• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका बस्तु आयातमा रोक : गुणाकर भट्ट (भिडियोसहित)



काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताउनु भएको छ ।

प्रवक्ता भट्टले बिहीबार सोधानान्तर बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमि हुँदै गएकाले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताउनु भएको हो । मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनको लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही बस्तुको आयात रोक लगाउन परेको प्रवक्ता भट्टले स्पष्ट पार्नु भयो ।

उहाँले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको बताउनु भयो । राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका बस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटाबाट जोगाउनको लागि एउटा टुल्स प्रयोग गरिएको बताउनु भयो । उहाँले बाहिर हल्ला आए जस्तो अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो । राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरु देखा परेको बताउनु भयो । कोरोना महामारी पछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको आयात वृद्धि भए पश्चात विदेशी मुद्रा सञ्चिति र सोधानान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाई छ ।

उहाँले भन्नुभयो,‘ अर्थतन्त्रको अहिलको अवस्थालाई दुई वटा पक्षबाट हेर्नुपर्छ । कुनै पनि कुरालाई एकाङकी रुपमा रुपमा हेर्नु हुँदैन । एउटा पक्ष समष्ठिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएको छ । मुख्य रुपमा विदेशी विनिमय सञ्चितीमा कमि आएको सोधानान्तर स्थिति घाटा, आयात उच्च दरमा बढेको कारणले गर्दा हाम्रो बाह्य क्षेत्र व्यवस्थापनमा दबाब छ भन्ने देखिएको छ । बाह्य क्षेत्र व्यवस्थापन हामीले गर्नै नसक्ने होइन । केही बस्तुको आयातलाई हामीले रोक्न सक्छौं । सुन चाँदी,सवारीसाधन आयातलाई रोक्न सक्छौं । साच्चिकै त्यसमा ठूलो दबाब आउन थाल्यो भने त्यसका लागि राष्ट्र बैंकले प्रिकसन नोटहरु जारी गरेको हो । विशेष गरी विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा दबाब आउन सक्छ र समयमा नै सहमालिनु पर्छ भनेर राष्ट्र बैंकले भनेको हो । यसमा आतिहाल्नु पर्ने अर्थतन्त्रमा संकट आयो भन्ने होइन । अहिले पनि राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको छ । करिव साढे ६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति जोगाएर राख्न सक्यौ भने आगामी दिन मुलुकमा ठूलो रुपमा अर्थतन्त्रमा अफ्ठ्यारो आउँदैन। यो कुरामा हामी सुनिश्चित भए हुन्छ । अहिले अर्थतन्त्रमा सकारात्मक पक्ष पनि आएको छ । त्यसमा आयात किन बढ्छ भन्दा आर्थिक गतिविधिहरु पनि बढी रहेका छन । पर्यटकिय गविधिहरु पनि बढी रहेका छन । त्यसले वस्तु तथा सेवाको माग बढाउँछ । माग बढ्ने वितिकै आयात पनि बढ्छ । अर्थतन्त्रमा जुन गतिशिलता देखिन थालेको छ । त्यसलाई कसरी अगाडि बढाउने विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा दबाब देखिएको तथा रुस र युक्रेन युद्धका कारण त्यसबाट थप अर्थतन्त्रमा समस्या आउन सक्छ भनेर राष्ट्र बैंकले केही सर्तकता अपनाउनु पर्ने हो ।

त्यस्तै प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताउनु भयो । उहाँले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पार्नु भयो । श्रीलंका कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाई छ । कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण र कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुकको श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने दाबी गर्नु भयो । उहाँले श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको बताउनु भयो । श्रीलंका र नेपालको अर्थतन्त्रमा देखिएका चुनौती फरक भएको भन्दै प्रवक्ता भट्टले नेपालमा रुस र युक्रेन युद्ध र गत वर्ष उच्च रुपमा कर्जा विस्तारको कारण घरजग्गा,उत्पादन भन्दा आयात र शेयर बजारमा बढी लगानीको प्रभावले अहिले अर्थतन्त्रमा दबाब देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘श्रीलंका र नेपालको आधारभूत अवस्था नै फरक हो । श्रीलंका उच्च विदेशी ऋण भएको मूलुक हो । श्रीलंका सरकारको स्वामित्वका संस्थाहरुको ऋण समेत जोड्ने हो भने सरकारको दायित्व कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत हुन आउँछ । ११७ प्रतिशत ऋण भएको मुलुक र ४० प्रतिशत कुल ग्राहस्थ उत्पादनको विदेशी ऋण भएको मुलुकको तुलना त्यहाँ हुन सक्दैन । श्रीलंका पछिल्लो समय आर्थिक व्यवस्थापन भन्दा बाहिर गएको थियो । करका दर घटाउने,करका दरहरुलाई खारेज गर्ने,सामाजिक सुरक्षाका कार्यक्रमहरुमा अनाश्वयक रुपमा उदारता देखाउने । श्रीलंकको उदाहरण व्यवस्थापन र संरचनासँग देखिएका हुन । हाम्रो त्यो भन्दा अवस्था फरक हो । रुस र युक्रेन युद्धका कारण र केही कोरोना महामारीबाट अर्थतन्त्र माथि उठ्न खोेजेको कारण र गत वर्ष उच्च रुपमा कर्जा विस्तारको कारण घरजग्गा,उत्पादन भन्दा आयात र शेयर बजारमा बढी लगानी भएको प्रभाव स्वरुप पनि अहिले अर्थतन्त्रमा दबाब देखिएको अवस्था हो । अब विदेशीबाट आउने रेमिटेन्समा दबाब पर्दैन । वैदेशिक रोजगारीमा जाने मान्छेहरुको सख्या बढ्दै गएको छ । अन्य अन्तर्राष्ट्रिय मुलुकहरुको समेत अर्थतन्त्रमा सुधार आउन थालेको छ । तेलको माग अन्तर्राष्ट्रिय बजारमा बढेको छ । रुस र युक्रेन युद्धका कारण तेलको आपूर्तिमा नै समस्या देखिएको छ। रेमिटेन्समा तत्कालको लागि ठूलो चुनौती देखिएको छैन । हामीले केही वस्तुहरुको आयात व्यवस्थित हुनै पर्छ किनकी अल्पकालको लागि मात्रै नभएर दीर्घकालको लागि सोच्नु पर्ने हुन्छ ।

प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको सख्या बढ्दै गएकाले रेमिटेन्समा सुधार आउन थालेको बताउनु भयो । रेमिटेन्समा सुधार आउँदा मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले रेमिटेन्समा तत्कालको लागि ठूलो चुनौती देखिएको जिकिर गर्नू भयो । अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनको लागि सरकारले दीर्घकालको लागि सोच्नु पर्ने अवस्था आएको बताउनु भयो।