२३ पुष २०८१, मंगलवार
,
Latest
सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त खुम्बु क्षेत्रमा उडान गर्न पाइने एमाले केन्द्रीय कमिटीले पारित गरेका यी हुन् १४ प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रीय कमिटीले पारित गरेको यस्तो छ १६ बुँदे प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावितः अध्यक्ष दाहाल कर छुटसहित २८ खेलाडीले पाए एक करोड नगद पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’ : नवनिर्वाचित प्रमुख गिरी



अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ ।

बिहीबार सम्पन्न मतगणनामा सो नगरपालिकाको प्रमुख पदमा घनश्याम गिरी १५ हजार ४७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सो नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख गिरीलाई निर्वाचन अधिकृत सिर्जना थपलियाले प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा निर्वाचन अधिकृत थपलियाले वडाध्यक्षसहित अन्य सदस्यलाई पनि निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित प्रमुख गिरीले आफ्नो पहिलो कार्यकालमा अधुरा रहेका विकासका योजना पूरा गर्दै ‘उत्पादन रोजगार र बजारीकरण : प्रविधियुक्त सुशासन’ भन्ने नाराका साथ नयाँ काम थालनी गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म राजनीतिक सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा काम गर्नेछु, मलाई अमूल्य मत दिइ दोस्रो कार्यकालका लागि पुनःप्रमुख पदमा निर्वाचित गर्नुहुने नगरवासीलाई धन्यवाद दिन्छु, नगरवासीको सुझाव, सल्लाह र भावनानुसार अगामी विकासका काम गर्नेछु ।”

सो अवसरमा निर्वाचन अधिकृत थपलियाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मीलगायत नगरवासीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा चन्द्रागिरिका कार्यकारी अधिकृत नीरज पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कर्मचारीका तर्फबाट साथ र सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित गिरी कांग्रेसका तर्फबाट पुनःप्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो भने वडा नं १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल हुनुहुन्छ ।

यसैगरी नेकपा (एमाले) का तर्फबाट उपप्रमुखमा वसन्ती श्रेष्ठ निर्वाचित हुनुभएको छ । सो पार्टीका तर्फबाट वडाध्यक्षमा वडा नं ६ मा सञ्जय सिग्देल, वडा नं १० मा शिवकुमार महर्जन, वडा नं १२ न्हुच्छेबहादुर महर्जन र वडा नं १४ मा राजभाइ महर्जन निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट वडा नं २ मा भाइकृष्ण तामाङ र वडा नं ५ मा राजेन्द्र महर्जन निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकामा यस पटकको निर्वाचनमा ३६ हजार ७१२ ले मतदान गरेका थिए । यसपटकको निर्वाचनमा २२ मतदानस्थल र ५६ मतदान केन्द्र तोकिएको थियो ।