१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दावा ग्याल्मो : एउटा युगान्तकारी स्वर



अ+ अ-

दावा ग्याल्मोका वारेमा मैले भनेका कुरा र मेरा वारेमा दावा ग्याल्मको वारेमा भनेका कुरा यसपालि बजारमा भाइरल नै भयो । गायक संगीतकार दुर्गा खरेलले गत हप्ता दार्जीलिँगबाट फोनमा कुरा गर्दा मसँग भनेका यी कुराकानीको भविष्यमा आफ्नै रचना गर्भ बन्ला वा नबन्ला तर हो , के भने दुर्गा खरेल र दावा ग्याल्मोको सांगीतिक यात्रा नै एक अनौठो मोडमा शुरु भयो ।

दावा ग्याल्मो र दुर्गा खरेलको सांगीतिक स्कुल नै मानिन्थ्यो , दार्जलिङको हिमालय कला मन्दिर ।

हिमालय कला मन्दिरमा यी दुईका गुरु थिए , गोपाल योञ्जन । योञ्जनको स्कुल अफ थट बाट हुर्केका यी दुई स्वर सारथिले गोपाल योञ्जन नेपाल पसे पछि वा भारतीय नेपालीबाट नेपाली मात्र भएपछि दावा र दुर्गाले आफ्नै धरातलबाट संघर्ष शुरु गर्नु पर्यो ।

भारतीय नेपालीको मार्मिक संघर्ष स्थल नै मानिन्छ , दार्जलिङ । पश्चिम बंगालको सानो पहाडी राज्य दार्जलिङ जो लामो समय देखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचिमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो त्यसमा कैँयौको हार कैँयौको जीत त भयो नै । तर दार्जलिङको आफ्नो लडाइँमा अहिले सम्म नेपालीको हार नै भएको छ , गोर्खाल्याण्डको मागमा ।

गोर्खाल्याण्ड भनेर चिनिने दार्जलिङबाट एक समय अम्बर गुरुँग सपरिवार नेपाल लागे ।

अर्को समय गीतकार कवि नगेन्द्र थापाको आग्रहमा गोपाल योञ्जन नेपाल आए ।

बाँकी रहेका , शान्ति ठटाल, कर्म योञ्जन अनि मणीकमल छेत्रीले आआफ्नो कित्तामा उभिएर दार्जीलिँग भित्र र दार्जीलिँग वरपर बसेर संगीत गरे ।

बाँकी केही नाम जो आए र गए पनि ।

जब दार्जलिङ ब्युँझियो

दार्जलिङबाट एकसेएक गीत जब बने ती सबै स्रष्टा साधक नेपाल वा भारतको मुम्बई तिर तानिए । प्रसिद्ध बँगाली पत्रकार सुधेन्दु रायले भनेका छन् ,

दार्जलिङका कलाकारलाई कि रक्सीले लान्छ

कि नेपालले तान्छ ।

यो भनाई शतप्रतिशत सही पनि नहोला ,अधिकांश गलत पनि नहोला तर अर्थ बुझ्दा आज यो केही हद ठीक नै सावित भएको छ ।

दार्जलिङमा गोरखाल्याण्डको आन्दोलन चले पछि , अझ बढी आन्दोलन चर्के पछि बहुतायत संस्कृतिकर्मी त्यहाँको लडाइँलाई वीचैमा छोडेर अन्यत्र पलायन भए ।

भाषा आन्दोलनमा सक्रिय कवि नाटककार पी अर्जुन र उनका समकालीन नाटककार कवि गीतकार मनवहादुर मुखिया नेपाल पसे । त्यसपछिका एक पुस्ता अहिले काठमान्डूमा सक्रिय छन् । कोही सिलगुडी झरे , कोही सिक्किम गए , कोही कलकत्तामा थात थलो बनाउन गए । तर हिमालय कला मन्दिरलाई आफ्नो स्कुल मान्ने दुर्गा खरेल आफ्नो दाजुसित मिलेर बद्री दुर्गा खरेल का नाउँबाट संगीत गर्न थाले ।

बद्री दुर्गा खरेलकै संगीतमा पहिलो पटक गायिका दावा ग्याल्मो चम्किइन् , नर्देन रुम्बाको शब्दमा

