• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान



काठमाडौं । निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।  आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो संख्या बढ्न सक्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताउनु भयो ।

उहाँले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले यसमा बढोत्तरी हुनसक्ने बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताउनु भयो । उहाँले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताउनु भयो । उहाँले अहिलेसम्मको तथ्यांकअनुसार १८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले विश्वास लिएको छ । आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरु पनि भए ।

यसको कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाकाबाबजुद अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ । राजनीतिक दल राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद सानो विषयमा पनि झाँगिदै जाने र अन्ततो गत्वा त्यसले उग्ररुप लिएको स्थितिका कारण केही ठाउँहरुको प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था र अलिकति आज मौसमको प्रतिकुलताका कारण केही स्थानीय तहमा सबै मतदाताहरुले सहभागी हुन नसकेको स्थिति यी स्थानमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन स्थगन गर्नुभएको छ ।

स्थगन गरेका मतदान केन्द्रहरुमा हामीले सम्बन्धित निर्वाच्न अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा हामी छिटै पुनः मतदानको प्रारम्भ गर्नेगरी आवश्यक तयारी गरिरहेका छौँ । प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएका जिल्लाहरुमा भोलि नै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । शान्तिपूर्ण रुपमा मतदान भएको स्थानबाट अहिले सबै मतपेटिका सील गरेर सम्बन्धित प्रतिनिधिहरुसहित क्रमशः निर्वाचन अधिकृतको कार्यालयतिर ढुवानी गर्ने प्रक्रिया प्रारम्भ भएको छ भने केही ठाउँमा मतगणना जारी रहेको छ ।

आज यसबेलासम्म ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । यसमा बढोत्तरी पनि हुनेछ । निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ । यसका कारणहरु पहिल्याउन बाँकी नै छ । कारण केहीमा भने जहाँ धेरै मतदाता हुनुहुन्थ्यो, काठमाडौं महानगरपालिकाको मतदानको स्थिति शान्तिपूर्ण र सहज हुँदा हुँदै पनि ५२ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ । यो सन्तोषजनक छैन । अहिलेसम्मको तथ्यांकअनुसार १८ वटा मतदान स्थलमा मतदान स्थगन भएको छ, एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने आयोगले अनुमान गरेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरुको व्यवस्थाको बारेमा चिन्तित र संशंकीत भएको बताउनु भयो ।