काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे लगभग सहमति भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।
बालुवाटार स्रोतका अनुसार मन्त्रालय भागबन्डाबारे मोटामोटी सहमति भएको छ ।
कांग्रेसले सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ।
कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ ।
यसअघि नै कांग्रेसले सात मन्त्रालय लिने सहमति भएको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति बनेको छ।
माओवादीबाट अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री नियुक्त भइसकेको छ ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने भएको छ ।
यता जनता समाजवादी पार्टीले भने भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिनेमा सहमति जुटेको छ । बुधबारसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने बालुवाटार स्रोतले जनाएको छ ।