• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

गर्भवती को र के गर्ने ?



महिला, धर्ती र प्रकृतिमात्र गर्भवती हुन सक्छन् । जन्मदिने भएकाले जननी, जीवन दिन सक्ने भएकाले आमा, बचाउने हुनाले माता भनिन्छ । महिला र पुरुष, धर्ती र सूर्य, परमात्मा र प्रकृतिको संयोगले संसार चलेको छ । यिनीहरूमा बीज उमार्ने शक्ति, गर्भ राख्ने तागत हुन्छ । गर्भवती हुनुलाई सौभाग्य मानिन्छ । गर्भाशयमा जम्मा भएका ‘रज र वीर्यमा सन्तान पाउने वरदान हुन्छ जसद्वारा पञ्चतत्वको पिण्डसहित शरीर निर्माण हुन्छ ।

जीव निर्माण हुने प्रक्रिया वा मातृशक्तिको कोखमा जीवात्माले आकार लिने कार्यलाई गर्भाधान भनिन्छ । गर्भाधानलाई सृष्टिको अंकुरण र जीवनको मिर्मिरे मानिन्छ । सृष्टिको स्वागतार्थ गरिने उत्सवलाई गर्भाधान संस्कार भनिन्छ जुन सोह्र संस्कारमध्येको एक हो ।

गर्भले सृष्टिलाई निरन्तरता दिन्छ र वंशपरम्परालाई धाराप्रवाह गराउँछ । शास्त्रले ब्रम्हाजीलाई सृष्टिका कारण मानेकाले हिरण्यगर्भ भनिन्छ । प्राणीका सृष्टिकर्ता एवं जगत्को प्रादुर्भाव गरेकाले ब्रम्हाजीलाई प्रजापति पनि भनिन्छ ।

निषेकसमये यादृङ्नरचित्त विकल्पना ।
तादृक्स्वभावसंभूतिर्जन्तुर्विशति कुक्षिगः ।
चैतन्यं बीजभूतं हि नित्यं शुक्रेप्यवस्थितम् ।
कामश्चित्तं च शुक्रं च यदाभकत्वामाप्नुयात् ।
तदा द्रावमवाप्नोति योषिद्गर्भाशयेन्नरः ।
शुक्रशोणितसंयोगात्पिण्डोत्पत्तिः प्रजायते ।।
–गरुडपुराण (१५।१६–१८)

अर्थात्, “गर्भाधानको समयमा पुरुष र स्त्रीले जस्तो कल्पना गरेका छन्, त्यस्तै सन्तान जन्मन्छन् । बीजरूप चेतन शुक्रकीट(वीर्य)मा रहन्छ । जब कामदेव, चित्त र वीर्य तीन तत्व एक भावमा हुन्छन् तब स्त्रीको गर्भाशयमा पुगेको शुक्रकीटसँग रज (हथ र हह क्रोमोजोम) मिलेर पिण्ड बनी बिस्तारै त्यसबाट प्राणीको उत्पत्ति हुन्छ ।” बच्चा राम्रा हुन बुबा–आमाको चरित्र, आचरण, खानपान, वातावरण पवित्र हुन परमावश्यक छ । ब्रम्हचार्यमा बसेका, गर्भनिरोधका साधन र औषधि आदिको प्रयोग नगरेका श्रीमान्, श्रीमतीबाट लुला–लङ्कडा सन्तान जन्मदैनन् ।

पाठेघरसम्बन्धी समस्याले महिलामा आतङ्गको रूप लिँदै जानुको कारण आधुनिक औषधि र शास्त्रविपरीतको जीवनपद्धति हो । धातु क्षय नभएका युवायुवतिबाट जन्मिएको पहिलो सन्तान निकै तेज, ज्ञान, विवेकले भरीपूर्ण हुन्छ । यहीकारण जनता र राजाको जेठो छोरालाई नेतृत्व र अधिकार हस्तान्तरण गरिन्थ्यो । विवाहअगाडि चरित्र र नैतिकताको दुरूपयोग गर्नुहुँदैन ।

ब्रम्हर्य तपस्या हो, सुसंस्कृत समाजको जग हो । आफूले खाने भाग आउँदैछ भने किन चोरी गर्नु ? अर्काको भाग किन लुट्नु ? चारित्रिक बदमासीले प्रतिष्ठा, शरीर, व्यवहारको सर्वनाश गर्दछ । यसलाई ध्यान नदिई क्षणिक आनन्दमा भ्रुणहत्याद्वारा वंशनाश गरी नपुङ्सकतातिर लाग्नु अपराध होइन र ?

