२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल महिला र विधुरलाई मासिक भत्ता



अ+ अ-

काभ्रेपलाञ्चोक । यहाँका दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई रु दुई हजारका दरले मासिक भत्ता दिइने जनाएका छन् ।

पनौती नगरपालिकाले मासिक भत्तास्वरुप एकल महिलालाई दिइसकेको छ । पैंतीस वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक रु दुई हजारका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको हो ।

नगरबाट मासिकरुपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । उहाँका अनुसार विभिन्न कारण एकल महिलाका रुपमा रहेका नगरका १९३ महिलालाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो । “दैनिक गुजारा गर्न अप्ठ्यारोमा परेका एकल महिलालाई भत्ता दिन थालेका हौँ”, बञ्जाराले भन्नुभयो ।

पनौतीमा अविवाहित महिला १४९ हुनुहुन्छ भने सम्बन्ध विच्छेद भएका २० र पति बेपत्ता भएका २४ महिला हुनुहुन्छ । वितरित रु दुई हजारले दैनिक गुजारा गर्न सहयोगी बन्ने अपेक्षा गरिएको बञ्जाराले बताउनुभयो । नगर उपप्रमुख बञ्जारा आफैँ अविवाहिता महिला हुनुहुन्छ ।

यस्तै तेमाल गाउँपालिकाले विधुरलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार विधुर भत्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ ।

यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ११० पुरुषले मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन् । “एकल पुरुषलाई पनि सहायता आवश्यक रहेको देखिएपछि यस्तो निर्णय गरेका थियौँ”, पालिका प्रमुख सलामसिंह तामाङले भन्नुभयो । उहाँका अनुसार चैतदेखि भत्ता वितरण गर्ने योजनाअनुसार यही हप्ता भत्ता दिने कार्यक्रम गरिनेछ ।

उक्त गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी बनेको कार्यविधि–२०७८ को दफा ३ बमोजिम भत्ता पाउने भएका हुन् । पत्नी बितेका तथा अविवाहित ६० देखि ७० वर्षसम्मका पुरुषले विधुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिअनुसार यसअघि सम्पूर्ण वडा कार्यालयमार्फत विधुरमा सूचीकृत पुरुषलाई भत्ता वितरण गर्न लागिएको हो । सङ्घीय सरकारले दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ६५ वर्ष नाघेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।