काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज समापन हुँदैछ ।
महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अहिले पार्टीका महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिईरहनु भएको छ ।
यस अघि उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो । त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिनु हुने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूचि छ । त्यसै गरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ । ३ दिनसम्म जारी महाधिवेशन पार्टीका अध्यक्ष ओलीले सम्बोधन गरेपछि समापन हुनेछ । शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गर्नु भएको सो महाधिवेशनमा देशभरका ६ हजार बढि प्रतिनिधिहरु सहभागी रहेका छन ।