आयुर्वेदका अनुसार ‘हामीले खाएको अन्न रसका माध्यमबाट रगत बन्दछ, रगतबाट मासु, मासुबाट मेदा, मेदाबाट अस्थि(हाड), हाडबाट मज्जा(हड्डीको मासी), मज्जाबाट धातु (वीर्य) बन्दछ । यति महङ्को धातुलाई क्षणिक आनन्दमा खेर फाल्नु भनेको आफैँले आफ्नो जीवन बर्बाद गर्नु होइन र ? अन्नबाट रगत हुँदै धातु निर्माणसम्म पुग्न त महिनौ लाग्दछ ।

गर्भधानजस्तो पवित्र कर्मबाट च्यूत भई बलात्कारका नाममा, अपहरणका नाममा आफ्नो र धर्मको सर्वनाश गर्दैछन् । यो हिन्दूहरूको संस्कृति, वैदिक धर्म, आर्य परम्परा हुँदै होइन । हाम्रा शास्त्रलाई संस्कारलाई मान्ने हो भने बलात्कारको यो रुप देख्नुपर्ने थिएन । शासनमा अनुशासन नहुँदा, शासकहरु शोसक हुँदा, समाज र परिवारबाट धर्मले बिदा लिँदा यो अवस्था भोग्नुपरेको छ ।

ऋषिमुनिहरूको तपस्या जाँच अप्सरा पठाइन्थ्यो । जो कामवासनाबाट माथि उठ्थ्यो उसले मात्र तपस्यामा सफलता पाउँथ्यो । ब्रéचर्यकै कारण ऋषिमुनिहरू हजारौँ वर्षसम्म केही नखाई बाँच्न र सोच्न सक्दथे । अहिलेका युवायुवतिहरूको टाउको, आँखा, पेटलगायतका समस्याले ग्रस्त छन् । कैयौँपटक पढ्दा, शिक्षकले सिकाउँदा सम्झन नसक्नुको कारणपछाडि ब्रéचर्य, खानपान, चिन्तनको महत्वपूर्ण हात छ ।

विवाहपछि सन्तान जन्माएर वंशलाई निरन्तरता दिने, समाजलाई स्थायित्व प्रदान गर्ने सामाजिक–सांस्कृतिक र धार्मिक अधिकारहरू प्रदान गराइन्छ । विवाह शारीरिक आनन्द र मोजका लागि मात्र होइन असल समाज, राष्ट्र र संस्कृति बनाउने सुयोग्य सन्तान जन्माउनका लागि पनि हो । नछुने भएको चौथो दिनमा ऋतुस्नान गरी ज्योतिषशास्त्रअनुसार शुभ दिनमा शारीरिक सम्बन्ध राख्नुपर्छ ।

कामशास्त्रले भनेको छ– छोरी जन्माउन चाहनेले नछुने भएको विषम (विजोर ७, ९, ११) दिनमा र सम (१०, १२, १६ आदि) दिनहरूमा छोरा जन्माउन चाहनेले शारीरिक सम्बन्ध राखोस् । पाँचौँ दिनसम्म सहवास गर्न नहुने विधान भए पनि चौँथो रातलाई कतिपय विद्वान्हरूले राम्रो मानेका छन् ।

महाभारत युद्धमा अभिमन्युको मृत्यु हुँदा उनकी श्रीमती नछुने भएको चार दिनमात्र भएको थियो । त्यसै दिन उत्तराको गर्भ रह्याे र परीक्षितको जन्म हुन पुग्यो । कतिपयले सोह्रौ दिनलाई सर्वोत्तम मानेका छन् । १६ दिनपछि बच्चा रहने संभावना हुँदैन भन्ने मान्यता छ ।

युग्मासु पुत्रा जायन्ते स्त्रियोगयुग्मासु रात्रिषु ।
तस्माद् युग्मासु पुत्रार्थी संविशेदार्तवे स्त्रियम् ।।
–मनुस्मृति (३।४८)

