‘कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि’ कवि शिरोमणि लेखनाथ पौड्यालले यो कविता रचना गर्दा सायद नेपालको यस्तो दिनको कल्पना गरेका थिएनन् होला जहाँ हामी सुनको भण्डाररुपी प्रकृतिको थूप्रोमा बस्दा समेत चाल नपाएर मगन्ते जीवन बिताइरहेका छौँ ।विश्व इतिहासमा पूरानो अनि गर्विलो इतिहास बोकेको नेपाल र त्यहाँका बासिन्दा हामी नेपाली अहिले सुन ओच्छ्याएर भोको पेट सुत्न बाध्य छौँ । लेखकले सुनको कुरा गर्दा थूप्रैलाई लाग्न सक्छ खानी उत्खनन नगरेर हामी गरिव भएका हौँ । होइन, यसको पूर्ण आसय त्यति गाह्रो पनि होइन ।
हामी त भएका कलासम्पदा, भएका प्राकृतिक सुन्दरताको प्रवद्र्धन, संरक्षण अनि त्यसको सदुपयोग गर्न नसकेर गरिब अझ भनौँ हरिप भएका हौँ ।सामान्यरुपमा आज म एउटा सानो सहरको उदाहरण दिँदैछु जसले ७ वटा घर, ६ सय फिटको नागबेली बाटो, पुलको दृश्य यस्तै बेचेर बर्सेनि करोडौँ पर्यटक भित्र्याउने गरेको छ । यो भन्दै गर्दा सान फ्रान्सिस्कोमा अन्य पर्यटकीय क्षेत्र छैनन् भन्न भने खोजिएको होइन। सुन्दर समुन्द्री तट, डाँडाकाँडा, विश्व प्रख्यात गोल्डेन गेट पुल जस्ता अन्य स्थान पनि यस सहरका मुख्य पर्यटकीय स्थलहरु हुन् ।
हो विकसित देशको सोचाइ, गराइ अनि बुझाइ नै अलग । त्यहाँका नेता अनि कर्मचारीतन्त्र पारदर्शी अनि दूरदर्शी, देश सम्पन्न र सुखी । कुरा गरौँ संयुक्त राज्य अमेरिकाको एक राज्य क्यालिफोर्नियाको प्रख्यात सहर सान फ्रान्सिस्कोको ।
हुन त सान फ्रान्सिस्को विश्व अर्थतन्त्रमा यदि अमेरिकाबाट छुट्टिएर आफ्नै देश बनाउने हो भने पाचौँ धनी देश बन्ने छ । विश्व प्रविधिमा एकछत्र राज गरेका हरेक कम्पनीको मुख्यालय यहीँ रहेको छ । तर पनि यो भन्दा फरक विषयमा केवल घुम्न मात्र आउने पर्यटकहरु भने यहाँ रहेका दर्जन भन्दा कम संख्यामा रहेका अचम्म तर सुन्दा पनि सामान्य लाग्ने विषयले आकर्षित भएर आउने गर्छन् ।
करिब १२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस सहर तीनभागमा पानीले घेरिएको छ । जसले गर्दा १२ महिनानै मौसम चिसो र आनन्दित रहने गर्छ । भेडेटारमा लुटपुटिने हुस्सु जस्तो त कहिले ककनीमा पर्ने पानीको सिमसिम शीतजस्तो । काठमाडौँ जस्तै भूकम्पको जोखिम भए पनि वैज्ञानिक तवरले निर्माण गरिएका दन्तपङ्क्तिजस्ता लहरबद्ध घरहरु अनि सानासाना घुमाउरा बाटो उकाली र ओरालीहरु । करिब ९ लाख मानिसको बसोबास रहेको यो सहरमा १२ महिनानै पर्यटकको आवागमन हुन्छ । कोरोनाको प्रकोप अगाडिको तथ्यांक हेर्ने हो भने सन् २०१८ मा करिब ३ करोड मानिसले यस सानो सहरको भ्रमण गरेका थिए ।
यो सहर हाम्रो काठमाडौँ जिल्लाभन्दा ४ गुणा सानो सहर हो । मुख्य सहरबाट करिब २० मिलोमिटरको दुरीमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट मानिसहरु यहाँ भित्रिने गर्छन् भने रेललगायत अन्य विकल्पबाट पनि पर्यटकहरु भित्रिने गर्छन् ।
