२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगिता



अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाउँदा यो वर्ष कान्छी गाउँ विजयी भएको छ ।

करिब चार सयवर्ष पुरानो इतिहास बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामवासीले निरन्तरता दिएका हुन् । विशेष गरी प्रकृति पूजाको रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गो जुधाउने गरिन्छ ।

दग्नामको भूमे पूजाको मुख्य आकर्षणको रुपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउँदै आएका छन् । प्रकृतिको पूजास्वरुप मङ्गलबार दग्नाममा भूमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानीयवासीले मुल्का डाँडामा ध्वजापतकाले सिगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएको एकता क्लब दग्नामका अध्यक्ष आर्मिन पुर्जाले बताउनुभयो ।

उहाँले भूमे पूजाको दोस्रो दिन पुख्यौली नृत्य तेस्रो दिन सांस्कृतिक कार्यक्रम र त्यस पश्चात विविध खेलकूद कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामवासीलगायत अन्य छिमेकीगाउँका सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।

स्थानीय पुख्र्यौली गित, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवकाबीच स्थानीयवासीले बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले जानकारी दिनुभयो ।

“यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गो जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागिरहन्छौँ’’, उहाँले भन्नुभयो, “पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रुपमा लिङ्गो जुधाउने गरिएको छ ।”

जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनामा वर्षभरिको खेतीबाली राम्रो होस्, बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस्, स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पूर्खौदेखि भूमे देवताको पूजा गर्दै आएका छन् ।