काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो परिवारका सदस्यहरु सहित ऐतिहासिक एवं पर्यटकीय स्थल चन्द्रागिरि पुग्नुभयो ।
कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र यात्रुहरुले सास्ती पाउने भन्दै माइक्रो बसमा चढेर चन्द्रागिरि पुग्नु भएकी राष्ट्रपति भण्डारीले सोमबारको रात त्यहीँ बिताउनु भयो ।
परिवारका सदस्यहरुसँग बसेर उहाँले चन्द्रागिरिको चुचुरोबाट काठमाडौं उपत्यका नियाल्नु भएको थियो । मंगलबार बिहान प्रसिद्ध शिवमन्दिर भालेश्वर मन्दिरमा पूजा गरी चद्रागिरि रिसोर्टमा खाना खाएर उहाँ राष्ट्रपति कार्यालय, शीतल निवास फर्कनु भएको छ ।
राष्ट्रपति भण्डारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्नुका साथै त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउनु भएको थियो ।
काठमाडौंबाट नजिकको यस ऐतिहासिक पर्यटकीय स्थलमा पछिल्ला केही वर्षदेखि विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तिका साथै देशका प्रमुख नेताहरुको रोजाईको गन्तव्यमा पर्न थालेको छ ।
साथै यहाँको केबल कार चढ्न एवं दृश्यावलोकन गर्न बर्सेनि ठूलो संख्यामा मानिसहरु चन्द्रागिरि पुग्ने गर्दछन् । लकडाउनका कारण बन्द रहेको चन्द्रागिरि पछिल्ला केही सातादेखि सर्वसाधारणका लागि खुला छ ।
चन्द्रागिरि हिल्सका अनुसार यहाँको भ्रमण गर्ने व्यक्तिले कोभिडका न्यूनतम निर्देशिका पालना गर्नु पर्दछ ।
तस्वीरहरु- सुनिल महर्जन