• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो ★   उपत्यकामा पेट्रोलियम पदार्थको अभाव- फोटो फिचर

राप्रपा अध्यक्ष लिङ्देनको रफ्तार कायमै, झापामा शक्ति देखाए



झापा।राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला रहेको झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।

एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरुलाई ठूलो चुनौती दिएका छन् । देशभर उत्साहजनक सभाहरु गरिरहेको राप्रपाले झापामा देखाएको शक्तिले राप्रपा कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा जान सक्ने सम्भावना देखिएको छ ।

गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेका छन् । गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका लिङ्देनलाई आफ्नो गृहजिल्लावासीले भव्य स्वागत र अनुमोदन गरेका हुन् । लिङ्देनलाई झापाका स्थानीयहरु केवल एकजना सांसदको रुपमा मात्र नभइ देशको कार्यकारी भूमिकामा देख्न चाहेको संकेत आजको उपस्थितिबाट देखिएको सो पार्टीकी नेतृ विर्तामोड नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेल बताउँछिन् ।

कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा पनि विजयी हुने अड्कलबाजीलाई आइतबार भएको आमसभामा देखिएको नागरिकको सहभागिताले थप बलियो बनाएको छ ।

२०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रविना देशको विकास र समृद्धि सम्भव नरहेको बताए ।

सभालाई लिङ्देनसहित प्रदेश १ का अध्यक्ष राम थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपासहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् । नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागिताले अन्य दललाई चुनौती थपिएको छ । अन्य दलको कार्यक्रममा भन्दा राप्रपाको कार्यक्रममा भएको नागरिकको उत्साहजनक सहभागिताले आउँदो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति बलियो बनाउने देखिएको छ ।

मौजुदा प्रतिनिधिसभामा राप्रपाबाट लिङ्देनको मात्र सहभागिता छ । तर, अब लिङ्देनकै नेतृत्वमा राप्रपाले संसदमा दमदार उपस्थिति जनाउने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।