१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने



अ+ अ-

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ ।

नेपालमा जारी कोभिड–१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीले गरेको हो ।

एएडीबीद्वारा बुधवार प्रकाशित ‘एशियन डेभलपमेण्ट आउटलुक २०२१’ मा वर्ष २०२१ मा २ दशमलव ३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको छ । तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो । एडीबीले गत अप्रिलमा यो वर्ष ३ दशमलव १ प्रतिशत र २०२२ मा ५ दशमलव १ प्रतिशत आर्थिक वृद्धि प्राप्त हुने प्रक्षेपण गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ ।

‘हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,’ एडीबीका नेपाल निर्देशक अरनौड काउचोइसले भने, ‘कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरूका कारण २०२१ मा क्रमिक आर्थिक सुधार बढाउन सक्छ ।’

प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषिक्षेत्रमा वृद्धि हुने सम्भावना छ । उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्धि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।

स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरू र प्रभावित व्यवसायहरूका लागि सहुलियत प्रदान गरिएकाले अर्थतन्त्रमा सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरूका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरू बढेकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने औंल्याइएको छ । ‘ट्रेकिङ रूट र आरोहण खुलेसँगै विदेशी पर्यटक आवागमन बढ्न सक्छ, जुन २०२० मा ८० प्रतिशतले घट्न पुगेको थियो । यद्यपि, होटल, रेस्टुराँ, यात्रा र पर्यटन कोभिड–१९ महामाारीको पूर्वअवस्थामा फर्कन केही समय लाग्नेछ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०२२ मा मूल्य वृद्धि ५ दशमलव २ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३ दशमलव ६ प्रतिशत अनुमान गरिएको थियो । विश्वव्यापी तेलको उच्च मूल्य वृद्धि र आन्तरिक मागमा क्रमिक सुधारका कारण मूल्य वृद्धि बढ्न सक्ने अनुमान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।