१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँड प्रति माधब नेपालको असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाउनु भएको छ ।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पार्नु भयो ।

महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाई थियो । उहाँले भन्नु भयो, ‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी÷उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ ।

त्यसैगरी हामीले भनेका थियौ–नेकपा –माओवादी केन्द्र)ले जितेको ठाउँमा सोही पार्टी । नेपाली काँग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादीले जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाउनु भयो । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिँएको उल्लेख गर्दै उहाँले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिनु भयो । अध्यक्ष नेपालेल भन्नु भयो,

‘भोली नोमिनेशन फाईल गर्ने दिन हो । पर्सी पनि नोमिनेशन गर्ने दिन हो । यो दुई दिन राखिएकोमा पनि षडयन्त्र होला । ११ गते नोमिनेशन गर्लान । र, १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिउला भनि सोचेका पनि होलान । अनि आफूले मात्रै त्यस्तो तिकडम गर्न जानेको छ भनि ठानेका होलान । अरुले पनि त्यस्तो तिकडम जानेको छ । केन्द्रबाट पछारिए, प्रदेशबाट पछारिए । राष्ट्रियसभाबाट पछारिए । यसरी पछारिदा पनि अझै होस खुलेको छैन । पहिलो शक्ति हुँ भन्ने दम्भ होला ।’

अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गर्नु भयो ।