अर्थात्, “पुत्र चाहने पुरुषले महिनावारी(मिन्स) भएकी श्रीमतीसँग जोर दिन ६,८,१०,१२ एवं कन्या चाहनेले ५, ७, ९, ११ दिनमा शारीरिक सम्बन्ध राखोस् ।” दिउँसो, मन्दिरनजिकै, देवीदेवताको फोटो टाँसेको ठाउँमा, अभिभावक–मान्यजनहरूले थाहा पाउने गरी गर्भाधान भएमा सन्तान शारीरिक, मानसिक र संस्कारले परिपूर्ण हुँदैन । श्रीमान् वा श्रीमतीमध्ये कुनैको इच्छा नहुँदा, बिरामी पर्दा, शारीरिक वा मानसिक थकान हुँदा, मादक पदार्थ आदि सेवन गरेको समयमा बच्चा रहनु राम्रो होइन । याज्ञवल्क्य (१.७९)का अनुसार औँशी, अष्टमी र चतुर्दशीमा गर्भाधान गर्नुहुँदैन ।

आयुर्वेदग्रन्थहरूले महिनावारीमा जाने रगतले शिशुको शरीर निर्माणमा सहयोग पु¥याउने हुनाले गर्भधानपछि नछुने हुँदैन भनेका छन् । आमाले खाएकी खानाको साररूपलाई बच्चाले आफ्नै नाइटोबाट प्राप्त गर्दछ । गर्भवतीले खाएको पदार्थबाट बच्चाले जीवन निर्वाह गर्ने हुनाले महिलाहरू कमजोर बन्न पुग्दछन् ।

त्यसैले उनीहरूलाई धार्मिकदृष्टिले काम गर्न हुँदैन, इच्छाअनुसार आराम र खान दिनुपर्छ भनिएको हो । गर्भवती अवस्थामा गलत चिन्तन गर्नुहुँदैन । गणेश, नृसिंह, हनूमान् आदिलाई भगवानका  रूपमा नभई जनावरको रूपमा बुझे गर्भको बच्चामा शारीरिक र मानसिक असर पर्ने हुनाले बच्चा रहेको ६ महिनापछि मन्दिर आदिमा जान प्रतिबन्ध लगाइएको हो ।

सन्तान असल जन्मियोस् भनेर यशोदाको काखमा कृष्ण बसेको वा राम्रो र हँसिलो अनुहार भएका बच्चाबच्चीहरूको फोटो गर्भवतीको कोठामा टाँसिन्छ । सन्तान नहुने वा राम्रो बच्चा जन्माउन चाहनेले अनेक श्लोक, पाठ गर्ने, मन्त्रहरूलाई पूर्व फर्केर १०८ पटक जप्ने, सूर्यलाई पानी चढाउने गरिन्छ ।

हरिवंशपुराणमा भनिएको छ–
देवकी सुत गोविन्दः वासुदेव जगत्पते ।
देही मे तनयं कृष्ण त्वामहं शरणं गतः ।।

अर्थात्, “देवकीका पुत्र गोविन्द (कृष्ण) म तिम्रो शरणमा छु, हे कृष्ण – हे जगत्का मालिक – मलाई असल सन्तान दिनुहोस् ।” बच्चा जन्मिएन भने पीपलको दाना पिसेर खाने, साधुसन्त र गाईको सेवा गर्ने, पितृदोषको निवारण गर्ने, सन्तानेश्वरशिवलिङ्ग र गणेशको पूजा गर्ने लगायतका विधानहरू छन् । ज्योतिषीहरूले लग्न कुण्डलीको पाँचौँ घर वा बृहस्पतिबाट पाँचौँ स्थानलाई विचार गरी जप, पाठ गर्न लगाउँछन् ।

गर्भवती महिलामा जस्तो विचार आउँछ त्यस्तै बच्चाको स्वभाव बन्दछ भन्ने प्रमाणहरू पुराण, धर्मशास्त्रलगायतका ग्रन्थहरूमा प्रशस्त पाइन्छन् । जस्तै हिरण्यकश्यपुले भगवान् विष्णु एवं अन्य देवतासँग बदला लिन तप गर्न गए । उनकी गर्भवती श्रीमतीलाई देवर्षि नारदले आफ्नो आश्रममा लगेर धर्मोपदेश दिँदै पुत्रीवत् रूपमा आरक्षण दिए । नारदकै आश्रममा प्रल्हाद जन्मिए । सानैदेखि भगवान्को नाम सङ्कीर्तन सुन्ने, गाउने र बुझ्ने मौका पाए । त्यही कारण राक्षसको छोरा भएर पनि प्रल्हाद देवताको स्वभाववाला बन्न पुगे । सीताले वाल्मीकिको आश्रममा बसेर लवलाई जन्माइन् ।

