१४ भाद्र २०८३, आईतवार
,
Latest
मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ ।

बधशालाको खाली भुँइमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ । सँगै गोठमा बध गर्ने तयारीका लागि बाँधिएका आठ भैँसी छन् । त्यहीँ गोठबाट बगेर आएको मलमूत्र बिक्रीका लागि काटिँदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको छ । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिँगा भन्किरहेका छन् ।

खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालक त्यहीँ फोहर भँैसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका छन् । अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको । बस्तीमा तीन बधशाला सबैको अवस्था उस्तै नै छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए । वर्षौदेखि कानुन उल्लङ्घन गरेर आम उपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम खेलबाड थियो । अनुगमनमा निस्केको टोली मध्येका अधिकांशले भन्दै थिए, “छि, भैँसीको मासु, त्यो पनि यस्तो फोहर र लापरबाही, हजारौँ उपभोक्ता ठगी गर्दै मानवीय स्वास्थ्यमाथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैँसी काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैँसी बाधेर मलमूत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकूल पार्ने गरी लादी फालिएको लगायतका कसुर देखिएपछि टोलीले रु २० हजार जरिवाना लगाएको छ ।

पसलमा बिक्रीका लागि मासु लैजान कुरिरहेकी कमला खड्गीले भैँसीकै मासु भन्ने थाहा पाएर पनि बिक्रीका लागि लैजाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै जस्तो ग्राहक छालामा बाक्लो बोसो भएको मासु खोज्न आउँछन्, त्यस्तो मासु भैँसीको मात्रै हुन्छ, मःमः पसलमा पनि बोसो भएकै मासु खोज्न आउँछन्, त्यसैले बिक्री गर्न भैँसीको मासु लाने गरेको हो ।” ग्राहकले भैँसीको मासु बिक्री गर्दा पनि राँगोकै भन्ने बुझेर लैजाने गरेको र भैँसीको मासु पनि राँगोकै मासुको मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

अनुगमन हेर्न आएकी एक छिमेकीले टोलीमाथि गुनासो गर्दै भन्नुभयो, “अनुगमन गरेर मात्रै हँुदैन, सिमाना कटाएर भैँसी नेपाल ल्याउन दिनै भएन, यहाँ कति बुढा, रोगी र कहिले त पेटमा बच्चा भएको भैँसी पनि काट्छन्, त्यस्तो मासु बजारमा जान्छ ।”

नजिकै रहेको जय श्री बालकुमारी बफेलो सप्लायर्स र भगवाणकृष्ण खड्गीले सञ्चालन गरेको सिद्धिकाली मिट सप्लायर्सको अवस्था पनि उस्तै थियो । दुवै बधशाला २५ वर्ष अगाडिदेखि नै दर्ता विना नै सञ्चालनमा रहेको कामदारले बताउनुभयो । ती दुवै बधशालामा पनि भुँइमै राँगो काटेर नजिकै लादी राखिएको, रगत, मासु फोहर भुँइमै राखेर काटिएर बजार पठाएको, बधशाखा अत्यन्तै फोहर रहेको, हड्डीको व्यवस्थापन नगरिएको पाइएको थियो ।

अनुगमन टोलीले बालकुमारी बफेलो सप्लायर्स र सिद्धिकाली मिट सप्लायर्सलाई पहिलो पटकलाई चेतावनी दिँदै रु १० हजारका दरले जरिवाना लगाएको छ । बधशाला दर्ता गर्न र मापदण्डभित्र रहेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो । सिद्धिकाली मिट सप्लायर्सका सञ्चालकले भने मध्यपुरथिमि नगरपालिकाले बधशाला दर्ता गर्न जाँदा दर्ता नगरी पठाएको र नगरपालिकाले यसअघि कुनै अनुगमन नगरेको, बधशाला कसरी सञ्चालन गर्ने भनेर जानकारी नगराएको गुनासो गरेका थिए ।

