४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशको समष्टिगत आर्थिक गतिविधिमा सुधार आयोः राष्ट्र बैंक



गण्डकी प्रदेश
अ+ अ-

काठमाडौंः पर्यटन क्षेत्रको प्रचूर संभावना रहेको गण्डकी प्रदेशमा कृषि, उद्योग, यातायात र पर्यटन लगायतका क्षेत्रको समष्टिगत आर्थिक गतिविधिमा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा (साउनदेखि पुससम्म) गरेको स्थलगत र गैरस्थलगत अध्ययनले कोरोना महामारीबाट सिर्जित समस्या क्रमशः न्यून हुँदै गएको देखिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाको अध्ययनबाट उक्त निचोड निस्किएको बैंकको भनाई छ ।

कृषि क्षेत्र

आर्थिक वर्ष २०७८/७९ को प्रथम अर्धवार्षिक अवधिमा गण्डकी प्रदेशका ११ जिल्लाहरुमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ३.८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा धान, मकै, कोदो, र तेलहनले ढाकेको क्षेत्रफलमा वृद्धि भएकोछ भने आलु, उखु, भटमास र दलहन खेती गरिएको क्षेत्रफल घटेको छ ।

त्यसैगरी, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ४.६ प्रतिशतले घटेकोछ भने फलफूल तथा मसलाबालीले ढाकेको क्षेत्रफल ३.७ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये स्याउ, केरा र सुन्तला खेती गरिएको क्षेत्रफलमा क्रमशः ५.८ प्रतिशत, ३.६ प्रतिशत र ३.४ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा फापर (८.५ प्रतिशत), मकै (५.१ प्रतिशत), धान (२.३ प्रतिशत), कोदो (२ प्रतिशत), तेलहन (१.५ प्रतिशत), उखु (०.८ प्रतिशत) र आलु (०.२ प्रतिशत) को उत्पादन बढेको छ भने भटमास र दलहनको उत्पादनमा भने केही ह्रास आएको छ ।

पशुजन्य उत्पादनतर्फ; अण्डाको उत्पादन १५.२ प्रतिशत, माछाको उत्पादन १.४ प्रतिशत, मासुको उत्पादन ०.४ प्रतिशत र दुधको उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादन ३८.६ प्रतिशतले वृद्धि भएको छ ।

२०७८ पुष मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु.२९ अर्ब ५४ करोड कर्जा लगानी गरेका छन् जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.४ प्रतिशत हुन आउँछ ।

उद्योग क्षेत्र

समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ४२.७ प्रतिशत रहेको छ ।

औद्योगिक उत्पादनतर्फ तोरीको तेल, विस्कुट, चुरोट, औषधि र सिमेन्टको उत्पादनमा वृद्धि भएको छ भने दुध, चक्लेट, चाउचाउ, वियर र इट्टाको उत्पादनमा ह्रास आएको छ ।

२०७८ पुष मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १४.५ प्रतिशत अर्थात् रू. ५० अर्ब ९२ करोड कर्जा रकम औद्योगिक क्षेत्रमा लगानी गरेका छन् ।

सेवा क्षेत्र

२०७८ पुष मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २०७८ असार मसान्तको तुलनामा १.८ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ७५ अर्ब ३ करोड पुगेको छ । कुल कर्जा प्रवाह भने ११.१ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५० अर्ब ७४ करोड पुगेको छ ।

पूर्वाधार क्षेत्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिव ९१ प्रतिशत सम्पन्न भएको छ ।

मध्य पहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डको करिब १११ कि.मि. सडक निर्माणमध्ये ५६ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको करिब २४५ कि.मि.मध्ये ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

यस प्रदेशमा ४६ जलविद्युत् आयोजनाहरुबाट ५९३ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपालको कुल जलविद्युत् उत्पादनमा यस प्रदेशको योगदान २८.२ प्रतिशत रहेकोछ । गण्डकी प्रदेशमा हाल ७३७ मेगावाट क्षमताका ३६ जलविद्युत् आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।