काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् ।
अध्यक्ष दाहालले सामाजिक सन्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको छ । वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।’
पेरु क्रान्तिका नेता गोन्जालोको ८६ वर्षको उमेरमा जेलमै रहेको अवस्थामा निधन भएको हो ।
सन् १९९२ देखि जेलमा रहेका उनलाई आतंक फैलाएको आरोपमा सरकारले आजीवन कारावासको सजाय दिएको थियो ।
दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।
सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परेका थिए । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजाय सुनाइयो ।