शुभकामना खालि खालि दिनेलाई दानी भनेर

जाँदैछु आज आँचल भरि मायाको निशानी बोकेर …

दावाले गाएको यो गीत पिटर चेँगको नाटक म मरेपछि को लागि रेकर्ड गरिएको हो तर यो गीतले यस्तो धूम मच्चायो । बद्री दुर्गाको संगीतलाई उनका अग्रज संगीतकार कर्म योञ्जनले समेत नेपालीमा बनेका एकसयय एक गीत मध्ये यो गीत दशभित्र पर्दछ ।

कवि गीतकार नर्देन रुम्बाका धेरै चर्चित गीत मध्ये यो गीतले तीसको दशमा यी तीनैलाई चिनायो ।

दावा ग्याल्मोलाई एक्कासि नेपाली संगीतमा असाध्य राम्रो गायिका भनेर ठोकुवा गरियो । यस गीतकारवारे संगीतकार कर्म योञ्जनले यस्तो सम्म भने , रेकर्डिँगको हिसाबले यो एकदम पावरफुल गीत हो । दुर्गाहरुले मिहेनत पनि गज्जबै गरेका छन् , यस्तो गीत हत्तपत्त बन्दैन । यो तिनीहरुको पनि भाग्य हो ।

संगीतकार योञ्जन स्वयम्ले पनि गीतकार रुम्बाका गीतमा संगीत गरेका छन् भने उनले गायिका दावालाई चलचित्र जार मा गाउन पनि लगाएका छन् तर गायकीको हिसाबले दावाको यसमा जुन प्रयोग भएकोछ त्यसमा योञ्जन व्यापक खुशी थिए ।

गायिका दावाको तारिफ गर्दै एकपटक संगीतकार शान्ति ठटालले बागीना मा लेखेकी थिइन् , नेपाली संगीत आकाशमा तीन गायिका प्रति म एकदम आशावादी छु … मीरा राणा , किड्डी भुटिया र दावा ग्याल्मो । यी तीनैजनाको आवाज दुर्लभ आवाज मध्ये हो । किड्डीले त गाउनै छोडी तर मीरा र दावा मलाई असाध्य मनपर्छ ।

संगीतकार ठटालले यो लेख लेखेको दशवर्ष पछि दावा पनि विस्तारै नेपाली जनस्थानमा उच्चाकर्षण बोक्दै आइन् ।

मायालुले सम्झे कि कसो ?

गायनमा आफ्नो अलग्गै पहिचान बनाउँदै आएकी दावाले तीस दशकको वीचमा काठमान्डू आउँदा रेडियो नेपालमा एउटा युगल गीत गाइन् ,

मायालुले सम्झे कि कसो

बाडुली लाग्यो नि लौ मलाई …

गीतमा मलाई भनिएको भए पनि दावाले आफू भन्दा पछिल्लो पुस्ताकी अनुज गायिका डेजी बराइलीसित यो गीत गाइन् । भैँसी लड्यो है माया गाएर लोकप्रिय भएकी डेजी यस गीतमा दावासित खूब जमिन् ।

दावा र डेजी दार्जीलिँग फर्केर गएपछि उनीहरुलाई बाडुली क्वीन भनेर जिस्काउन थाले । जतै हिँड्दा पनि यो गीतको मुखडाको लाइन गाएर ठिटाहरुले उनीहरुले जिस्काउने , लखेट्ने गर्न थाले पछि गीतको चर्चा बढ्दै गयो ।

संगीतकार शान्ति ठटालले आफ्नी भाउज्यू शशि ठटालले लेखेको यो गीत आफू र अरुणा लामाले गाउने भनेर थाँति राखेको तर अचानक दावाले रेकर्ड गरेको कारणले तिक्तता पोखेको पनि बताइन् । तर यो गीतको भाग्य नै त्यही थियो , दावाले नै गाउनु पर्ने ।

दावाको यस समय अन्य गीतहरु पनि धमाधम रेडियो नेपाल र आकाशवाणी खरसांगमा रेकर्ड हुँदै बजार पिटीरहेका थिए ।

बद्री दुर्गा खरेलको संगीतमै जस योञ्जन प्यासीको शब्दमा उनको अर्को गीत टप लिस्टमा आइसकेको थियो ,

