काठमाडौं । एसियन टेबल टेनिस युनियन (एटीटीयू) को आइतबार कतारको दोहामा भएको कंग्रेस बैठकले अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको छ । कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटीटीयूको कंग्रेस बैठक पनि बसेको हो ।
त्यस क्रममा बैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् । नेपाल एटीटीयूको संस्थापक सदस्य भएको आधारमा बैद्यलाई एसियाली टेबल टेनिसको यस महत्वपूर्ण पदमा चयन गरिएको हो । दोहामा सेप्टेम्बर २८ देखि अक्टोबर ५ सम्म एसियाली टेबल टेनिस च्याम्पियनसिप पनि भइरहेको छ । बैद्य एटीटीयूको सदस्यमा चयन भएको यो दोस्रो पल्ट हो ।
यस्तै टेबल टेनिस प्रशिक्षक शंकर गौत्तम एटीटीयूको दक्षिण एसियाबाट उपाध्यक्षमा पनि चयन भएका छन् । यस पदका लागि भारत र नेपालका पदाधिकारी चयन भएकोमा गौत्तमले चार वर्षे कार्यकालको दोस्रो दुई वर्ष क्षेत्रीय उपाध्यक्षको यो पद सम्हाल्ने छन् । भारतीय प्रतिनिधिले सुरुआती दुई वर्ष जिम्मेवारी सम्हाल्ने निर्णय बैठकले गरेको हो ।
एटीटीयूको थप तीन कमिटीमा नेपाली प्रतिनिधिको चयन सदस्यका रूपमा भएको छ । त्यस अनुसार एटीटीयू अन्तर्गत रहेको टेक्निकल कमिटीमा तेजेन्द्र हमाल, भेट्रान, एडुकेसन एन्ड ट्रेनिङ कमिटीमा धर्ममान वज्राचार्य तथा मिडिया कमिटीमा हिमेशरत्न वज्राचार्य चयन भएका छन् । यसको कार्यकाल पनि चार वर्षको हुनेछ ।
एटीटीयूमा नेपाल प्रतिनिधिको यो चयनले एसियाली टेबल टेनिसमा नेपालको बलियो र महत्वपूर्ण उपस्थिति रहने अध्यक्ष बैद्यले बताएका छन् । उनले भने, ‘एसियाली टेबल टेनिस युनियनको संस्थापकमध्ये एक नेपाल पनि हो र यस क्षेत्रको टेबल टेनिसमा नेपालको जहिले पनि बलियो र सक्रिय उपस्थिति रहेको छ । अब यो क्रम आउने चार वर्षमा पनि कायम रहनेछ ।’