• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

सिर्जना सिंहः महानगरलाई महाघर बनाउँदै कलंकलाई झुटो प्रमाणित गर्ने अवसर



सिर्जना सिंह, पछिल्लो समय पार्टी राजनीतिबाट टाढा थिइन् । उनी पारिवारिक व्यवधानका कारण राजनीतिमा रहेपनि पार्टी राजनीतिको उचाइ र पदमा भने पुगिनन् र रहेको पनि पाइँदैन ।

हुनतः उनका श्रीमान प्रकाशमान सिंह लामो समय यता पार्टी राजनीतिमा सक्रिय छन् । नेपाली काँग्रेसको महामन्त्रीसमेत बनिसकेका सिंह नेपाली काँग्रेसभित्र राम्रो छवि बनाएका नेतामा गनिन्छन् । पारिवारिक राजनीतिक विरासतलाई धान्दै र जोगाउँदै आएका उनले अहिलेसम्म पार्टीको नेतृत्व गर्न भने सकेका छैनन् । नेता सिंह नेपाली काँग्रेसका संस्थापक सदस्यमध्येका एक गणेशमान सिंह र मंगलादेवी सिंहका पुत्र हुन् । अहिले उनै प्रकाशमानकी श्रीमती सिर्जना सिंह सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार छिन् ।

 

यसो भनिरहँदा सिर्जना सिंहको परिचय पारिवारिक पृष्ठभूमिसँग जोडिन्छ नै । हुनतः नेपाली समाजमा परिवारमा रहेका मध्ये स्थापित नामबाट नै सपरिवारको चिनारी हुन्छ । तर सिर्जना सिंहको परिचय गणेशमान सिंह, मंगलादेवी सिंह र प्रकाशमान सिंहमा मात्रै सिमित छैन । सिर्जना श्रेष्ठ गोरखामा जन्मिएकी थिइन् । गोरखाबाट सानै उमेरदेखि राजनीतिक यात्रा शुरु गरेको उनले विभिन्न सार्वजनिक कार्यक्रममा बताइसकेकी छिन् । उनीसँग बि.सं. २०३६ सालमा नै महिला बहुदल प्रचारप्रसार समिति गोरखाको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ ।

त्यसैले पनि सहजै भन्न सकिन्छ गणेशमान सिंहको परिवारमा नाता जोडिनुअघि नै उनको राजनीतिक यात्रा शुरु भएको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसले उनलाई काठमाडौं महानगरको प्रमुखमा उठाएको छ । तर उनलाई काठमाडौं महानगरको प्रमुखमा जित्न भने त्यति सहज देखिँदैन । किनभने उनीसँग प्रतिष्पर्धामा रहेका नेकपा एमालेका नेता केशव स्थापित उनीभन्दा अनुभवी र काठमाडौंवासीमा बढी परिचित छन् ।

तर गठबन्धनले महिला नेतृलाई प्रमुख दाबेदार बनाइरहँदा त्यसको हिसाव पनि महानगरवासीले गरेकै हुनुपर्छ । साथै स्थानीय जनप्रतिनिधिहरुले गरेका प्रतिवद्धता विगत ५ वर्षमा पूरा गर्न नसक्नुले पनि मतदाताहरु नयाँ अनुहारलाई स्थान दिन लालयित देखिन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले आफूले मेयरमा जित्ने पक्कापक्की जस्तै भएको बताउनु भयो ।

उहाँलाई घरदैलो कार्यक्रममा पाएको आश्वासनले गर्दा आधा चुनावी लडाइँ जितेको महशुस भएको छ । उहाँले नेपाली काँग्रेस आफैँमा पुरानो पार्टी भएकोले पुरानो पार्टीले महिलालाई विश्वास गरेर प्रमुख पदमा उठाउनु नै सम्पूर्ण नेपालीहरुको जित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, हामीले सोचेको जस्तो काठमाडौं बन्ने भयो भनेर सबैजना उत्साहीत हुनुहुन्छ । म अहिले हिँड्दा सबैले साथ दिनुभएको छ, सबै खुशी हुनुहुन्छ । काठमाडौंवासी फोहोरबाट आजित भएका छौँ अब केही हुन्छ कि भन्नुहुन्छ ।

मैले जितिसकेको जस्तो अनुभव भएको छ । अब आधा लडाइँ मात्रै लड्न बाँकी छ । वैशाख ३० गते । नेपाली काँग्रेस जस्तो पुरानो पार्टीले महिलालाई मेयरमा अघि सारेको छ, यो भनेको सम्पूर्ण महिला दिदिबहिनीहरुको जित हो जस्तो लागेको छ ।’

