विराटनगर । विराटनगरस्थित नेपाल आयल निगम डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ ।
आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको बताइएको छ ।
चोरीको आरोपमा ट्यांकरसहित एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका यावदमाथि अनुसन्धान जारी राखेको छ ।
ट्यांकर चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।
राति करिब १ बजे चोरी भएको ट्यांकर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर पुगेको थियो ।
यादव निगमका पूर्व चालक रहेको र केही महिना अघि उनले जागिर छाडेको खुल्नमा आएको छ ।