वाल्मीकि आश्रमकै संस्कारले लव र कुश मेधावी बने । विश्रवा ऋषिका छोराहरू रावण, कुम्भकर्ण र विभीषणमा साधनाको प्रभाव परेर ध्यानी, तपस्वी र प्रसिद्ध बनेका थिए । शक्ति प्राप्त गरेपछि रावण र कुम्भकर्णले बाटो भुलेर राक्षस बने । सन्मार्गमा हिँडेका कारण विभीषण भगवान्का परमभक्त एवं चिरञ्जीवी भए । महाभारतयुद्धपूर्व सुत्ने क्रममा सुभद्रालाई अर्जुनले भावी युद्धमा रचिने चक्रव्यूह र त्यसलाई तोड्ने विषयको वर्णन गरेको अभिमन्युले गर्भमै सुनेका थिए ।

चक्रव्यूहको अन्तिम द्वार(ढोका)बाट निस्कने तरिका सुन्न नपाउँदै सुभद्रा निदाइन् र अभिमन्युले सुन्न पाएनन् । महाभारत युद्धमा अर्जुनले भनेअनुसारकै चक्रव्यूह आचार्य द्रोणले रचना गर्नुभयो । सबै द्वार पार गरे पनि अभिमन्युले अन्तिम ढोकाबाट बाहिर निस्कने पत्तो पाएनन् । आमाको गर्भमा रहँदा अटावक्रले बुबा (कहोड)को मन्त्र उच्चारण एवं शास्त्र ज्ञानलाई सुनेको हुनाले जन्मदै ज्ञानले भरिपूर्ण थिए ।

वेदव्यासका पुत्र शुकदेव जन्मदै वेदान्तका ज्ञाता थिए । गर्भवती महिलाले जसलाई रुचाउँदिनन्, जे सुन्न, खान, बोल्न, मन पराउँदिनन्, सन्तानमा त्यो संस्कार र स्वभाव आफैँ सृजना हुन्छ । सन्तान राम्रा जन्मिऊन् भनी गर्भवतीलाई गीता, वेदमन्त्र, अनेक स्तोत्रहरू पढ्न दिइन्छ, सुनाइन्छ । ६ महिना लागेपछि धार्मिकग्रन्थहरू पाठ गर्न र हिँड्डुल गर्न बिस्तारै गाह्रो हुँदै जान्छ, स्वास्थ्य कमजोर, मन अस्थिर हुन्छ । गर्भवतीलाई हरेक कार्यबाट बञ्चित गरिन्छ ।

पृथ्वीनारायण शाह गर्भमा आएपछि एक रात सपनामा कौशल्यावतीले सूर्य निलेको देखिन् र नरभूपाललाई बताइन् । नरभूपालले कौशल्यावतीलाई कुटे । अचानक श्रीमान्को कुटाई खाएकी कौशल्यावती रातभर रोइन् । बिहान नरभूपालले कौशल्यावतीलाई ‘राम्रो सपना देखेर निदायो, अरूलाई सुनायो भने फल प्राप्त हुँदैन, त्यसैले कुटेको हूँ भने ।

महात्मा गान्धी गर्भमा आउँदा उनकी आमाले पनि त्यस्तै सपना देखेको वर्णन छ । गर्भवती महिलाले हिमाल चढेको, सेतो सर्पले टोकेको, ठूला र सफा नदीनालाहरू, हरिया जङ्गल, फलफूल आदि देखेमा सन्तान असल हुन्छन् । दक्षिणदिशातिर गएको, भैँसीले लखटेको, ओरालो बाटो हिँडेको, अँध्यारो दिन, हाँसेको, उल्का पिण्डहरू झरेको, रुख लडेको, धमिलो खोलाले बगाएको देख्यो भने खराब र दुष्ट सन्तान जन्मने विश्वास गरिन्छ ।

गर्भवतीले धारामा पानी थापेको, केरा, सुन्तला, काँक्रा खाएको, घिरौँला–लौका आदि टिपेको सपना देखेमा छोरा एवं ईनार, तालतलैया, कुवा देखेमा छोरी जन्मने सम्भावना अधिक हुन्छ । गर्भवतीको मनमा असर नपरोस् भनी घरपरिवारले अप्रिय कुरा सुनाउँदैनन् । गर्भवती भएपछि शास्त्रहरूले शारीरिक सम्बन्ध राख्नका लागि पूर्णरूपमा प्रतिबन्ध लगाएका छन् । कोकशास्त्रमा भनिएको छ–

