• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’



तस्बिर: प्रदिपराज वन्त/रासस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताउनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दशौँ पूर्ण बैठकमा उहाँले विगतका नीति तथा कार्यक्रम र बजेटबाट शिक्षा लिँदै आगामी आवको नीति कार्यक्रम र बजेटलाई अघि बढाइने बताउनुभयो ।
“उत्पीडित, गरिबलाई कसरी उकास्न सक्छौँ, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ”, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै माओवादीका मुख्य सचेतक हितराज पाण्डेले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचकमा सबैभन्दा पछाडि परेका वर्ग तथा क्षेत्रलाई कसरी राज्यको मूलप्रवाहमा ल्याउन सकिन्छ भन्नेबारेमा पनि सुझाव दिन आग्रह गर्नुभएको थियो ।
बैठकमा संसदीय दलका नेता दाहालले अहिलेको नीति तथा कार्यक्रम र बजेट कसरी अघि बढ्छ र त्यसका लागि के–के गर्नुपर्छ, सरकारले कसरी सोचिरहेको छ भन्नेबारेमा निर्देश गर्नुभएको मुख्य सचेतक पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले अर्थमन्त्रीसहित माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई दलका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदसँग अन्तरक्रियासहित सुझाव लिन निर्देशन दिनुभएको थियो ।
“मधेस (हुलाकी राजमार्ग आसपासका क्षेत्र), कर्णाली, दलित, उत्पीडित जातिलगायतलाई उकास्ने गरी सुझावलाई केन्द्रित गरिदिनुहोस्”, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड पुग्ने गरी नीति कार्यक्रम र बजेटमा सुझाव दिन आग्रह गर्नुभयो । विभिन्न क्षेत्रका विज्ञ तथा जनताको बीचमा प्राप्त सुझावलाई पार्टीका माध्यमबाट सरकारसमक्ष पुर्याउन अनुरोध गर्नुभयो ।
बैठकमा सांसदहरुले जनतामा विश्वास पैदा गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभएको थियो । “अहिलेको आर्थिक अवस्था, स्रोतको अपर्याप्तता र जनताको अपेक्षालगायत बारेमा सांसदले सुझाव दिनुभएको छ”, उहाँले भन्नुभयो ।
मुख्य सचेतक पाण्डेले यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को चौथो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने, विधेयकलाई विषयगत समितिबाट पारित गर्न जोड दिने बैठकको निर्णय रहेको जानकारी दिनुभयो । संसद्लाई बिनाअवरोध सञ्चालन गर्न सत्ता साझेदार दलसँग पनि छलफल गरिने जानकारी दिँदै उहाँले प्रमुख प्रतिपक्षी र विपक्षी दलसँगको छलफलबाट निष्कर्षमा पुगिने बताउनुभयो ।