• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

रुपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी



रुपन्देही । रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

तिलोत्तमामा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट आशाकुमारी चौधरीले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य रहनुभएकी ४३ वर्षीया उहाँ अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष पनि हुनुहुन्छ । तिलोत्तमा १३ मडहा घर भएकी उहाँ व्यवसायी हुनुहुन्छ ।

विसं २०५६ मा नेकपा (एमाले)को सदस्य बनेर पार्टीमा सक्रिय रहनुभएकी उहाँ पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको हो । उम्मेदवार चौधरीले बेरोजगार युवालाई सीपमूलक तालिमका साथै महिलाको हक र अधिकार र सशक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिनुभयो । उहाँले शिक्षा, रोजगारी र स्वास्थ्यका एजेण्डा लिएर जनतासामु जाने बताउनुभयो ।

यसैगरी लुम्बिनीमा लामो समयदेखि समाजसेवामा सक्रिय रमावती यादवले एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । दयाराम हेल्थ फाउण्डेशनका उपाध्यक्ष रहनुभएकी उहाँले लुम्बिनी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

लुम्बिनी सांस्कृतिक–१ निवासी यादवले सामाजिक सेवामा क्रियाशील रहँदा नागरिकको मनोभावना राम्रोसँग बुझ्ने मौका पाएकाले सोहीअनुसार काम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । महिलामाथिको विभेद अन्त्य, महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गरी भौतिक विकास र मानवीय विकासको सन्तुलन मिलाएर नगरको विकासको योजना लिएर चुनावी मैदानमा गएको प्रतिक्रिया दिनुभयो ।