४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी

हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी
अ+ अ-

काठमाडौँ । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भन्नुभएको थियो ‘‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’

सोही मञ्चमा बस्नुभएका गिरी प्रधानमन्त्रीको यो घोषणापछि हास्नुभयो भने उहाँका क्षेत्रका समर्थकले गड्गडाहट ताली बजाए । संयोग यस्तो भयो कि पछि उहाँले चुनाव हार्नुभयो । आफ्ना स्पष्ट र प्रखर विचारसहित प्रायः सञ्चारमाध्यममा आइरहने नेता गिरीलाई पछि एक अन्तर्वार्ताका क्रममा प्रश्न सोधियो, ‘‘तपाइँले चुनाव जितेको भए त यतिखेर मन्त्री हुनुहुन्थ्यो होला हगि ?’’ उहाँको प्रतिक्रिया थियो, ‘‘हो, हुन्थेँहोला । तर मलाई मन्त्री बन्नबाट भगवानले बचाएका छन्, त्यसैले म खुसी छु । किनभने मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला, त्यसैले भगवानले चुनाव हराएर मन्त्री हुनबाट बचाए ।’’

प्रदीप गिरी नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो । त्यसैले त चार÷चार पटकसम्म सांसद बन्नुभएका गिरीमा मन्त्री बन्ने चाह कहिल्यै जागेन । उहाँले सार्वजनिक रुपमै भन्ने गर्नुहुन्थ्यो, ‘‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।’’

हाम्रो देशमा यतिखेरको राजनीति त्यस्तो छैन । मन्त्री बन्नुपर्ला भनेर भाग्नखोज्ने नेता सायदै कुनै पार्टीमा भेटिएलान् । अनि उहाँजस्तो सांसद पदको पारिश्रमिक आएको दिन पुस्तक पसलमा गएर पुस्तक किन्न रुचाउने अध्ययन र चिन्तनमा समय व्यतित गर्ने नेता पनि विरलै छन् । त्यसैले उहाँले एक प्रखर चिन्तक मात्र होइन कि समाजवादी विचारका अगुवाको पहिचान निर्माण गर्न सफल हुनुभएको छ ।

गिरीको जीवनशैली खुल्ला र उच्च विचारका धनीहरुका लागि पनि सरल र सादा जिउन सकिने अनुकरणीय उदाहरण हो । उहाँको पहिरनको पहिचान धेरै पछिसम्म पनि खद्दरको कुर्था र सुरुवाल थियो । स्वतन्त्रता र समानताका पक्षपाती उहाँको जन्मघर बाहेक अन्यत्र गाडी, घोडा या घरबङ्गला जोड्ने कुनै रहर रहेन । यहाँसम्म कि उहाँले कहाँ खानुहुन्थ्यो, कहाँ सुत्नुहुन्थ्यो भन्ने पनि कहिले त ठेगान नै हुँदैनथ्यो । आफ्नो पुख्र्यौली सम्पत्ति पनि उहाँले एक आश्रमका रुपमा दिइसक्नुभएको छ ।

समाजशास्त्रको अध्ययन गर्नुभएका गिरीले सिद्धान्तमा भने माक्र्सवादी हौँ भन्नेहरुले भन्दा अब्बल माक्र्सवाद आत्मसात् गर्नुभयो । लाग्छ, माक्र्सवादी चिन्तकहरुले पनि उहाँको विचार, व्यवहार र चिन्तनबाट धेरै सिक्न सक्छन् । उहाँ चाहे बनारसमा विपी कोइरालाको साथ र संगतसँगै तरुण पत्रिकाको सम्पादकका रुपमा होस् या उहाँलाई क्यान्सरले गालिरहँदा नैै किन नहोस्, बाल्यकालदेखि वृद्धसम्म नै प्राज्ञिक चिन्तनमा रमाउनुभयो । त्यसैले उहाँ प्राज्ञिकदेखि श्रमिकसम्म सबै क्षेत्र र वर्गका जनताका मन मस्तिष्कमा बस्न सक्नुभयो ।

