नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरका स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्का शनिबार घर नजिकैको सामुदायिक वनमा भैंसी र बाख्रा चराउन गएका थिए । पूर्वपश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिकै उनीहरूले सोच्दै नसोचेको घटना भयो । सो घटनाले उनीहरूको होसहवास उड्यो ।
नउडोस् पनि किन, भैंसी र बाख्रा चराउन गएका उनीहरू बाघको घेराबन्दीमा परेका थिए । एउटा होइन, तीन/तीनवटा बाघको घेराबन्दीमा परेपछि उनीहरू बाँच्नका लागि रूख चढे । रूख चढ्नुलाई नै उनीहरूले उत्तम उपाय ठाने ।
एकातिर उनीहरू रूखमै बसेर जीवनको भिख मागिरहेका थिए । अर्कातिर बाघ उनीहरूको सिकारका लागि कुरेर फेदमा बसिरहेको थियो । त्यहीबेला दुईवटा हात्तीलाई चराउन लगेका माउतेले यो कुराको जानकारी पाए । र, बाँके राष्ट्रिय निकुञ्जका यी दुई हात्तीको सहायतामा उनीहरू तीनै जनालाई उद्धार गरियो । बाघबाट जोगिन रूखमा चढेका उनीहरूलाई निकुञ्जका हात्तीले उद्धार गरेर घर पुर्याएको हो । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरी माउतेले उनीहरूको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जानकारी दिए ।
पछिल्ला केही दिनयता पूर्वपश्चिम राजमार्गसमेत पाटेबाघका कारण असुरक्षित भएको छ । बाँके राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको मध्यवर्ती क्षेत्रको गाभरमै गत २७ भदौमा पाटेबाघले भारतीय नागरिकलाई मारेको थियो । यस्तै, दुई वर्षअघि निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिब महिना दिनको अन्तरमा पाटेबाघले दुई महिलाको ज्यान लिएको थियो ।
यी घटनाले त्रास बढिरहेको अवस्थामा शनिबार तीन गोठाला बाघको फन्दामा परेपछि यहाँका जनता त्रसित बनेका छन् ।
बाघ संरक्षणको उद्देश्यले सरकारले स्थापना गरेको कान्छो निकुञ्जमा बाघका कारण यतिबेला त्रासको अवस्था सिर्जना भएको छ । यी घटनाले मानव र वन्यजन्तुबीच द्वन्द्व हुने खतरा बढ्दै गएको देखाउँछ ।
निकुञ्ज आसपासका स्थानीयले लगाएको खेतीबाली वन्यजन्तुले सखाप पार्ने, साथै स्थानीयले पालेका पशुचौपाया पनि मारिदिने हुँदा मानव वन्यजन्तुबीचमा द्वन्द्व बढेको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका गेहेन्द्रकुमार खड्का बताउँछन् । ‘मानव र वन्यजन्तु द्वन्द्वका कारण संरक्षणमा समस्या हुने गरेको छ । संरक्षणमा लागेकाहरू नै बढी जोखिममा रहे पनि यो हाम्रो बाध्यता पनि हो,’ उनले भने ।
बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासको मानव वस्तीलाई वन्यजन्तुबाट जोगाउन मानिसले आफ्नो व्यवहारमा परिवर्तन गर्न आवश्यक देखिएको खड्काको भनाइ छ । उनी भन्छन्, ‘मानिसले परम्परागत रूपमै अहिले पनि आफ्ना वस्तुभाउ चराउन निकुञ्जभित्र वा मध्यवर्ती क्षेत्रको वनमा लैजाने गरेका छन् । हिजोको जस्तो अवस्था ठानेर जंगल जाँदा बाघ वा बाघ प्रजातिले आहार खोज्नका लागि वन्यजन्तुभन्दा घरपालुवा जन्तु समात्न सजिलो हुने भएकाले बस्तीनजिक पुग्ने गरेको पाइएको छ ।’
उनी बस्ती सार्ने, निकुञ्ज हटाउने वा क्षेत्रफल बढाउनेभन्दा पनि निकुञ्ज र आसपासका स्थानीयलाई मानव र वन्यजन्तु द्वन्द्व कम गर्न आवश्यक तयारी गर्नुपर्ने सुझाव दिन्छन् । उनी निकुञ्जले संरक्षणसँगै द्वन्द्व कम गर्न वैकल्पिक उपाय वा तौरतरिका अपनाउन सहजीकरण गर्न आवश्यक रहेको बताउँछन् ।
