२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–५ बाट प्रा.डा.गोपीलाल न्यौपानेको स्वतन्त्र उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं, ६ भदौ । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रा.डा.गोपीलाल न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन् ।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफूले उम्मेदवारी दिएको न्यौपानेको दाबी छ । पत्रकार सम्मेलनमा बोल्दै उनले धेरै मुलुकमा भएका पटक–पटकको राजनीतिक परिवर्तनले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसकेकोे आरोप लगाए ।

वर्तमान राजनीतिक नेतृत्वले अब बहुदलीय व्यवस्था नजोगाउने भन्दै उनले लोकतान्त्रिक गणतन्त्रपनि जोगाउन नसक्ने ठोकुवा गरे । अहिलेका नेताबाट आम नागरिकको दशकौँको सम्पन्नताको चाहना पुरा हुन नसकेको भन्दै उनले भने,‘निर्वाचनमा घोषणापत्ररूपी निबन्धमार्फत जनतामाँझ जाने, मत बटुली सत्तामा पुग्ने र झुटा भाषण गर्नेबाहेक उहाँहरुसँग आर्थिक–सामाजिक रुपान्तरणका कुनै पनि नीति र कार्यक्रम भेटिएनन् ।’

देशभित्र गरिबी, बेरोजगारी, असमानता, महंगी, भ्रष्टाचार र अनैतिकता झनझन बढेर गएको भन्दै उनले राष्ट्रमा न्याय हराउँदै गएको समेत टिप्पणी गरे । उनले भने,‘जनताको जीउधनको सुरक्षा समाप्त भयो, मुलुक क्रमशः दलीय तानाशाहीकरण हुदै आर्थिक रुपले टाटपल्टने स्थितिमा पुग्यो । तपाई हामीले विश्वास गरेका दलका नेताहरु अत्यन्तै स्वार्थी हुदै गए। उहाँंहरु आफनो परिवार र कार्यकर्ताको स्वार्थको लागि मात्र भयो ।’

नेपाललाई सधैंका लागि रोजगारयोग्य मुलुक बनाउन आफुले उम्मेदवारी दिएको उनको भनाई थियो । उनले भने,‘नेपालले नेपालीलाई मात्रै नभई विदेशीलाई पनि रोजगारी दिन सकोस् भनेर म राजनीतिमा होमिएको हुँ ।’ उनले कुनैपनि नेपाली अहिले नेपालमा बस्न सक्ने अवस्था नभएको उल्लेख गर्दै शहरमा राम्रो बंगला बनाउने र गाडी चढ्ने सपना युवाहरुले देख्न छाडेको टिप्पणी गरे ।

आफु उम्मेदवार हुन मात्रै उम्मेदवारी नदिएको पुष्टि गर्दै उनले भने,‘अहिले नेपाल हिँडेको कोर्स गलत छ, यसले एडप्ट गरेको फिलोसफी गलत छ, यसले लिएको नीति र थ्योरी गलत छ । त्यसैले मैले यो नीति बदल्न चाहान्छु ।’ र, उनले आफु बहुदलीय व्यवस्थाको पक्षमा भएको समेत बताए ।

३५ वर्षसम्म त्रिविका कलेजहरुमा अध्यापन गराएका प्रा.डा.न्यौपानेले व्यक्तिगत स्वतन्त्रता, प्रतिस्पर्धी खुला बजार अर्थतन्त्र, सानो र सीमित सरकार, सानो संसद्, सानो कर्मचारी प्रशासन, न्याय र जनताको जिउधनको सुरक्षा राज्यले गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । लोकतान्त्रिक संविधान जोगाउन उम्मेदवारी दिएको समेत थप प्रष्ट पार्दै उनले आफुले गणतन्त्र र संघीयतामा विश्वास गर्ने समेत जानकारी दिए । न्यौपानेले लोकतन्त्रमा नेता मोटाउने र जनता दुब्लाउने अवस्थाको अन्त्य गर्न आफुले चाहेको बताए ।

उनले आर्थिक–सामाजिक रुपान्तरणका मुल मुद्दाहरु पनि अघि सारेका छन् । उनले जनतालाई करको बोझबाट मुक्त गराउन एक कर प्रणाली लागुपर्ने बताएका छन् । बजेटमा हुने ठुलो भ्रष्टाचार रोक्नुपर्ने भन्दै उनले आन्तरिक र बाह्य ऋण लिएर संसद्मा तलव भत्ता खाने व्यवस्थाको अन्त्य गर्नुपर्ने टिप्पणी गरेका हुन् ।

उनले मित्रराष्ट्रहरुसँग आपसी लाभको आधारमा व्यवसायिक सम्बन्ध विकास गरेर अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको अर्थतन्त्रसँग जोड्नुपर्नेे मुद्दा पनि उठाएका छन् ।