१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई दुःख हैरानी र चरित्र हत्या गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई दुःख हैरानी र चरित्र हत्या गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटस्थित दुर्गाभवानीपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय कृष्णकुमार यादव रहेका छन् । उनी प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दी भएका प्रहरी जवानसमेत हुन् ।

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपात्य हुने अन्तरङ्ग तस्बिरहरु सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुकलगायतमा पोष्ट गर्ने, धाक धम्की दिई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेइज्जत गराई चरित्र हत्यासमेत हुने कार्य गरेकाले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

त्यसैगरी सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्बिरहरु आफन्त र साथीभाईलाई पठाई चरित्र हत्या गर्ने कार्य गरेका हाल सुनसरीस्थित धरान उपमहानगरपालिका–३ मा अस्थायी बसोबास गर्ने ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासिमलाई सोही ऐनअन्तर्गत पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रहरीले दुवैलाई जिल्ला अदालत काठमाडौँबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।