नेपालको असन जस्तै २ ओटा गाडी पनि मुस्किलले छिर्ने साना साना बाटोमा यहाँ जमिनबाट गुड्ने केवलकार चढ्न मान्छे घन्टौँ लाइनमा बस्छन् । त्यही बाटोमा नै अन्य सवारी साधनहरु निर्बाध गुड्ने गर्छन् ।
केवलकारको लाइनमा २ देखि ३ घन्टा बसेर पर्यटकहरु अन्त्यमा यस सहरको सानो सानो गल्लीबाट सहरको ऐतिहासिक र कलात्मक घरका तस्विरहरु कैद गर्न लालायित भएको देख्न सकिन्छ । कल्पना गर्नुहोस् त नेपालको काठमाडौँका विश्व सम्पदा सूचीमा रहेका देखि अन्य वास्तुकला, शिल्पकलाले भरिपूर्ण हाम्रा गल्लीहरुमा पर्यटक यसैगरी घुमाउन सक्दा छेवैमा रहेको लाखामरी पसलमा पर्यटक ज्यापु भेषमा सजिएका स्थानीयसँग हाँस्दै गर्दाको दृश्य । फगत यो कल्पना हो । तर कल्पना किन गरिएको भन्दा हाम्रा कलात्मक शैलीहरुको छुट्टै इतिहास छ । हाम्रा ती हस्तनिर्मित सिर्जनाहरुको आफ्नै महत्व छ तर हामी चुकेका छौँ ।
केवलकार जमिनमा गुड्नेभन्दा कतिलाई अचम्म पनि लागेको होला त्यसैले तस्विरमा देखिएको हेर्दा सानो रेल जस्तो देखिनेलाई यहाँ केवलकार भनिन्छ । रेलकै लिगजस्तो भएता पनि मुनि रहने केवल अर्थात फलामको डोरी घुमेर यो साधन गुड्ने गर्दछ । यी केवलकारको सुरुआत आजभन्दा १४९ वर्ष अगाडि भएको हो । १४९ वर्ष पुराना यी सम्पदा अझ पनि लाखौँ पर्यटकको पहिलो कारण हो यस सहर घुम्न आउने ।
अब लागौँ अर्को स्थानतिर, केवलकारबाट ओर्लिने पर्यटक कोही कता लाग्छन् त कोही कता । तर अचम्म त थुप्रै पर्यटक केवल कुनै टेलिश्रृंखला र चलचित्रमा कैदभएका भवनको तस्विर लिन लाग्छन् । त्यसमध्यको एक हुन् फुल हाउस र पेन्टेड लेडिज । सन् १९८० र १९९० को दशकमा प्रस्तुत गरिएको टेलि चलचित्र फूल हाउसमा बाहिरबाट खिचिएको केवल केही सेकेण्डको दृश्यकै भरमा पेन्टेड लेडिज नामक सात घर हेर्न मानिसको ताँती लाग्ने गर्छ । भिक्टोरियन निर्माण शैलीमा निर्माण गरिएका पङ्क्तिबद्ध यी घरहरुलाई सात दिदीबहिनी पनि भन्ने गरिन्छ । र यीनै घर अगाडि उभिएर तस्विर लिन विश्वका थुप्रै कुनाबाट मानिस यहाँ आउने गर्छन् ।
यो टेलिचलचित्र हेर्दै नहेरेका युवापुस्ता पनि केवल यसको अगाडि उभिएर तस्विर लिन भनेरै यहाँ पुग्छन् । त्यसमध्ये एक हुन् इटालीबाट आएका पर्यटक, पेरिल । आफ्नो साथीसँग आएका पेरिल यस भवनको तस्विर लिन कौतुहल रहेको बताउँछन् । यस सहर आउनु अगाडि धेरैले चर्चा गरेको भएकाले टेलिचलचित्र नहेरे पनि घरको कलात्मक र आकर्षक निर्माण शैलीले आफूलाई तानेको उनी बताउँछन् । यी घरहरु सरकारी पनि होइनन्, निजी घरहरु हुन् र बाहिरबाट केवल तस्विर लिन र भिडियो कैद गर्न पाइन्छ भित्र पस्न भने मनाही छ । तर यसै घरहरुले पनि लाखौँ पर्यटक विश्वका विभिन्न कुनाबाट तान्ने गरेको छ ।