अमृत भनी वीष पिलायौ तर म मरिनँ …

गीतकार जस योञ्जन नेपाली भाषामा कमै गीत लेखेर सर्वाधिक चर्चित हुने गीतकार मध्ये हुन् , उनको गीत बोलाउ भने तिमीलाई बात लाग्ने डर … खरेल बन्धुले हिट बनाइसकेका थिए यो वेला ।

दावाको भागमा परेको अमृत भनी … गीत शायद कमै यस्ता गीत मध्ये हुन् जसलाई त्यसवेला गजल शैलीको गीत भनेर मान्छेले सर्काए तर दावाको गायकी देखेर यसपटक पनि मान्छे झुक्किए ।

संगीतकार ठटालले भनेजस्तै विरलकोटिका गायिका दावाले तीस सालको हाराहारिमा गोपाल योञ्जनको संगीतमा यमन रागमा आधारित मलाई रुखो सहानुभूति नदेऊ…. गाएपछि दावा ग्याल्मोको स्वरको गहना टाढैबाट चिनिने भयो ।

गोपाल योञ्जनकै संगीतमा फेरि दावाले अर्को ह्याट्रीक गरिन् , युगल गीत गाएर । त्यो युगल गीतबाट फेरि दावा र डेजी एकपटक अक्कासिए …

फूलको डाली उचाली पिचाली पिहु पिहु

वनकी चरी सानी , नचाऊ मलाई पनि

तिमी जस्तै छमछमी ….

यही गीतबाट आजका चर्चित अभिनेत्री मिथिला शर्माको रंगमञ्चयिक यात्रा शिखरोन्मुख भयो , यही गीतबा नेपाली आधुनिक संगीतमा महिलाका युगल गीतको नयाँ अभिलेखीकरण शुरु भयो भन्दा हुन्छ ।

गायनका हिसाबले दावको स्वर अन्य नेपाली गायिका तारादेवी , दिलमाया खाति , अरुणा लामा वा अन्य कसैसित कसैगरी मिल्दैन । उनको आवाजलाई सुनेर उनका अनन्य प्रशसंक पूर्व राजदूत नोबेल किशोर राईले भनेका छन् ,

साह्रै मदमस्त आवाज हो तिनको । प्रेम सुब्बाले के भन्छ थाहा छैन तर म त उनको आवाजलाई हस्की भ्वाइस भन्छु । …

राई र उनका दामल प्रेम सुब्बा दावाका भुतुक्कै फ्यान हुन् ।

 एक्लो विजेताको अनौठो यात्रा

रेडियो नेपालले आफ्नो वार्षिकौत्सवमा हरेक वर्ष गर्ने आधुनिक गायनको प्रतियोगितामा तारादेवी , कमला श्रेष्ठ, मीरा राणा , सुशीला सुब्बा आदि क्रमसँगै महिला गायनमा सर्वोत्कृष्ट हुँदै अगि बढिरहेका थिए । त्यही क्रममा दावाले विक्रमाव्द २०३० मा रेडियो नेपालमा सर्वोत्कृष्ट गायिकाको पुरस्कार पाइन् ।

मनवहादुर गुरुँगको शब्द अशोक राईको संगीतमा …

गीताँगे दाइ गाई देऊ गीत पहाडे भएर ।।

यो गीत दावाको परिचय मात्र भएन विशिष्ट परिचय बन्यो ।

अम्बर गुरुँगका समकालीन संगीतकार राईसित दावाले सहकार्य मात्र गर्न पाइनन् , त्यसपछि राईसित सहवीर लकान्द्रीको शब्दमा युगल गीत पनि गाउन पाइन् । दावा ती भाग्यमानी गायिका मध्ये हुन् जसले राईसित युगल गीत गाउने मौका पाइन् । यद्यपि दावाले यसअगि नाटक अनि देवराली रुन्छ मा दुर्गा खरेलसित देवरालीका ठिटी हो नक्कल पार्नु पर्दैन … गाइसकेकी थिइन् भने मितज्यू नाइट मा गायक नारायणगोपालसित जीवनको हरेक मोडमा तिमीले मलाई खोज गाइसकेकी थिइन् ।

गोपाल योञ्जनकै शब्द संगीतमा दुर्गा खरेलसित गाएको युगल गीत नानी तिमी बोली राम्रो , बोली भन्दा जीऊडाल राम्रो … जस्तो नृत्यप्रधान गीत पनि गाएर आफ्नो गायकी देखाइसकेकी थिइन् ।

गीतसंगीतमा आफ्नो रिमार्केवल अवस्थिति हुँदा हुँदै एकदिन अचानक दावा ग्याल्मो सारा कुरा तत्स्थानमा छोडेर नेपथ्यमा हराइन् ।

दावा छ , छैन गीतमा उनको कमव्याक् हुने हो वा नहुने , केही निश्चित निक्र्यौल नभइ उनी अलप भइन् ।

कर्म योञ्जनले उनका निम्ति बनाएका एकसेएक गीतमा अरुको आवाज भरियो वा अरुको आवाजमा गीत भरियो । चलचित्रका गीतमा दावाको ठाउँमा नयाँ स्वर देखा परे । दावा पछिका गायिकाहरु डेजी बराइली, सुक्मीत गुरुँग, विमला सिन्च्युरी प्रधान, कुन्ति सुन्दास ( मोक्तान) , रिमला मोक्तान, मनिला लामा ( सोताँग) , लोचन भट्टराई, देविका प्रधान छाउँदै गए ।

दावाले आफ्ना लागि बनेका कर्म योञ्जनका गीत एउटा खुल्ला किताब हुँ म, तिमीले पनि खेलाउने उसले पनि खेलाउने जस्ता गीत डेजी बराइलीको आवाजमा सुन्न पर्यो । दिव्य खालिँगको शब्द संगीतको पहाड जस्तो बनिदेऊ तिमी … कुन्ति मोक्तानले फिल अप गरिसकेकी थिई ।

गायनमा चरम समय हुँदा हुँदै दावा ब्रिटीश लाहुरे रोहित देवानसित विहेवारी गरी हँगकंगमा गुप्तवासमा थिई । विस्तारै हंगकंगस्थित बीएफएवीएस रेडियोमा कार्यक्रम सञ्चालक हुँदै उनी पुनः विद्युतीय तरंगमा देखा परिन् । बीएफएवीएस रेडियो उनी सुवास प्रधान, मथुरा श्रेष्ठ प्रधान अनि आशवहादुर गुरुँगका साथ फेरि झुल्किइन् ।

करीब डेढ दशकको यो अन्तरालमा उनी आशवहादुर गुरुँगका केही गीतमा फेरि गुञ्जिइन् , सन् २००५ को हाराहारिमा । यो उनको गीत थियो ,

मेरो यो सानो संसार म ठूलो बनाउन चाहन्नँ …

एक छोरी र एक छोराका जिम्मेवार आमा बनिसकेकी दावाले आफ्नो गायनलाई पुनः शुरुवात गरिन् , संगम नामक् अल्बमबाट । यसमा उनले संगीतकार शान्ति ठटाल, कर्म योञ्जन, बसन्त छेत्री , दीप वाइबा, बद्री दुर्गा खरेल, सचिन सिंह, प्रदीप छेत्री जीवन प्रकाश प्रधान , सहदेव चाम्लिँग आदिका गीत गाइन् ।

संगम भन्दा पहिले उनको एउटा अल्बम म्युजिक नेपालले नवरंग नामबाट प्रकाशन गरिसकेको थियो जसमा कमल गुरुँगको शब्द र बद्री दुर्गा खरेलको संगीतमा उनी सजिएकी थिइन् ।

दावा लाई उनको यो कम व्याक्मा सबभन्दा पहिला साथ दियो , पोखरास्थित हार्मोनी द मोडर्न सँग्स्ट्रेस अफ पोखराले । यो संस्थाले दावालाई पोखरामा भव्य सम्मान गरेपछि उनी फेरि एकपटक नजीकका मान्छेको आँखामा परिन् र विस्तारै टाढाका स्वजनले पनि उनलाई इशारा गर्न थाले ।

पोखराको हार्मोनीले सम्मान गरे लगत्तै उनी दार्जीलिँगमा देवकोटा संघद्धारा अरुणा लामा संगीत पुरस्कारवाट सम्मानित भइन् । अनि भर्खरै यसै वर्ष कोरोनाकाल हुँदै भीम विराग संगीत प्रतिष्ठानबाट एक लाख धनराशिको विजुली माया वन श्रेष्ठ पुरस्कारबाट पनि पुरस्कृत भइन् , गीतसंगीतका निम्ति दिइने सबैभन्दा ठूलो धनराशिको यो पुरस्कार विगत १२ वर्ष देखि दिइँदै आएको हो । यसअगि यो पुरस्कार अम्बर गुरुँग , प्रेमध्वज प्रधान, शान्ति ठटाल, फत्तेमान राजभण्डारी , कर्म योञ्जन, चेतन कार्की , मीरा राणा आदिले ग्रहण गरिसकेका छन् भने दावाकै समकालीन दीप श्रेष्ठ, भक्तराज आचार्य, प्रकाश श्रेष्ठ आदिले पनि पाइसकेका छन् ।

गायिका दावा बाह्रौँ नम्बर परेकी छिन् ।

उनको गायनलाई सहर्ष स्वीकारिँदै छ ।

नेपाल कनेक्शन

एक गायिकाको रुपमा दावाको गायन आफ्नै सानुबुबा बहादुर लामाको प्रेरणाबाट शुरु भयो ।

करीब पचास वर्ष अगि नेपाली जनसमाजमा नेपाल आइडियल वा ट्यालेन्ट हन्ट नभएका वेला जसरी नेपाली गायक गायिका भानु जयन्तीबाट आफ्नो क्यारिअर शुरु गर्थे ,गायिका दावाले पनि त्यसरी नै शुरु गरिन् आफ्ना गुरुआमा शान्ति ठटालले जस्तै । आवाजमा मौलिकता उनमा छँदैथियो खास जरुरी थियो उनलाई स्वर साधना र स्थायीत्वको जुन उनले हिमालय कलामन्दिरमा सिके ।

त्यतिवेला ट्यालेन्ट हन्ट वा अडिशन नभए पनि रेडियो नेपालबाट प्रतिभा खोज्न केही संगीतकर्मी भारतको असम हुँदै दार्जीलिँग पुगे र तिनैले दार्जीलिँगको भेलामा दावा लगायत अन्य कलाकारलाई पनि नेपाल निम्त्याए ।

राजाको जन्मोत्सवमा गीत गाउन दावा आफ्ना साथी संगातिसित नेपाल आइन् र गाइन् , पहिलो गीत तेजेन्द्र गुरुँगको शब्द र बसन्त छेत्रीको संगीतमा ः

रात गहिरिँदै जान्छ,

कल्पनाको सागरमा माया धेरै हुन्छ …

यो गीत वाहेक दावाले जिन्दगीका मायाहरु पनि त्यही वेला गाइन् । बसन्त छेत्रीको पनि पहिलो रेकर्डिँग र दावाको पनि पहिलो गीतले बजारमा नयाँ आकृति कोर्यो , आवाजमा नयाँ ढप त छँदै थियो तर त्यतिवेलाका युवालाई झुम्म पार्ने आवाज बन्यो । गीतकार राजेन्द्र थापाको भनाईमा दावाको आवाज नेपालीमा विरलै पाइने आवाज त हो तर त्यतिवेलाका युवाको निम्ति प्यासन नै थियो ।

दावाको दोस्रो गीत जब आयो शहर बजारमा दावालाई नसोध्ने र नचिन्ते मान्छे भएनन् । गीत फेरि बसन्त छेत्रीकै संगीतमा थियो किरण ठकुरीको शब्दमा ,

शहरभित्र के को हल्ला

मेरो मायालु आउने वेलामा

पाउने छैनौ अँध्यारो खोस्न

सपनीमा आउने वेलामा

किरण ठकुरी यही गीतबाट चिनिए , बसन्त छेत्रीले आफूलाई रिफर्म गरे । दावा शहरभरि चर्चाको विषय बनिन् ।

यही गीत गाउन दावा जामा लगाएर नारायणघाट पुगिन् , नारायणगोपाल, गोपाल योञ्जन, दुर्गा खरेल आदिका साथ ।

२०३३ सालमा गाएको यो गीत यसपालि दोस्रो पटक नारायण घाटको नारायणी कला मन्दिरमा गाउँदा इतिहास फेरि दोहोरियो । नारायणी कला मन्दिर बनाउन जग निर्माण गर्न गएका वेला गएकी दावा यसपालि जाँदा उनलाई पहिलो पटक देख्ने सबैको आँखामा पावरदार चश्मा र हातमा लौरो झुण्डिसकेको थियो ।

नारायणी कला मन्दिरले उनको सम्मान गर्दै गर्दा त्यहाँ बोलिरहेका थिए, वरिष्ठ गीतकार प्रेमविनोद नन्दन, गायक संगीतकार प्रसाद श्रेष्ठ, त्यतिवेलाका कार्यक्रम सञ्चालिका गायत्री श्रेष्ठ अनि अन्य धेरै । युवा संगीतकार सहन प्रधान , अमर प्रधान , उद्धव जोशीले पुराना कुरा गर्दै गर्दा दावा भावुक भइन् भने प्रेमविनोद नन्दले यो भेटलाई सपना भनूँ कि विपना भनेर भावविभोर भए ।

यसपालि दावा नारायणी कला मन्दिर हेर्न पुग्दा पहिले उनका साथ जाने कोही थिएनन् , केवल सम्झना मात्रै थियो तिनको । न नारायणगोपाल न गोपाल योञ्जन ?

दावाको गीत शहरभित्र नारायणी कला मन्दिरमा पहिलो पटक गुञ्जिएको सत्य हो तर त्यो गीत गाएर यात्रा शुरु गर्ने कैँयौ गायक गायिका पनि त्यहीँ थिए ।

दावाको नेपाल कनेक्शनमा नारायणी कला मन्दिरको अमूल्य योगदान सम्झिँदै वरिष्ठ गायक प्रसाद श्रेष्ठले सो सभामा भने , यसको श्रेय नारायणगोपाललाई जान्छ तर नारायणीको जगको इँटा थप्नमा दावाजी जस्ता कलाकारको पनि हात छ ।

दावाको नेपाल कनेक्शन फेरि पछि गएर पलेँटी शृँखलामा दोहोरियो भने पोखराको हार्मोनीलाई पोखरा बोलाएर सम्मान गरेपछि यो कनेक्शन दाहोरिँदै छ । हार्मोनीबाट शान्ति ठटाल, मीरा राणा, ज्ञानु राणा , बाबा राणा पछि उनको सम्मान भएको हो ।

नेपाली सुगम संगीतमा दावाको स्वरको पार्थक्यता खोज्ने हो भने हामी ठीक शान्ति ठटाल र सुक्मीत गुरुँगको आवाजको वीचमा उनको आवाजको मिश्रणलाई पाउँछौ ।

तामाँग परिवारमा जन्मेकी दावाको स्वरोच्चारण झन्डै झन्डै नेपाली मातृभाषी क्षेत्री ब्राम्हणको भन्दा फरक छैन त्यसैले त मेचीपारिबाट माधव घिमिरेको गीत गाउने पहिलो गायिका पनि उनी नै भइन् ,

सय र पत्री फूलै र फुल्यो बाबाको बारीमा …

यो गीत उनले अशोक राईको संगीतमा गाएकी थिइन् । यसवाहेक दावा ग्याल्मोले दीप श्रेष्ठसित दीप श्रेष्ठकै रचनामा युगल गीत गाइन् भने मधु क्षेत्रीसित पनि एउटा युगल गीत गाइन् । संयोगले यी दुवै गायकको हिट युगल गीतमै पर्छ ।

दावाले विरलै चर्चामा आउने संगीतकार धनञ्जय थापाको रचना र संगीतमा गाएको एउटा गीत छ ,

आँखाभित्र लुकाइ दिउँ झै लाग्छ

मायालु तिम्रो मुहार

आँखामा लुकाउँ कि मनमा सजाउँ कि

तिमीलाई …

कुमार सुब्बा, दीप श्रेष्ठ, दुर्गा खरेल, डेजी बराइली , मधु क्षेत्री सबैसित युगल गीत गाएकी दावाले आफू पछिको पुस्तासित मिलेर सहकार्य गर्दैछिन् जुन अति स्वागयोग्य छ । उनको साथमा अझै आउँदैछन् , गौतम गजमेर, राजेन्द्र सारा , रमेश गुरुँग, भावेश भुमरी आदि ।

अब पछिल्लो पुस्तामा दावा ग्याल्मो जस्तो गायिका त नहोला तर अब दावा ग्याल्मोले पनि पछिल्लो पुस्तालाई भेट्ने रहर बाँकी नै छ ।

फेरि अन्त्यमा कर्म योञ्जनको शब्द सापटी लिएर भन्नै पर्छ ,

मेरा सबै गीत एकातिर दावा ग्याल्मोको शुभकामना खालि खालि एकातिर …. राखे पनि बराबरै हो ।