मेयरकी उम्मेदवार सिंहले आफू घरदैलो कार्यक्रममा जाँदा महानगरवासीको ठूलो अपेक्षा नरहेको बताउनु भयो । महानगरवासीले धुवाँ/धुलो, ढल, पानी, फोहोर, बत्ती र स्वास्थ्य सेवा, ट्राफिक व्यवस्थापन लगायतका साधारण माग गरेको बताउनु भयो । आफू मेयरमा विजयी भएपछि बेरोजगारलाई रोजगार, ज्येष्ठ नागरिकलाई स्वासथ्योपचादेखि रमाइलो गर्ने ठाउँ र खुल्ला ठाउँहरु बनाउने सपनालाई साकार पार्ने प्रतिवद्धता गर्नुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले महानगरमा जितेपछि व्यवस्थापनलाई चुनौति ठानेर त्यसको व्यवस्थापनलाई जोड दिने बताउनु भयो । विगतका राम्रा कामलाई निरन्तरता र अव्यवस्थित शहरलाई व्यवस्थित र स्वच्छ बनाउने संकल्पसहित आफू चुनावमा होमिएको बताउनु भयो ।

मेयरकी प्रत्यासी सिंहले भन्नुभयो, ‘मतदाताहरुको ठूलो अपेक्षा छैन । उहाँहरुले सानोतिनो अपेक्षा राख्नुभएको छ । फोहोरको व्यवस्थापन, सडकको, खाल्डाखुल्डी, धुलोरहीत, प्रदूषण कम हुने, ट्राफिकको अस्तव्यस्त, पानी धारामा आइदेओस्, ढलको व्यवस्थापन, नदीनाला सफा होस्, उहाँहरुको बेसिक त्यही छ ।

कति महिला दिदिबहिनीहरु बेरोजगार हुनुहुन्छ । ज्येष्ठ नागरिकलाई स्वासथ्योपचादेखि रमाइलो गर्ने ठाउँ चाहिएको छ । खुल्ला ठाउँहरु पार्कआदि बनिदेओस् भन्ने छ । ठूला अपेक्षा के गर्नुभएको छैन । मैले महानगरको जिम्मेवारी पाएपछि यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौति देखेको छु । मैले यसलाई चुनौतिको रुपमा लिएकी छु । काम गरेर देखउँछु भन्ने विश्वास छ । पहिलाकोले के गर्नूभयो के भएन भन्दापनि उहाँले गर्नुभएका राम्रा चिजहरुलाई निरन्तरता दिनेछु । अरु अस्तव्यस्त केही भएको छैन नि काठमाडौं त यसलाई चुनौतिको रुपमा लिएर काम गरेर देखाउँछु ।’

आफू मेयर भएपछि पार्टीको घोषणा पत्र र आफ्नो संकल्प पत्रमा टेकेर काम गर्ने उहाँको चाहना छ । उहाँले गणेशमान परिवारसँग जोडिएरै महानगरको प्रमुखमा उठाइएको भन्ने कुरा आफूमा कुनै हालतमा लागू नहुने बताउनु भयो । आफूले १७ वर्षको उमेरमा नै विभिन्न राजनीतिक कार्यक्रमहरुको अगुवाइ गरेको र प्रजातन्त्रका लागि सहभागी बनेको र जेल जीवन पनि भोगिसकेकोले बिना तथ्य र झुटो आरोप लगाउने काम अन्य राजनीतिक दलका नेताहरुले गरेको उल्लेख गर्नुभयो ।

उम्मेदवार सिंहले आफ्नो परिवारले आजसम्म भ्रष्टाचार र सामाजिक विचलनका काम नगरेकोसमेत दाबी गर्नुभयो । राजनीतिक गतिविधमा बाहिरी रुपमा सक्रिय नभए पनि २०३६ साल यता नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकारमा रहेको बताउनु भयो ।

मेयरकी उम्मेदवार सिंहले भन्नुभयो, ‘महानगरका काम कारबाहीलाई अघि बढाउन पार्टीको घोषणापत्र छ, साथै मेरो पनि संकल्प पत्र छ । त्यो घोषणामा टकेर काम गर्छु । त्यसलाई अघि बढाउन मैले जनाएका प्रतिवद्धता सबै काठमाडौं महानगरवासीको अगाडि राखिसकेको छु, त्यसलाई अगाडि बढाउँछु ।

मैले विवाह हुनपूर्व नै राजनीति शुरु गरेकी थिएँ । देशको लागि प्रजातन्त्र ल्याउनको लागि जुलुसको नेतृत्व गर्दै, पुलिसको लाठी खाँदै हिरासतमा बसिसकेको छु । यतातिर जोडेर मलाई हेर्न सुहाउँदैन । तर मलाई त्यो परिवारको सदस्य हुनुमा गर्व छ ।

