
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
सोमबार संसद भवनअघिको मुल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताउनु भयो । उहाँले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ नभएको स्पष्ट पार्नु भयो ।
क्याप्टेन थापाले भन्नुभयो, ‘यो भित्र इँट्टाका टुक्रा, कागज र प्लाष्टिक थिए । यो मात्र डराउन र तर्साउनका लागि राखिएको थियो । अरु केही पनि थिएन । डराउने नियतका साथ राखिएको हो ।’
हिजो (आईतवार) संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहत अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका थिए ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।