । बगानमा काम गर्ने खेतला पाँनै समस्या छ । धेरैजसो पर्म गर्नु पर्दछ । छिमेकीका बगानमा टिपी सकाएर आफ्नो बगानमा टिप्नु पर्दछ । लेक क्षेत्रमा अलैँची बगान हुनेले बेंसी क्षेत्रमा टिपाइ हुँदा पर्म सघाइराख्नुपर्ने हुन्छ ।

अलैँची बगानमा रोजगारी

नगरपालिका–७ बिहीबारे क्षेत्रको एक अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त हुनुहुन्छ । उहाँ पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखल्याङदेखि अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आउनुभएको हो । दसैँ सकेलगत्तै राई यहाँ आउनुभएको हो ।

तिहारमा अलैँची बगानमै व्यस्त हुनुभयो । बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेका राई साँझ परेपछि मात्रै बाहिर निस्कनुहुन्छ । उहाँको साँझ बिहानको खाना खाजा पनि अलैँची बगानमै खानुहुन्छ । बिहान र दिनभरि टिपिएको अलैँचीको ढुङ्गा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्ने काम हुन्छ । दिनभरि टिपिएको अलैँची बेलुका १० बजे रातसम्म छडाउनु राईको अहिले दैनिकी बनेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जनाले घर छोडेर अलैँची टिप्न फुङ्लिङ पुगेका छन् । गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ—६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताउनुभयो । उहाँ तिहार पनि अलैँची बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त हुनुभयो ।

कमल राई पनि अलैँची टिप्ने बगानमै व्यस्त हुनुहुन्छ । तिहार खर्च घरमा पठाएर आफू चाहिँ अलैँची बगान नै रोजगारी गर्दै बसेको उहाँले बताउनुभयो । उहाँहरु रोजगारीका लागि पाथीभरा याङ्वरक गाउँपालिकादेखि फुङ्लिङ आउनुभएको हो । दिनभरि टिपिएको अलैँची बेलुका १० बजेसम्म छोडाउने गर्नुहुन्छ । अलैँची बगानमै बसेर बिहान बेलुका काम गर्दा दैनिक ६०० रुपैयाँ ज्याला पाउने राईले बताउनुभयो ।

अहिले फुङ्लिङलगायतका क्षेत्रमा अलैँची टिप्ने चटारो लागेको छ । मेरिङदेन गाउँपालिका–६ नाल्बुकी विमना लिम्बूलाई पनि एकैछिन पनि फुर्सद छैन् । उहाँ दैनिक अलैँची बगानमा काम गर्नेहरुको लागि बिहान चिया, खाजा बनाइदिने अनि खाना खाजा बनाउने गर्नुहुन्छ । अलैँची बगानमा रोजगारी गर्नका लागि धेरै टाढादेखि युवा यहाँका अलैँची बगानमा आएका छन् । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्का रनकुमार लिम्बू आप्mनो गाउँमा खेताला नपाएर अन्य गाउँबाट अलैँची टिप्ने कामदार ल्याउनुपरेको बताउनुहुन्छ । यहाँका प्रायः सबैको आफ्नै अलैँची बगान छ । पाकेको अलैँची समयमै टिप्न नसके खेर जाने, मुसा तथा जङ्गली जनावरले खाने भएकाले दसैँ–तिहारमा पनि अलैँची बगानमै व्यस्त हुनुपरेको उहाँको भनाइ छ ।

ताप्लेजुङमा खेती र अलैँची उत्पादन

गत वर्ष अलैँची जोन क्षेत्रमा दुई हजार छ मेट्रिकटन उत्पादन भएकामा दुई हजार मेट्रिकटन बिक्री भएको र त्यसबाट किसानले रु एक अर्ब ३५ करोडभन्दा बढी आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिकटन अलैँची मात्र जिल्लामा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार सात सय हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार चार सय हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताउनुभयो ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँचीखेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छमध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक छ वटा वडामा अलैँचीखेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ मा किसानले अलैँची खेती गर्दै आएका छन् ।

त्यस्तै मेरिङ्देन गाउँपालिका–३ खाम्लुङबाहेक बाँकी पाँच वडा र सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेमा अलैँची खेती गरिन्छ । जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै कार्यालयले जनाएको छ ।

दिलकुलमार लिम्बू /रासस