२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका शीर्ष नेताहरू छलफलमा, समस्या समाधानको निकास खोज्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पार्टीको क्रियाशील सदस्यताको विवाद मिलाउन अहिले शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच अहिले देउवा निवास बुढानीलकण्ठमा विवाद समाधानका बारे निर्णायक भनिएको छलफल जारी छ । 

कांग्रेसको क्रियाशील सदस्यताका विषयमा छानबिन समितिले टुङ्गो लगाउन बाँकी समस्या समाधानका लागि शीर्ष तहमा नै प्रयास भइरहेको वरिष्ठ नेता पौडेलले बताएका छन् । 

छानबिन समितिले १२१ वडाको नयाँ सदस्यता  स्थगित गर्दै बाँकी विवाद टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई दिँदै १२ साउनमा प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदन अनुसार बारा र सप्तरी जिल्लामा जिल्लाभर विवाद बाँकी थियो । यस्तै धनुषा-४ सर्लाही-२, रसुवा र सिन्धुपाल्चोकका केही सदस्यतामा पनि विवाद कायम थियो । 

यस्तै अन्य पार्टीबाट काँग्रेसमा समायोजन भई आएका सदस्यताको विषयमाथिको विवादसमेत कायम थियो । 

पछिल्लो पटक विवाद समाधानको जिम्मा नेता सिटौलालाई दिइएको थियो । उनीसँगै डा. मिनेन्द्र रिजाल र रमेश लेखकले विवाद समाधानका लागि प्रयास गर्दै आइरहेका थिए ।