• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

आईपीएलः बैंगलोरले राजस्थानलाई चार विकेटले हरायो



एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ ।

मुम्बईको वानखेडेमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा तीन विकेट गुमाएर १६९ रन बनाएको थियो ।

जवाफमा बैंग्लोरको टोलीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। दिनेश कार्तिक र शाहबाज अहमदको सानदार प्रदर्शनले बैंगलोरले खेल आफ्नो पक्षमा पार्यो ।

एक समयमा बैंगलोरको टोलीले १२.३ ओभरमा ८७ रनमा पाँच विकेट गुमाएको थियो । त्यसपछि कार्तिक र शाहबाजले ३३ बलमा ६७ रनको साझेदारी गर्दै खेल बैंग्लोरको पोल्टामा पुर्याएका थिए । कार्तिकले २३ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै अविजित ४४ रन बनाए । सोही क्रममा शाहबाजले २६ बलमा ४५ रनको इनिङ खेले ।

यस आईपीएलमा राजस्थान रोयल्सको यो पहिलो हार हो । टोली तीन खेलबाट दुई जित र एक हारसहित चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । नेट रन रेटमा राजस्थान अग्रस्थानमा छ । यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोर तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानको सुरुवात खराब रह्यो । यशस्वी जैसवाल चार रन बनाएर आउट भए । उनलाई डेभिड विलीले क्लिन बोल्ड गरे । यशस्वी ६ बलमा चार रन बनाएर आउट भए । त्यसपछि देवदत्त पडिक्कलले दोस्रो विकेटका लागि जोस बटलरसँग ४९ बलमा ७० रनको साझेदारी गरे ।

यस क्रममा राजस्थानको इनिङ्सको सातौं ओभरमा बटलरले दुई जीवनदान पाएका थिए । एउटा क्याच आकाश दीपले आफ्नै बलिङमा र अर्को डेभिड विलीले छोडे । अर्को बलमा बटलरले छक्का प्रहार गर्दै बैंगलोरलाई दबाबमा राखे । हर्षल पटेलले पडिक्कल र बटलरको साझेदारी तोडेका थिए । हर्षलले पडिक्कललाई कोहलीको हातबाट क्याचआउट गराए ।

पडिक्कल २९ बलमा ३७ रन बनाएर आउट भए । जसमा दुई चौका र दुई छक्का समावेश थिए । यसपछि कप्तान सञ्जु सामसन आठ बलमा आठ रन बनाएर आउट भए । ८६ रनमा तीन विकेट गुमेपछि बटलर र शिमरोन हेटमायरले राजस्थानलाई २० ओभरमा १६९ रनमा पुर्याए ।

जसमा बटलरले आफ्नो आईपीएल करियरको १२ औं अर्धशतक बनाए । उनले ४७ बलमा ७० रन बनाएर अविजित रहे । जसमा ६ छक्का सामेल छन् । उनले हेटमायरसँग ५१ बलमा ८३ रनको अविजित साझेदारी खेले । उनीहरुले अन्तिम ५ ओभरमा ६६ रन बनाएर राजस्थानको लक्ष्यलाई उकासेका थिए ।

अन्तिम ओभरमा बटलर र हेटमायरले मिलेर २३ रन बनाए । हेटमायरले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ४२ रन बनाए । बैंगलोरका लागि डेभिड विली, हसरङ्गा र हर्षलले एक एक विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीले राम्रो सुरुवात गरेको थियो । कप्तान फाफ डु प्लेसिस र अनुज रावतले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । युजवेन्द्र चहलले आफ्नो पुरानो टोलीलाई पहिलो झटका दिए । उनले डु प्लेसिसलाई बोल्टको हातमा क्याच आउट गराए । उनले २० बलमा २९ रन बनाउन सके । त्यसपछि अनुज रावत पनि ६१ रन बनाएर पभिलियन फर्किए ।

नवदीप सैनीले रावतलाई सामसनको हातमा क्याच आउट गराए । उनले २५ बलमा २६ रन बनाउन सके । विराट कोहली ६२ रनमा रनआउट भए । बैंगलोरको इनिङ्सको नवौं ओभरको चौथो बलमा डेभिड विलीले प्रहार गरेका थिए । त्यसपछि कोहली रन लिन दौडे । त्यतिन्जेल चहलले सामसनको थ्रोमा कोहलीलाई रनआउट गरेका थिए । कोहलीले ६ बलमा ५ रन बनाउन सके । चहलले आफ्नो पुरानो कप्तानलाई आउट बनाए । अर्को बलमा उनले डेभिड विलीलाई क्लिन बोल्ड गरे । विली शून्य रनमा आउट भए ।

बैंग्लोरले ६२ रनसम्म चार विकेट गुमाएको थियो । नवदीप सैनीको बलमा शेर्फेन रदरफोर्ड पनि पाँच रनमा आउट भए । ८७ रनमा पाँच विकेट खसेपछि शाहबाज अहमद र दिनेश कार्तिकले खेललाई आफ्नो पक्षतर्फ डोर्याए । दुवैले छैटौं विकेटका लागि ३३ बलमा ६७ रनको साझेदारी गरे । १४ औं र १५ औं ओभरमा बैंगलोरले ३७ रन बनाएको थियो । अश्विनले १४ औं ओभरमा २१ रन र १५ औं ओभरमा नवदीप सैनीले १६ रन लिए । यहीँबाट खेल मोडियो ।

शाहबाजले २६ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ४५ रनको उत्कृष्ट इनिङ खेले । उनलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए । दिनेश कार्तिकले २३ बलमा ४४ रनको इनिङ खेले । जसमा सात चौका र एक छक्का समावेश थियो। राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले समान २–२ विकेट लिए । नवदीप सैनीले एक विकेट लिए ।

आजको खेलः कोलकाता नाइट रायडर्सविरुद्ध मुम्बई इन्डियन्स – ७ः४५ बजे