१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमाध्यममा आचारसंहिता पालनाका लागि आयोगको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा कतिपय सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाविपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेकाले यो वा त्यो पक्षको जित वा हार निश्चित भन्ने आशयले पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन प्रचारप्रसारका क्रममा रहेका केही दल र उम्मेदवारलाई मात्रै स्थान दिइ समान अवसरबाट वञ्चित गर्ने, अन्तर्वार्ता लिने क्रममा मुख्य उम्मेदवार भनेर आफूखुशी कसैलाई बढावा गर्ने वा कोही उम्मेदवारलाई कमजोर उम्मेदवार भनेर चित्रण गर्ने, कतिपय सञ्चारमाध्यमले मतदताहरूसँग अन्तर्वार्ता लिने क्रममा ‘कसलाई मतदान गर्नुहुन्छ ?’ भनी उत्तर दिन बाध्य पार्ने तथा कतिपय अनलाइन सञ्चारमाध्यममा उम्मेदवार हरूबारे पक्ष वा विपक्षमा तथ्यहीन र आचारसंहिताविपरीतका समाचार सम्प्रेषण गराई त्यसलाई सामाजिक सञ्जालका विभिन्न खाता प्रयोग गरी बुष्ट् (स्पोन्सर) गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका दृष्टिले सबै उम्मेदवार जनताका अगाडि समान हैसियतप्राप्त हुनुहुन्छ र कुनै पनि मतदाताको मतदान गर्न पाउने गोपनीयता र स्वतन्त्रताको हकविरुद्धको कार्य कहीँ कतैबाट हुन हुँदैन भन्नेमा आयोगको दृढ धारणा रहेको छ ।’

निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ७ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको व्यवस्थाहरू गरिएको छ । सो दफाको (क) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’ उल्लेख गरिएको छ भने परिच्छेद ४ को दफा १४ मा सञ्चारमाध्यमको प्रयोग गर्दा राजनीतिक दल, उम्मेदवार र भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरणका व्यवस्थाहरु गरिएको सन्दर्भमा आचारसंहिता विपरीत सामग्री प्रकाशन र प्रसारण गर्ने केही सञ्चारमाध्यमविरुद्ध परेको उजुरी र जानकारीका आधारमा आयोगले स्पष्टीकरण जवाफ माग गरेको छ भने सञ्चारमाध्यममा आचारसंहिताको पालनाबारे प्रेस काउन्सिल नेपालको सहयोगमा नियमित अगुगमन भइरहेको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आयोग सबै सञ्चारमाध्यम र पत्रकारलाई आयोगले पुनः आग्रह गरेको छ । आयोगले आचारसंहिताविपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सकिने जनाएको छ ।