५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

बाख्रापालनबाटै आत्मसन्तुष्टि

बाख्रापालनबाटै आत्मसन्तुष्टि
अ+ अ-

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बस्नुभयो । साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किनुभयो २०५८ सालमा ।

घर फर्किएपछि अब विदेश नजाने सोच उहाँमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ उहाँले विसं २०६२ बाट बाख्रापालन सुरु गर्नुभयो । “सुरुमा त के गर्ने भन्ने लागिरहेको थियो, पछि पशुपालन गर्छु भन्ने सोच आयो, परिवारसँग पनि सल्लाह गरेर बाख्रापालन सुरु गरेँ”, आले भन्नुहुन्छ, “सुरुआती चरणमा थोरै बाख्रा पालेर व्यवसायलाई अगाडि बढाएँ ।” विसं २०७२ मा भने फार्म नै दर्ता गरी व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको आले बताउनुहुन्छ ।

परिवारसँगै बसेर घरमै व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । “अर्काको देशमा घरपरिवार छाडेर बस्दा मन कत्ति पनि रमाउँथेन, अहिले परिवारसँगै बसेर बाख्रापालन गर्दा सन्तुष्टि मिलेको छ ।” विदेशमा भेडाबाख्रा चराउने काम गरेको अनुभव आलेलाई स्वदेशमा फाइदा भएको छ ।

आलेलाई जेठो छोरा र श्रीमतीले बाख्रापालनमा सघाइरहनुभएको छ । “श्रीमती र छोराको सहयोगले पनि बाख्रापालन व्यवसाय अगाडि बढाउन मद्दत मिलेको छ”, उहाँले भन्नुभयो । विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै बसेर केही न केही काम गर्न सके आनन्द आउने उहाँले सुझाव दिनुभयो ।

आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक रु चार÷पाँच लाख आम्दानी हुने गरेको छ । बाख्रा बिक्रीका लागि कुनै समस्या छैन । बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने गरेका छन् ।

सोही ठाउँका रुपबहादुर थापा पनि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले ५० भन्दा बढी बाख्रापालन गरिरहनुभएको छ । “बाख्रापालन नै आम्दानीको मुख्य स्रोत हो, बाख्रा पालेरै घरखर्च चलाउँदै आएको छु”, उहाँ भन्नुहुन्छ, “आफूले जे गरेको छ त्यसमै सन्तुष्टि हुनुपर्छ ।”

यही ठाउँकै आइतसिंह आले, सन्तबहादुर आलेलगायत २१ घरधुरी बाख्रापालनमा आबद्ध छन् । सबैले १५÷२० वटा बाख्रापालन गरिरहनुभएको छ । यहाँका स्थानीयवासीको घरमा बाख्रा नहुने कुनै घर छैन । यहाँका स्थानीयवासीले यस वर्षको दसैँका लागि रु सात लाख बराबरको खसीबोका बिक्री गरेका छन् । कृषकले पालेका ३० वटा बाख्रा एकैचोटि बिक्री गरिएको छ । प्रतिकिलो रु पाँच सय ८० का दरले बाख्रा बिक्री गरिएको छ ।

भीमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आले २०६८ सालदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँको बाख्रा फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् । आलेले बाख्रापालनबाट वार्षिक रु आठ-नौ लाख आम्दानी गर्नुहुन्छ ।

आत्मविश्वास, हातमा सीप र निरन्तरको प्रयासले मानिस सफल हुन्छ भन्ने प्रमाणित आलेले गर्नुभएको छ । विसं २०६८ सालमा सव ओभरसियरको पढाइ उत्तीर्ण गर्ने बित्तिकै आलेले व्यावसायिक रुपमा बाख्रापालनमा सुरु गर्नुभएको थियो । बुबाले परम्परागत रुपमा बाख्रापालन गर्दै आएकामा आलेलाई त्यसलाई व्यावसायिकमा रुपान्तरण गर्नुभएको थियो ।

सव ओभरसियर उत्तीर्ण भएपछि जागीर नखाएर किन पशुपालनतर्फ लागेको भन्दै गाउँलेले भन्ने गरेको स्मरण गर्दै आले सम्झिनुहुन्छ, “मैले गाउँमै बसेर पशुपालनमार्फत् गाउँलाई नमूना बनाउँछु भन्ने अठोट लिएर यसतर्फ अगाडि बढे ।”

बाख्रापालनका लागि आधुनिक बाख्रा खोर निर्माण गरिएको छ । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरे पनि उहाँले आफ्नो कर्म कहिल्यै छाड्नुभएन । फलस्वरुप उहाँ अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित हुन सफल हुनुभएको छ ।