किनभने उहाँहरुले देशको लागि रैतिबाट नागरिक बनाउन पहल गर्नुभयो । मेरो परिवारले यो देशमा कहिल्यै पनि भ्रष्टाचार गरेका छैन । मेरो परिवारले आजसम्म यो देशमा सामाजिक विचलन आउने काम गरेको छैन । मलाई विरासतको जुन आरोप लगाइएको छ त्यो मेरो बारेमा मिल्छ जस्तो लाग्दैन । मैले पद नलिकन, पार्टीको काम गरिरहेकी छु । म २०३६ सालमा नै महिला बहुदल प्रचारप्रसार समितिको जिल्ला अध्यक्ष भएर गोराखा जिल्ला हाँकेको मान्छे हो । आजको दिनसम्म म नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकार नै छु । मेरो आफ्नै योगदान छ ।’

उहाँका अनुसार सिंह परिवारलाई अधिकांश काठमाडौंवासीले विश्वास गर्छन् । त्यसैले पनि यसपटक महानगरको मेयरमा आफू विजयी बन्नेमा शंका नरहेको बताउनु भयो । न्युज एजेन्सीसँग कुरा गर्दै उहाँले देशको राजधानीमा अझै पनि राम्रो स्वास्थ्य सेवा पुग्न नसकेको गुनासो गर्नुभयो ।

आफू मेयर भएपछिका दिनमा प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र खोलेर सामान्य उपचार वडाबाट नै गराउने, ज्येष्ठ नागरिक, बेसहाराहरुका लागि प्रत्येक वडामा डाक्टर र नर्स राख्ने, तत्काल राहत र उद्धार गर्ने टोली बनाएर महानगरवासीको सेवा गर्ने घोषणा गर्नुभयो ।

‘मेरो परिवार काठमाडौंका सबैले विश्वास गर्ने परिवार हो । काठमाडौं मेरो घर हो । म यहाँको रितिस्थिति, बाजागाजा, चालचलन, सभ्यता सबैसँग परिचित छु । राजधानी भनेर के गर्नु अझै पनि राम्रो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यसैले म प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र खोलेर सामान्य उपचार वडाबाट नै गराउनेछु ।’

उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक, बेसहाराहरुका लागि प्रत्येक वडामा डाक्टर र नर्स राख्नेछु । त्यति मात्रै होइन, क्विक रेस्पोन्स टिम राख्छु । त्यसले अपारधजन्य घटनाहरु पनि वडामा हुन नदिने र फोहोरहरु फाल्नेलाई तत्काल कारबाही गर्ने योजना बनाएको छु ।’

गठबन्धनबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवार दिएकी सिर्जनलाई जित्नभने भनेजति सहज छैन । किनभने यसअघि नेकपा एमालेको तर्फबाट विद्यासुन्दर शाक्यले महानगरमा जित निकालेको विगतलाई बिर्सन मिल्दैन । त्यसमा पनि अहिले एमालेले मेयरमा अब्बल काम गरेर नाम स्थापित गराएका स्थापितलाई उम्मेदवार बनाएको छ । साथै सिंह आफैँमा अनुभवरहीत उम्मेदवार हुन् ।

त्यसमा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा प्रतिष्पर्धा गरेका प्रकाशमान सिंहले अन्तिममा काँग्रेस सभापति शेरबहादुर देउवालाई गरेको समर्थनले पनि कतिपय महानगरवासी काँग्रेसीहरु नेता सिंहसँग रुष्ट देखिन्छन् । त्यसको असर पनि सिर्जना सिंहमा पर्ने देखिन्छ ।

यदी महानगरमा जित निकालेको खण्डमा पनि उनले अघिल्ला सरकारले गरेका कामहरुबाट असन्तुष्ट नागरिकलाई सन्तुष्ट बनाइ काठमाडौं महानगरमा देखिएका समस्याको समाधान गर्नुपर्ने चुनौति छ । साथै पारिवारिक विरासतबाट आएको भन्ने आफूमाथि लगाइएको कलंकलाई चिर्न र महिलाहरुले स्थान पाए काम गरेर देखाउँछन् भन्ने कुराको प्रमाणित गर्दै यसअघिका जनप्रतिनिधिहरुले दुःखाएको सर्वसाधारणको मनलाई मल्हम लगाउनु पर्नेहुन्छ ।

त्यसमा सिंह खरो उत्रिएर आफूलाई सक्षम र अब्बल साबित गर्नेछिन् वा पुरानै राजनीतिकर्मीहरुको वाचा र प्रतिवद्धतालाई निरन्तरता दिनेछिन् त्यो भविष्यको गर्भमा नै सिमित छ ।