गर्भिणी सप्तमान्मासादुपरिष्टाद्विशेषतः ।
निषिद्धाअभवष्टमे मासे मैथुनं न समाचरेत् ।।

अर्थात्, “गर्भिणी नारीसँग सातौँ महिनापछि बिल्कुल समागम गर्नै हुन्न । आठौँ महिनामा शारीरिक सम्बन्ध भयो भने गर्भपातको सम्भावना हुन्छ ।” कुचरित्रकी महिला र कामुक पुरुष भए भने यी नियमलाई पालन गर्दैनन् बरु रोग र गर्भपातलाई बढाउँछन् । गर्भवतीले जे पायो त्यही खाँदा बच्चाहरूमा जण्डिस, निमोनियालगायतका रोगहरू एवं अपाङ्गता आउँछ ।

कुभिण्डोको तरकारी, महको सेवन, हिलचप्पलहरू लगाउँदा, डरलाग्दो दृश्य हेर्दा र सुन्दा गह्रौँ भारी बोक्दा बच्चा खेर जान सक्छ । भूईंचालो आयो भने उठेर बस्नुपर्छ । गर्भवतीले उत्तानो वा घोप्टो परेर सुत्न हुँदैन । गर्भिणी हुँदा गर्न हुने र नहुने कामका सम्बन्धमा शास्त्रहरूले सूक्ष्मरूपमा लामो चर्चा गरेका छन् । ७ र १२ महिनामा जन्मने असाध्यै भाग्यमानी, तेजस्वी र युगलाई परिवर्तन गर्ने हुन्छन् । आद्यगुरु शंकराचार्य १२ महिनामा र पृथ्वीनारायण शाह सात महिनामा जन्मिएका थिए । सामान्यतः मानिसहरू दश महिनामा जन्मन्छन् । ऋग्वेदमा भनिएको छ–

दशमासाञ्छशयानः कुमारो अधि मातरि ।
निरैतु जीवो अक्षतो जीवो जीवन्त्या अधि ।।

अर्थात्, “हे परमात्मन् -दश महिनासम्म आमाको पेटमा सुत्नेवाला सुकुमार जीव प्राण धारण गरेर आफ्नो प्राणशक्ति सम्पन्न वा स्वस्थ आमाबाट सुखपूर्वक जन्मियो ।” नेपालीमा उखान छ, “दश महिना आमाको पेटमा बसेर दश धारा दूध खाएकै कारण आमाको ऋण तिर्न सकिँदैन ।” यस्तो महान् कार्यमा होमिएकी गर्भिणीलाई वैदिक धर्मले न त गोठमा सुत्नलाई निर्देशन दिएको छ, न त सासु–ससुराको ताडनामा जीवन गुजार्न बताएको छ ।

गर्भिणीलाई आराम गर्न, असल चिन्तनमा लाग्न, स्वास्थ्य राम्रो राख्न शास्त्रले अनेक उपाय सिकाएको छ । शारीरिक सम्बन्धलाई व्यवसाय बनाउने, मनोरञ्जनको साधन ठान्ने क्रमले गर्भधारणमा निकै समस्या आएको छ । पश्चिमामुलुकले सन्तान उत्पादनलाई भुल्न थालेका छन्, गर्भलाई किन्न थालेका छन् । आफूले जन्माएको जस्तो खरिदबाट प्राप्त हुँदैन ।

गर्भले कुल र मूललाई जोगाउँछ, वंश र अंशलाई सुरक्षित गर्छ, धर्म र धरालाई अक्षुण राख्छ । गर्भधारण उपयुक्त विधिद्वारा गराएर संस्कृति र संस्कारमा हुर्काइयो भने देशको दशा, प्रजाको प्रारब्ध बदल्न सकिन्छ । गर्भधारण यज्ञ हो शास्त्रपरम्पराअनुसार गराएमात्र जीवन र जगत्को कल्याण हुन्छ । अनिमात्र जनक, सीता, गार्गी, बुद्ध, भृकुटीजस्ता सन्तान जन्मन्छन् । उनीहरूले राष्ट्र, धर्म, कुललाई चम्काउँछन् र अमर बन्छन् ।