२५ भाद्र २०८३, बिहीबार
,
Latest
विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धानमूलक उच्च शिक्षामा जोड दिइनुपर्छ : राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, “विश्वविद्यालयले निरन्तर शैक्षिक जनशक्ति उत्पादन गरिरहेकै छन् । समाज र राष्ट्रको आवश्यकता पूरा गर्न त्यो जनशक्तिले कुनै न कुनै रूपमा योगदान गरिरहेकै छ । यद्यपि आवश्यकता र उत्पादनबीचमा सामञ्जस्यको अभाव पनि देखिँदै गएको छ ।”

राष्ट्रपति भवन शीतल निवासमा आज विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा पदाधिकारीसँगको भेटका अवसरमा राष्ट्रपतिले विज्ञान र प्रविधिले ल्याएको विश्वव्यापी परिवर्तनका कारण हाम्रा आवश्यकता र समस्या पनि रूपान्तरण भइरहेको सन्दर्भमा परिवर्तनको यो वेगलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने चुनौती हामी समक्ष उभिएको बताउनुभयो । उहाँले समयको यस रूपान्तरणकारी गतिलाई पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्ने उल्लेख गर्नुभयो ।

प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिले ज्ञान उत्पादनमा उल्लेख्य योगदान पु¥याउँदै आएको तथ्य पेश गर्दै राष्ट्रपतिले भन्नुभयो, “जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो । शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश यहीँबाट फैलाए । इतिहास, गणित र पुरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदूषिहरू यही भूमिले जन्माएको छ ।”

उहाँले इतिहास र सभ्यताको यस बिरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहको बीचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीसँगसँगै अगाडि बढ्ने किसिमको हुनु जरुरी देखिन्छ भन्नुभयो ।

सामाजिक आर्थिक विकास प्रक्रियालाई तीव्रता दिइरहँदा राष्ट्रिय सुरक्षा, देशप्रेम र राष्ट्रियताको भावनालाई अभिवृद्धि गर्ने विषयमा विश्वविद्यालयले ठोस योगदान गर्न सक्ने उल्लेख गर्दै उहाँले यसका लागि सरकारका नीति निर्णय गर्ने निकाय र विश्वविद्यालयका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो, “राज्यले शिक्षामा लगानी बढाउनुपर्छ भन्ने विषयमा आमसहमति नै भएको मलाई लाग्दछ । शिक्षामा लगानी बढाउनुभनेको युवामा लगानी बढाउनु हो । जसले भविष्यमा मुलुकको नेतृत्व र जिम्मेवारी बहन गर्नेछन् । त्यसैले राज्यले प्रत्येक वर्षको बजेट तर्जूमा गर्दा उच्च शिक्षा, अनुसन्धान तथा विकासमा पर्याप्त बजेट विनियोजन गर्नुपर्दछ ।”  

मुलुकमा विश्वविद्यालयको सङ्ख्या बढिरहेको सन्दर्भमा विश्वविद्यालयबीच आवश्यक समन्वय र सहकार्य अभिवृद्धि हुन सके प्राज्ञिक उन्नयनमा मद्दत पुग्दछ भन्ने आफूलाई लागेको उहाँको भनाइ छ । उच्च शिक्षाका आधारका रूपमा रहेका विद्यालय शिक्षाको गुणस्तर बढाउनका लागि विश्वविद्यालयको भूमिका हुनुपर्ने राष्ट्रपतिको जोड छ । राष्ट्रपतिले  विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई पलायन हुनबाट रोकेर उनीहरूले आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमै सदुपयोग गर्न उपयुक्त वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।