• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

स्थानीयवासीको अवरोधका कारण फोहर व्यवस्थापनमा समस्या



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या भएको छ ।

यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहर राख्न नदिएपछि काठमाडौँका प्रत्येक चोकमा फोहरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ ।

काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा सङ्कलन भएको फोहर टेकुको ट्रान्सफरस्टेसनमा राख्ने र त्यहाँबाट क्रमिकरुपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ । लामो समयसम्म टेकुमा फोहर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन् ।

यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो । यसअघि पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्रै ४२ दिन फोहरको व्यवस्थापन हुन सकेको थिएन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ ।