• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

जसपाद्वारा पोखरामा गठबन्धनको चुनावी सभा बहिष्कार



पोखरा । सत्ता गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा पोखरामा हुन गइरहेको चुनावी सभालाई गठबन्धन दलकै जनता समाजवादी पार्टी (जसपा)ले भने बहिष्कार गरेको छ ।

सभामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागी छन् ।

गठबन्धनले गरेको सभामा सहभागी नहुनका लागि जनता समाजवादी पार्टीका पोखरा महानगर अध्यक्ष राजु क्षेत्रीले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले गठबन्धनमा सहभागी दलहरूलाई गठबन्धनको सभामा आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा प्रयोग नगर्न चेतावनी समेत पनि दिएका छन् ।

पोखरा महानगरपालिकामा वडा बाँडफाँडको विषयमा विवाद भएपछि जसपा गठबन्धनबाट बाहिरिएको हो ।

सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयर पदमा नेपाली काँग्रेसकी कोपिला रानाभाट रहेकी छिन् ।