९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालक अनुमतिपत्रः सङ्घ र प्रदेशको आ–आफ्नै नियम



अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ ।  

सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीरकणको व्यवस्था छ । वाग्मती प्रदेश सरकारले बनाएको ऐनमा भने १०-१० वर्षमा नवीरकरण गर्ने व्यवस्था छ । यसैगरी विदेशमा बनाइएका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली चालक अनुमतिपत्र दिइने व्यवस्था सङ्घीय ऐनमा छ । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा नेपालीकरणको व्यवस्था भए पनि प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सोझै अनुमतिपत्र दिन मानेका छैनन् । प्रयोगात्मक परीक्षा ९ट्रायल० पास गरेपछि मात्रै अनुमतिपत्र दिन सकिने कार्यालयले जनाउँदै आएका छन् । 

चालक अनुमतिपत्र नेपालीकरण, परीक्षा प्रणाली र नवीकरण उदाहरण मात्रै हुन् ।  नयाँ संविधान जारी भएपछि यातायात क्षेत्र खासगरी चालक अनुमतिपत्रमा सङ्घ र प्रदेशबीच कार्यक्षेत्रमा अन्यौलता देखिएको छ । सङ्घले एकाथरी निर्णय गर्दा वा सङ्घीय ऐनमा एकाथरीको व्यवस्था हुँदा प्रदेशले अर्कै किसिमको ऐन बनाएको छ । यातायात प्रदेश सरकारको एकल अधिकार जनाउँदै सङ्घीय सरकारको ऐन, कानून, निर्णय नमान्ने गरेको पाइएको छ । 

अनुमतिपत्रमा देखिएका समस्या प्रदेश सरकार आफैँ पनि समाधान नगर्ने र सङ्घीय सरकारको निर्णय पनि नमान्दा समस्या आइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । अहिले अनुमतिपत्र छपाइ र सफ्टवेयर बाहेक बाँकी सबै जिम्मेवारी प्रदेश सरकारको हो । सफ्टवेयरमा समस्या आउदा सुधारका लागि विभाग तयार रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश आफैँले निर्णय नगरेसम्म हामीले सच्याउन सक्दैनौँ ।”

सङ्घीय ऐनसँग प्रदेश ऐन बाँझिएकाले पनि पटकपटक समस्या आइरहेको छ । सङ्घीय सरकारले संविधानअनुसार ऐन बनाउन बाँकी छ भने कतिपय प्रदेशले ऐन बनाएर लागू गरिकसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विधेयक छलफलका क्रममा रहेको छ । प्रदेशले बनाएको कानून बाझिँदा कसरी कार्यान्वयन गर्ने भनी समस्या देखिन थालेको उहाँले बताउनुभयो ।

 प्रदेशले एकल अधिकारको सूचीमा भएकाले सङ्घीय कानूनको बेवास्ता गरेर ऐन बनाए पनि कार्यान्वयन सजिलो नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यातायातका धेरै विषय अन्तर प्रदेश जोडिने भएकाले कार्यान्वयन सजिलो छैन ।” कानूनकै विषयमा कतिपय अस्पष्टता रहेको र कतिपय विषय कार्यान्वयन सजिलो नभएको महानिर्देशक घिमिरेले बताउनुभयो । 

प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारणको जिम्मेवारी प्रदेश सरकारको हो भने अन्तर प्रदेश चल्ने सवारीसाधनमा भाडादर निर्धारणको जिम्मेवारी सङ्घीय सरकारको हो । कतिपय प्रदेशबीचको दूरी १५ मिनेट मात्रै भएको र प्रदेश प्रदेशबीच फरक–फरक भाडादर कायम हुँदा कार्यान्वयन अप्ठेरो हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ बन्ने सङ्घीय ऐनमा पनि यी कुरा समेट्न खाँचो छ ।”लामो समयदेखि अनुमतिपत्र नेपालीकरण रोकिएकाले सेवाग्राही हैरान छन् ।

 पहिले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले नेपालीकरण गर्दा कतिपय कागजात नक्कली भएकाले कर्मचारी कारवाहीमा परेका थिए । त्यसयता अरु यातायात कार्यालयले पनि नेपालीकरण गर्न मानेका छैनन् । गलत काम गर्ने व्यक्ति कारवाहीमा परेपनि ऐनमा भएको व्यवस्था नै कार्यान्वयन गर्दिन भन्न नमिल्ने महानिर्देशक घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “दूतावासबाट सिफारिस ल्याउनु भन्न सकिएला तर कार्यान्वयन नै गर्दिन भन्न मिल्दैन ।”

सङ्घीयताको कार्यान्वयनसँगै यातायात क्षेत्रमा अधिकार क्षेत्रको विवाद देखिन थालेको हो । पहिले सङ्घीय सरकारअन्तर्गत रहेका कार्यालय प्रदेशअन्तर्गत हस्तान्तरण भए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ । कानून निर्माणदेखि कार्यान्वनसम्ममा दुवै सरकारबीच समन्वय आवश्यक भए पनि आ–आफ्नो तरिकाले चल्दा यसका मारमा सेवाग्राही परिरहेका छन् । (रासस,सञ्चिता घिमिरे)