मन्त्री या पदमा पुगेका र पदमा पुगेर ठूलो धनराशि आर्जन गरेकालाई मात्र राजनीतिक सफलता नमान्ने हो भने प्रदीप गिरी नेपालका एक सफल राजनीतिज्ञको नाम हो । किनभने उहाँको राजनीतिक चिन्तन र व्यवहार सबै क्षेत्र र वर्गका नेपालीसामु लोकप्रिय छ र यसको आयतन कुनै निश्चित विचारधाराको घेराभन्दा निकै फराकिलो छ । त्यसैले त उहाँको स्वास्थ्यलाभको कामनादेखि आज उहाँको निधनसम्म आइपुग्दा सामाजिक सञ्जाल होस कि समाजका विभिन्न पेशा, व्यवसाय या विचारधाराभन्दा बाहिर निस्किएर सारा नेपालीले उहाँप्रति श्रद्धा व्यक्त गरिरहेका छन् ।

देशमा अहिले अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूको पनि उहाँप्रति उत्तिकै सम्मान देखिन्छ । त्यसैले प्रदीप गिरी नाम यतिखेर नेपाली राजनीतिको एक विशेष र विशिष्ट स्वरुपको मानकका रुपमा स्थापित हुन पुगेको छ । सधैँ युवा र यही वर्गप्रति भरोसा राख्ने उहाँको विचारलाई अहिलेको हर दलको युवा पिँढीले पछ्याउन सक्यो भने यही हतियारले हिजोआजकोजस्तो राजनीतिलाई प्रदीप गिरीको वैचारिक उचाइसम्म पु¥याउन सक्छ ।

उहाँले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै बीपीको संगत पाउनुभएका उहाँले विपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अडिग रही राजनीतिक सङ्घर्ष जारी राख्ने क्रममा पटक पटक गरेर करिब चार वर्ष जेल जीवन बिताउनुभयो ।

विसं २०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गर्नुभएका उहाँ कांग्रेसमा समावेशीकरणका पक्षधर हुनुहुन्थ्यो । उहाँले नै कांग्रेस पार्टीले ‘जमदम’ को नीति लिनुपर्ने भनी प्रस्तुत गर्नुभएको थियो । उहाँ कार्यक्रमलाई ज– जनजाति, म– महिला, द– दलित र म– मधेसी भनी अथ्र्याउनुहुन्थ्यो । पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सक्यो भने मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने तर्क उहाँ बारम्बार गर्नुहुन्थ्यो ।

राष्ट्र«पति विद्यादेवी भण्डारीले गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभयो ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो ।’’ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई नेपाली राजनीतिका एक चिन्तनशील राजनीतिकर्मी भन्नुभएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गिरीलाई नेपाली राजनीतिका अग्ला व्यक्तित्व र समाजवादी चिन्तक भन्नुभएको छ । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप गिरीले पु¥याउनुभएको योगदानको जति नै चर्चा गरेपनि अधुरै रहने धारणा राख्नुभएको छ ।

यही निष्ठा र आस्थाको धरोहरका रुपमा रहेका नेता गिरीको क्यान्सर रोगबाट गएराति निधन भएको छ । उहाँको निधनले नेपालको राजनीतिमात्र होइन राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो महसुस गराएको छ । राजनीतिमा पदमात्र ठूलो होइन, नैतिकता र निष्ठा ठूलो हो भन्ने यथार्थ उहाँको निधनप्रति देशले व्यक्त गरेको यो भावनाले पनि अभिव्यक्त गर्दछ । उहाँको यो निष्ठालाई जोगाइराख्नु अहिलेका राजनीतिकर्मीको दायित्व पनि हो ।

]गिरी नेपालका राजनीतिक नेता भन्दा बढी चिन्तक एवं दार्शनिक हुनुहुन्थ्यो । भनिन्छ, दार्शनिक एवं चिन्तकको भौतिक शरीर मात्र नष्ट हुन्छ तर उनीहरु मर्दैनन् । उनीहरुका चिन्तन, दर्शन एवं सिद्धान्त युगयुगसम्म जीवन्त रहन्छन् । त्यसैले त माक्र्सवाद अहिले कम्युनिष्टभन्दा बाहिरको घेरामा फैलिँदो छ । विपी कोइरालाका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिलेको नेपाली राजनीतिमा सबै विचारधाराको साझा विचार बनिरहेको छ । त्यसैले सर्जकहरु मर्दैनन् बरु चोला फेर्दछन् भनिएको हो । प्रदीप गिरीको भौतिक शरीरले यो भौतिक दुनियाँबाट विदा लिए पनि उहाँको विचारले थप युग सुहाउँदो विजारोपण गर्दै जानेछ । उहाँ आफ्ना विचार र निष्ठासहित नेपाली माटोमा सदा जिवितै रहनुहुनेछ । हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी । रासस