२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकै बालीमा फौजी किराको प्रकोपले किसान चिन्तित



अ+ अ-

पाल्पा । रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने उहाँको गुनासो छ । कृषक श्रेष्ठ भन्नुहुन्छ, “करिब छ रोपनी जमिनमा मकैखेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना गर्छ ।”

किराले सताएर मकैबाली नै सखापै पार्ने अवस्थामा रहेको कालिका कृषक समूहका अध्यक्ष कृष्ण राना बताउनुहुन्छ । करिब तीन हप्ताअघिदेखि मकैमा किरा लागेर डाँठ, पात र गुभो खाएर बाली नै जोगाउनै मुस्किल परेको र बाली जोगाउन विषादी छर्कने गरे पनि नियन्त्रण भइनसकेको उहाँको गुनासो छ ।फौजी किराको प्रकोपले सताएर कार्यालयमा आउने किसानलाई प्राविधिक सेवा र ‘इमामेक्टिन बेन्जोएट’ नामक विषादी निःशुल्क उपलब्ध गराउँदै आएको बताउनुहुन्छ, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय । यहाँका विभिन्न ठाउँमा किराको प्रकोप बढिरहेको हुँदा दैनिकजसो कार्यालयमा समस्या लिएर किसान आउने गरेको उहाँको भनाइ छ ।

रम्भा गाउँपालिका–१ सघाहका कृषक टङ्कराज कडरिया अघिल्लो वर्षभन्दा बढी मात्रामा यस वर्ष मकैमा किरा देखिन थालेको छ भन्नुहुन्छ । करिब दश रोपनी जग्गामा मकैबाली लगाउनुभएका उहाँ वर्षेनी मकैखेती दुःखसँग गरेको खेतीमा किराको असरले उत्पादन घट्ने हुँदा आफूहरु मारमा परेको बताउनुहुन्छ ।मकैमा फौजी किरा लाग्न थालेपछि किसानको मिहेनत खेर जाने अगुवा कृषक ऋषिराम अर्याल बताउनुहुन्छ । बोट उम्रन थालेदेखि नै किराले आक्रमण गरेर समस्या पार्ने भएकाले बाली नै जोगाउन सकस पर्ने उहाँको भनाइ छ । “दुःख गरेर गरेको खेतीबाट उत्पादन लिन नपाउँदा किसानलाई ठूलो मार परेको छ, रम्भाको सघाहामा धेरै किसानका खेतमा लगाइएका मकैमा किराको आक्रमण छ, पानी नपरेका समय किराले बढी मात्रामा सताउँछ भने आकाशबाट पानी पर्दा केही कम हुन्छ, किराको प्रकोपले सताउन थालेकाले सूर्यमुखी खेती सुरु गरेको छु”, अर्याल भन्नुहुन्छ ।

मकैखेतीका अलवा अन्य बालीमा पनि फौजी किराको प्रकोप देखिन थालेको छ । महामारी भएमा कार्यालयले आकस्मिक र स्थलगत रूपमा सेवा दिने कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “अहिलेसम्म ज्ञान केन्द्रमा फौजी किराको प्रकोपबारे जानकारी आएको छैन, समस्या देखिएपछि किसान आ–आफ्नो पालिकाको कृषि कार्यालयमा पुग्नुभएको खबर भने हामीलाई प्राप्त छ, महामारीकै रूपमा प्रकोप देखिएमा कार्यालयले जुनसुकै समय पनि सेवा दिनेछ, अहिलेको मौसम सुक्खा हँुदा प्रकोप फैलिन सक्ने भएकाले सबै किसान सर्तक रहनुहोला”, उहाँ जोड दिनुहुन्छ ।

अघिल्लो वर्षजस्तै मकैखेतीमा फौजी किराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोट सखाप भएको किसानले बताएका छन् । यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ । किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।

साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म विभिन्न प्रकारका किराहरूले आक्रमण गर्दछन् । यस किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति गर्दछ । गुभोमा काठको धुलोजस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजी किराको लार्भा देखिन्छ । ती लार्भा धेरै खन्चुवा हुन्छ । मकै लगाएको आठदेखि १० दिनमै यसले क्षति गर्ने भएकाले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् । बालीमा रोग लाग्न नदिनका लागि माटोमा पहिले नै विषादी छर्नुपर्दछ । खेताबारीमा पानी जमेमा किरा नलाग्ने प्राविधिकको भनाइ छ । यदि मकैमा किराले आक्रमण गरे त्यसको नियन्त्रणका लागि ‘इमामेक्टिन बेन्जोएट’ ०.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ । रासस