निकुञ्ज आसपासका बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकाले निकुञ्ज तथा मध्यवर्ती आसपासका गाउँमा मानव बस्ती वरिपरि वन्यजन्तुबाट जोगाउन तथा मानव वन्यजन्तुबीचको द्वन्द्व निराकरण गर्न ‘मेसजाली’ लगाउन सुरु गरेको छ । जंगल आसपासका मानववस्तीमा वन्यजन्तुका कारण खेतीबाली नोक्सान हुने गरेकाले स्थानीय तहले गाउँलेको मागअनुसारको मेसजाली लगाउने गरेको बाँके बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले जानकारी दिए ।
उनले निकुञ्ज तथा राष्ट्रिय वनमा रहेका वन्यजन्तु चित्तल, जरायो, बँदेललगायतका जनावर गाउँघरमा पसेर किसानले लगाएको खेती नष्ट गरेको जनगुनासो आएपछि गाउँपालिकाले स्थानीयको मागको आधारमा मेसजाली लगाएको बताए । मेसजाली लगाउँदा जमिनमुनि करिब डेढ फुट खनेर ढलान गरी सो ढलानमाथि मेसजाली लगाउने गरिएको छ । उनले भने, ‘खनेर ढलान नगर्ने हो भने वन्यजन्तुले उधिनेर (खनेरं) मेसजाली फालेर गाउँमा पस्ने भएकाले जमिनमा खाडल खनेर ढलान गरी मेसजाली राख्ने गरेका छौं ।’
यसैगरी, बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ले पनि विभिन्न स्थानमा गरेर करिब ३ किलोमिटर मेसजाली लगाइएको वडाध्यक्ष मदन ओलीले जानकारी दिए । उनले वडाको हरदेवा, गोभारपुरलगायतका गाउँलाई वन्यजन्तुबाट सुरक्षित राख्न मेसजाली लगाएको बताए । उनले भने, ‘मेसजालीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने अभिप्रायले गाउँको वरिपरि लगाइएको छ । अरू ठाउँमा पनि माग भएर आएको छ ।’ उनले मेसजालीका कारण वन्यजन्तुले बालिनाली नोक्सान गर्न नपाएपछि स्थानीय बासिन्दाहरू वन्यजन्तुसँग आक्रोशित हुने गरेकोमा अहिले त्यो आक्रोश घटेर गएको संरक्षणतर्फ सकारात्मक सोच विकास हुँदै गएको उनले दाबी गरे ।
निकुञ्ज स्थापनासँगै वन्यजन्तु वृद्धि भएको कारण निकुञ्ज छेउछाउका बस्तीका जंगली जनावर सर्वसाधारणको खेतसम्म आएर बालीनाली खाइदिने साथै घरपालुवा जनावर मारेर नोक्सानी गरेपछि सर्वसाधारण दिक्क भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समूहका अध्यक्ष खड्काले निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अहं भूमिका खेल्दै किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया सहज र सरल बनाउँदै लैजानुपर्ने बताए । उनले वन्यजन्तु गाउँमा पस्न नदिन मेसजाली लगाउने अभियानलाई अझ तीव्र पार्दै लैजानुपर्ने सुझाव दिए ।
यसैबीच, बाँके राष्ट्रिय निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न वैकल्पिक उपाय अपनाउने गरेको प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह बताउँछन् । उनले निकुञ्जअन्तर्गतका विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समूहको मागअनुसार विभिन्न क्षेत्रमा मेसजाली लगाइएको जानकारी दिए । उनले निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व सकेसम्म हुनै नदिने हुने अवस्था आएमा निराकरण गरिने गरी काम अघि बढाइएको बताए ।
उनले मानिसहरू पूर्णरूपले वनजंगलमा निर्भर हुँदा जंगली जनावरमा समेत आनीबानी परिवर्तन हुने गरेको कुरामा जोड दिँदै वनमा घरपालुवा जनावर चरीचरणका लागि लैजाँदा वन्यजन्तु छाडेर घरपालुवा जनावर खान पछाउँदै बस्तीसम्म बाघ र बाघ प्रजातिका जनावर आउने खतरा बढेको बताए । उनले निकुञ्जले गत वर्ष मात्र ९० लाख क्षतिपूर्तिका लागि वितरण गरेको जानकारी दिँदै यस वर्षको क्षतिपूर्ति भने वितरण हुन नसकेको बताए । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।