२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध रहेको पृथ्वीराजमार्गको सडक छेउको भित्ता काट्न सुरु



अ+ अ-

दमौली । पृथ्वीराजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि भित्ता काट्न सुरु गरिएको छ । यातायात सुचारु गराउनका लागि सडक छेउको भित्ता काट्न सुरु गरिएको हो ।

निरन्तर वर्षाका कारण आज बिहान राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । “डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ भन्ने छ”, उहाँले भन्नुभयो, “बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।”

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।

सडक भासिएको ठाउँमा एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

मानवीय क्षति अन्य पनि हुनसक्ने भएकाले खोजीकार्य भइरहेको छ । उक्त ठाउँबाट मोटरसाइकल खसे पनि चालक भने सकुसल भेटिएका थिए । सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ । यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन् ।

आँबुखैरेनी गाउँपालिकाका इञ्जीनियरहरू घटनास्थल पुगेका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुङ्गो लाग्ने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले सडक भासिएको ठाउँमा अवलोकनका लागि प्राविधिक टोली पठाइएको जानकारी दिनुभयो । प्राविधिकको सुझावअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।