सहरका यस्तै अचम्म लाग्दा कारणले पर्यटक तानिन्छन् । अनि कोही लाग्छन विश्वको सबैभन्दा घुमाउरो वा भनौँ नागबेली भनिएको सकड, लम्बार्ड सडकमा । करिब ६ सय फिट लामो नागबेली परेको सडकमा मानिस उभिएर तस्विर कैद गर्न युरोपदेखि अस्ट्रेलिया, अफ्रिकादेखि एसिया हरेक देशका मानिस आउने गर्छन् । छेउ छेउमा रहेका फूलका बगैँचा र बीचमा रहेको बाटो यहाँबाट गाडी गुडाउने र उभिएर तस्विर लिने मानवनिर्मित ६ सय फिट लामो सडकले यस सहरको अर्थतन्त्रमा पुर्याएको योगदान हामी कल्पना पनि गर्न सक्दैनौँ ।
यस्ता सामान्य कुरा भन्दै गर्दा सोच्नुहोस् त हाम्रो नेपालको त्यो अग्ला हिमश्रृंखला र चुचुराहरु ती मनमोहक छाँगा, झरना र ताल तलैयाहरु, ती वन्यजन्तु, चराचुरुङ्गी ती धार्मिक अनि सांस्कृतिक धरोहरहरु । अचम्मको तथ्य म भनिहाल्छु यहाँका नामकरणका बारेमा । उदाहरणका लागि नेपालको चुरे पहाड होस् वा चन्द्रागिरि, हामी हिमाल भन्दैनौँ तर यहाँ केवल २ हजार फिट अग्ला डाँडाको नामको अगाडि माउन्ट अर्थात हिमाल भनिन्छ । जस्तै माउन्ट ट्यामलपाइस, माउन्ट डियाव्लो आदि आदि । तर यीनै नाम मात्रकै हिमाल भए पनि हजारौँ पर्यटक विभिन्न देशबाट झोला तुम्लेट बोकर हाइकिङ गर्न आउँछन् । महंगा साइकल लिएर पाखा पखेरा झर्छन् । हिँड्न सक्नेका लागि एक पूर्वाधार छ भने गाडी रोज्नेका लागि अर्को । आफ्नो क्षमता, उमेर अनुसारको सुविधा । यस्ता पर्यटकबाट मात्रै यस सहरले करिब १ लाख भन्दा बढीलाई रोजगारी दिएको छ भने करिव ११ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान गरेको छ ।
अब यी सबै सोच्दा हामी नेपाली के सुनमाथि सिरानी हालेर भोकै सुतेको होइन रहेछ त ? दूरदर्शी सोच भएका नेता छान्न नसक्दा हामी पिछडिएका होइनौँ त रु माथि दिइएका सामान्य उदाहरण हुन् एउटा सानो सहरको, जसले पर्यटनबाट मनग्य आम्दानी गरिरहेको छ । केवल एक सहर घुम्न आउने पर्यटकले हाम्रोजस्तो सुन्दरता र इतिहासले धनी देशको नाम पनि सुनेका छैनन् ।
यहाँ आउने अर्जेन्टिनाका पेद्रो हुन् वा बेलायतका जोन, चाइनका सि हुन् वा भारतका राहुल थुप्रैलाई नेपाल केवल सगरमाथाको देश हो, केवल अग्ला चुचुरा हुन् र बलियाका निम्ति मात्रै हो भन्ने लाग्छ । कतिलाई त नेपाल कहाँ छ र कस्तो छ योसम्म पनि थाहा छैन । नेपालमा लुकेका र भएका सम्भावना सबै उमेर समूहका पर्यटकका निम्ति हुन् भनेर न हामीले पूर्वाधार निमार्ण गर्न चासो दिएका छौँ न त्यसको प्रवद्र्धनमा नै जोड दिएका छौँ ।
पर्यटकका नाममा चर्को शुल्क त असुलेका छौँ विमानस्थल अध्यागमनमा दुःख त दिएका छौँ तर न त केवल एउटा राम्रो शौचालय बनाउन सकेका छौँ न हरेक उमेर सहूहका पर्यटक मैत्री पूर्वाधार बनाएर अतिथि देवो भवः नै भन्न सकेका छौँ । केवल चुनावी नारा र व्यक्तिवादी सोच मै मस्त अनि मग्न । अनि भएन त कवि शिरोमणीको कविताको अंश जस्तो ।
-पूर्व टेलिभिजन पत्रकार लेखक हाल संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेका छन् ।