आलेले बाख्रापालनका लागि १५ हजारभन्दा बढी घाँसका बिरुवा रोप्नुभएको छ । “पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको विदेश जाउ पनि भन्थे तर अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन्”, उहाँ खुसी हुँदै भन्नुहुन्छ ।

साना किसान लघुवित्तमार्फत दश महिना इजरायल बसेर फर्किनुभएका आलेले पशुपालनको क्षेत्रमा थप कुरा सिक्ने अवसर पाएको उल्लेख गर्नुभयो । आले भन्नुहुन्छ, “इजरायलमा बस्दा कृषिको बारेमा धेरै कुरा सिक्न पाएँ । पानीको अभावमा पनि इजरायलमा राम्रो खेती भएको रहेछ । हाम्रोमा त प्राकृतिक रुपमा नै पानी प्रशस्त छ त्यसलाई सदुपयोग गर्नसके धेरै काम गर्न सकिन्छ ।”

साना किसान सहकारीबाटै आलेले केही दिन अगाडि मात्रै रु एक लाख बराबरको पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँ जिल्लाबाट पनि उत्कृष्ट बाख्रापालक कृषकको रुपमा पुरस्कृत भइसक्नुभएको छ । भिमाद नगरपालिका–९ का वडासदस्य रहनुभएका आलेले बाख्रापालनबाटै नाम र दाम कमाएको उल्लेख गर्नुभयो । “मलाई बाख्रापालनबाटै जिल्ला र देशभरि चिन्छन्”, आलेले भन्नुभयो ।

पाथर्दीका हरेक घरधुरी बाख्रापालन व्यवसायमा आबद्ध छन् । यहाँका ६० घरधुरीले बाख्रापालनबाट आम्दानी गरिरहेका छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, श्रीमाया आले, खेमबहादुर थापा, टकबहादुर थापा लगायत व्यावसायिक बाख्रापालनमा आबद्ध हुनुहुन्छ ।

परम्परागत रुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले २०७१ सालदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहनुभएको छ । यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ ।

परम्परागत रुपमा बाख्रा पाल्दै आउनुभएका श्रीमाया आलेले व्यावसायिक बाख्रापालनका लागि लाखौँ खर्चिएर सुधारिएको खोर निर्माण गर्नुभएको छ । आलेले रु १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गर्नुभएको छ । उक्त खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँ बनाइएको छ । खोरमा दाना ख्वाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ ।

बाख्रापालनका लागि आलेले १५ रोपनी क्षेत्रफलमा घाँस खेती गर्नुभएको छ । किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाँकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्री र मोलाटो जातका घाँस खेती गरिएको आलेले बताउनुभयो ।

बाख्रापालन आम्दानीको मुख्य स्रोत बनेको बाख्रापालक कृषक नरमाया थापा बताउनुहुुन्छ । थापाले भन्नुभयो, “पहिला–पहिला बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान नै थिएन । मकैमा हाल्न मलको लागि मात्रै बाख्रा पाल्थ्यौँ ।” निर्वाहमुखी रुपमा मात्रै गरिने बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि व्यावसायिक रुपमा नै बाख्रापालनलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।

उहाँले २६ वटा बोयर जातको बाख्रा पाल्नुभएको छ । बाख्रालाई खुवाउनका लागि किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्री र मोलाटो जातका घाँस खेती गरिएको छ । बाख्रापालनबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

पाथर्दीलाई बाख्रापालनको नमूना गाउँ बनाउने लक्ष्य राखिएको छ । पाथर्दीलाई बोयर जातको बाख्राको स्रोत केन्द्र बनाउने लक्ष्य राखिएको निवर्तमान वडाध्यक्ष इमान थापाले बताउनुभयो । “पर्यटन र पशुपालनलाई जोडेर यस ठाउँको विकास गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।

तनहुँमा पशुपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । यहाँका भौगोलिक अवस्थित र हावापानीको विविधता एवं विशिष्टिताले गर्दा बाख्रापालनका लागि सम्भावना रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ बताउनुहुन्छ । “बाख्रापालनबाट आम्दानी हुन थालेपछि कृषकको यसप्रति आकर्षण बढ्दो छ, परम्परागत रुपमा मात्रै बाख्रा पालिरहेकाले पनि व्यावसायिक बनाएका छन्”, डा श्रेष्ठ भन्नुहुन्छ ।

आर्थिक वर्ष २०७७÷७८ मा बाख्राको सङ्ख्या ३८ हजार सात सय ३७ रहेकामा २०७८÷७९ मा ३९ हजार चार सय ३४ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा तीन सय १० बाख्राफार्म रहेकामा २०७८÷७९ मा ३१ नयाँ बाख्रा फार्म थपिएको केन्द्रले जनाएको छ । केन्द्रले कृषकलाई बाख्रापालनतर्फ आकर्षित गराउने उद्देश्यले अनुदानका साथै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।