अनुगमन टोलीले बाहाखा, बोडे, नगरदेशलगायत मासु पसल अनुगमन गर्दा सबै पसल अत्यन्तै फोहर र मापदण्डभित्र नरहेको पाइएपछि जरिवाना लगाइएको हो । अनुगमनमा लक्ष्मी खड्गी, विनोद खड्गी, रमेश खड्गी भनिने वुद्धिबहादुर खड्गी, सुनिल खड्गीको पसल र अरनिको फ्रेस हाउस गरी पाँचवटै पसललाई रु पाँच हजारका दरले जरिवाना लगाएको छ भने दिलकाजी मासु पसललाई रु दुई हजार जरिवाना लगाएको छ । सबैलाई चार दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको र रामेछाप फ्रेस मिटलाई अझै सफा गर्न सचेत गराइएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।

टोलीले तीन बधशाला र सात मासु पसलको अनुगमन गरी कूल रु ६७ हजार जरिवाना लगाएको जानकारी दिँदै सहायक प्रजिअ एवं टोलीका संयोजक शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड (क) र (ग) अनुसार जरिवाना गरी दर्ता नभएका पसललाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित रुपमा नवीकरण गर्न, हरेक वर्ष कर चुक्ता गर्न, सरसफाइ गर्न, मूल्य सूचि टाँस्न र मापदण्डभित्र रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले अत्यन्तै अव्यवस्थित, फोहर, लापरबाही रुपमा व्यवसाय सञ्चालन गरेको र पशुको स्वास्थ्य जाँच नगरी अस्वस्थकर मासु बिक्री गरिएको पाइएको बताउनुभयो । व्यवसायीले अटेर गरे कडा कारबाहीको नीति अबलम्वन गर्नुपर्ने उहाँले बताउनुभयो ।

अनुगमनमा मध्यपुरथिमि नगरपालिकाका शाखा अधिकृत धनकृष्ण श्रेष्ठले नगरपालिकाले बधशाला प्रक्रिया सबै पु¥याएर आएमा व्यवसाय दर्ता गर्ने जनाउँदै नगरपालिकाले पनि यस्ता अनुगमनलाई तीव्रता दिएर कडा कारबाहीको नीति लिइने बताउनुभयो । अनुगमनमै संलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बधशाला र मासु पसलको अनुगमनले प्रष्ट रुपमा व्यवसायीले मानवीय स्वास्थ्यमाथि चरम लापरबाही गरेको पाइएकाले कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

अनुगमनमै रहेका भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि विश्वराम दुवालले बधशाला र मासु पसल हेर्दा अत्यन्तै निकृष्ट देखिएको जानकारी दिनुभयो । व्यवसायीले व्यवसाय सञ्चालन गर्दा न्यूनतम मापदण्ड पनि पालना नगर्ने र दैनिक उपभोग्य एवं यस्ता मासुजन्य पदार्थ जसले छिट्टै रोग निम्त्याउन सक्छ, त्यस्तो व्यवसाय सञ्चालनमा संवेदनशील हुनुपर्नेमा लापरबाही गरेको पाइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने २०७९ साउनदेखि आजसम्म जिल्ला प्रशासन कार्यालयको संयोजनमा ६५ पसल र फर्मको अनुगमन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवधिको अनुगमनमा रु चार लाख १६ हजार जरिवाना र रु ११ लाख बराबरको म्याद गुज्रेको खाद्यान्न जफत गरी नष्ट गरेका छौँ, हाम्रो उद्देश्य जरिवाना लगाउने र नष्ट गर्नेभन्दा पनि व्यवसायलाई स्वच्छ सफा, नियम सङ्गत र कानुनको दायरामा ल्याउने प्रयास हो ।” उहाँले दसैँ, तिहारलगायत चाँडपर्व नजिकिएकाले बजार अनुगमनलाई अझै तीव्रता दिने बताउनुभयो । रासस