• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

मिथिलामा ‘जुडशीतल’ को उमङ्ग



फाइल फोटो

महोत्तरी । नयाँ वर्ष आगमनसँगै सुरु भएको ‘जुडशीतल’ पर्वको तयारीले मिथिलामा उमङ्ग छ । पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) व्यस्त देखिन्छन् ।

विक्रम सम्वत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशीतल’ पर्व मनाइन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वको तयारीमा महोत्तरीसहित मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रमा जताततै बजारु चहलपहल ह्वात्तै बढेको छ । पर्वमा सबै उमङ्गित छन् ।

बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मी समन गर्ने मान्यताभित्र खाइन्छन् । वैशाख सङ्क्रान्ति अर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुुरु हुन्छ । पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, व्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् ।

पहिलो दिन (वैशाख सङ्क्रान्ति) सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व सम्पन्न गरिन्छ । पर्वको दोस्रोे दिन अर्थात् वैशाख २ गते घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यो पर्वमा चना (बदाम)को सातु, दाल, सोहिजन (मुन्गा)को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको छ ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) साथीसङ्गीबीच धुलो, माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार तथा साहित्य साधक महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा नेपाल सरकारका अवकाशप्राप्त उपसचिव महेश्वर रायले बताउनुभयो । पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देस कृषिसँग सम्बन्धित रहेको रायको भनाइ छ ।

पर्वका लागि सामानको जोहो गर्नेहरूको भीडले सबैजसो बजार एकाबिहानै भरिभराउ छन् । बजारमा तरुवा खाइने काँचो केरा, पर्वविशेषको खास तरकारी मुन्गा र जौँको सातु तथा दलहनको वेसन (पीठो) को खुबै बिक्री बढेको व्यापारीले बताएका छन् । त्यसैगरी दही पनि पर्वको खास परिकार भएको हुँदा आम मैथिल दूधको जोहोमा लागेका छन् ।

खासमा दोस्रो दिन हिलो छ्याछ्याप गरेर खेलिने यो पर्व किशोर र युवा वयस्क मैथिलको पर्खाइमा हुन्छ । पछिल्लो समय नयाँ वर्षमा ‘पिकनिक’ (वनभोज) जाने चलन बढ्दै जानुले किशोर र युवाका लागि यो पर्व थप रमाइलो बनेको छ । ‘जुडशीतल’ मिथिलाको सांस्कृतिक पर्व हो । कूलदेवताको पूजाअर्चना गरिने थोरै पर्वमध्ये यो पनि पर्ने पाका मैथिल बताउँछन् ।