२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट सिटीको अवधारणाअनुरुप अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन



अ+ अ-

वालिङ । स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको दोस्रो साताभित्रमा अव्यवस्थित तार हटाएर सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो ।

“सेवा प्रदायकसँग एक किसिमको छलफल भएको छ, आवश्यकमात्रै तार राख्ने र अनावश्यक हटाउने र त्यसलाई व्यवस्थित गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “तोकिएको अवधिमा सेवा प्रदायकले हटाएर सहयोग गरेन भने नगरपालिकाले तार काटिदिन्छ ।” प्रयोगमा आएका भन्दा नआएका तार धेरै भएकाले पनि बजारको सौन्दर्यमा असर गरेको महसुस गरी सम्बन्धित सेवाप्रदायक कम्पनीलाई तार हटाउन निर्देशन दिइएको नगरप्रमुख खाणले बताउनुभयो ।

“सडकको माथि वा दायाँबायाँ लत्रिएका तारले बजारको सौन्दर्यलाई कुरुप बनाउनाका साथै आगलागी हुनसक्ने सम्भावना पनि उत्तिकै हुन्छ”, उहाँले भन्नुभयो, “प्रयोगमा नरहेका तार हटाउन सकेमा मात्रै पनि तार कमी हुनाका साथै त्यसलाई एउटै मुठो बनाएर पनि व्यवस्थित गर्न सकिन्छ ।” नगरपालिकाको निर्देशनसँगै पुराना अनि तामाका तारबाट वितरण गरिएका लाइन हटाउने तयारी थालिएको वालिङ इन्टरनेट प्रालिका सञ्चालक जोगराज पाठकले बताउनुभयो ।

“नयाँ प्रविधिको फाइबर लाइनको विस्तारसँगै पुराना र प्रयोगमा नरहेका अनावश्यक तार हटाउनका लागि तयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “वालिङस्थित सबै कम्पनीले यसरी नै पुराना र प्रयोगमा नरहेका आ–आफ्ना तार हटाइदिने हो भने व्यवस्थापनमा सहज हुने देख्छु ।”सेवा प्रदायक कम्पनी बढेसँगै पछिल्लो समय बजार क्षेत्रमा तार अव्यवस्थित देखिएका छन् । अनावश्यक र प्रयोगमा नरहेका तार हटाएर केही समयका लागि समाधान भए पनि त्यो दीर्घकालीन समाधान नहुने भएकाले दीर्घकालीन उपायको खोजीमा लाग्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।