९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु हुँदै



अ+ अ-

जनकपुर । जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारीदिनुभयो ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उहाँको भनाइ छ ।

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताउनुभयो ।

सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।

जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ । रासस